close

पृथ्वीभन्दा ८.६ गुणा ठूलो ग्रहमा फेला पर्‍यो पानी र जीवनको संकेत

टेकपाना टेकपाना

भदौ २७, २०८० १८:३८

पृथ्वीभन्दा ८.६ गुणा ठूलो ग्रहमा फेला पर्‍यो पानी र जीवनको संकेत

 

काठमाडौं । अन्तरिक्ष सम्बन्धी अनुसन्धान गर्न पठाइएको जेम्स वेब स्पेस टेलिस्कोपले एउटा ग्रहमा पानी हुनसक्ने नयाँ प्रमाण फेला पारेको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ‘केटू-एट्टिन बी’ (K2-18b) नामक एक्सोप्लानेट (सौर्यमण्डलभन्दा बाहिरको ग्रह)मा तरल अवस्थामा पानी भएको‍ र त्यसमा जीवनको अणु पाइन सक्ने सङ्केत गरेको हो ।

उक्त ग्रह पृथ्वीबाट करिब १२० प्रकाश वर्ष टाढा रहनुका साथै पृथ्वीभन्दा ८.६ गुणा ठूलो रहेको छ । यसले ‘केटू-एट्टिन’ (K2-18) नामक तारालाई परिक्रमा गर्छ भने गोल्डिलक्स क्षेत्र (तारादेखि बस्न योग्य दूरी)मा अवस्थित छ ।

यो ग्रहमा मिथेन र कार्बन डाइअक्साइड पत्ता लागेको नासाले जनाएको हो । यसकारण नासाले यसलाई हाइसेन ('हाइड्रोजन' र 'ओसियन'बाट बनाइएको शब्द) एक्सोप्लानेट ग्रह हुनसक्ने बताएको छ । यही कारण यो ग्रहको वायुमण्डलमा हाइड्रोजन बढी भएको र तरल पानीको सागरहरू भएको हुन सक्ने अनुमान वैज्ञानिकहरूको छ । 

त्यस्तै ग्रहमा समुन्द्र भएकाले डाइमिथाइल सल्फाइड (डीएमएस) पनि हुन सक्ने नासाले उल्लेख गरेकाे छ । नासाका अनुसार डीएमएस त्यस्तो अणु हो, जसबाट नै पृथ्वीमा जीवन सम्भव भएको थियो ।

यद्यपि हबल स्पेस टेलिस्कोपले सेप्टेम्बर २०१९ मा यस ग्रहको वायुमण्डलमा पानीको कण भएको पत्ता लगाएको थियो । त्यसपछि वैज्ञानिकहरूले एक्सोप्लानेटमा थप चासो राख्दै अनुसन्धान जारी राखेका थिए ।

वैज्ञानिकहरूले यसको समुन्द्र तातो हुनसक्ने र हालसम्म दुई पटक मात्र अवलोकन गरिएकाले यसमा जीवन सम्भव छ/छैन भनेर भन्न नसकिने बताएका छन् । तर यस ग्रहमाथि खोज अनुसन्धान भने जारी राख्ने उनीहरूले जनाएका छन् ।

पछिल्लो अध्यावधिक: भदौ २७, २०८० १८:३८