close

पठाओको दशैं महोत्सवः राइडर कमिसन घट्ने, यात्रुका लागि ७० प्रतिशतसम्म छुट

टेकपाना टेकपाना

असोज ८, २०८० १६:३०

पठाओको दशैं महोत्सवः राइडर कमिसन घट्ने, यात्रुका लागि ७० प्रतिशतसम्म छुट

काठमाडौं । पठाओ नेपालले आउँदै गरेको बडादसैंको अवसरमा 'पठाओ दसैं महोत्सव' अफर ल्याएको छ । सोमबार (असोज ८) देखि असोज २८ गतेसम्म सञ्चालन हुने यो अफरमा कम्पनीले राइडरहरूका लागि 'कम कमिसन धेरै कमाई, यो दसैं रमाई-रमाई' भन्ने मूल नाराका साथ दैनिक १ प्रतिशत कमिसन अफर राखेको छ ।

कम्पनीले अफरको बम्पर पुरस्कार अन्तर्गत यामाहासँगको सहकार्यमा दुई जनालाई यामाहा रे जेडआर १२५ एफआई हाइब्रिड स्कुटर दिने भएको छ । 
यस महोत्सव अवधिभर चालकहरूले केही राइड बढी लिँदै जाँदा कमिसन पनि घट्दै जानेछ ।

हाल साधारणतया बाइकमा २० प्रतिशत र कार लाइट (ट्याक्सी) मा १५ प्रतिशत कमिसन रहेको छ । अब भने धेरै राइड लिने राइडर र क्याप्टेन (ट्याक्सी चालक) को कमिसन घट्दै जानेछ । जसमा अधिकतम राइड गर्नेले तिर्ने कमिसन घटेर कम्तिमा १ प्रतिशतसम्म आउनेछ ।

बम्पर विजेता लक्की ड्रबाट छानिने र लक्की ड्रमा उम्मेदवार बन्नका लागि राइडर, क्याप्टेन (ट्याक्सी चालक) र पठाओ हिरो (फुड डेलिभरी पर्सन)ले निश्चित नियमका साथ निश्चित राइड पूरा गर्नुपर्ने कम्पनीले बताएको छ ।

कम्पनीले असोज ३० गते पठाओ नेपालको आधिकारिक सामाजिक सञ्जालबाट लाइभ गरी लक्की ड्र मार्फत बम्पर पुरस्कार घोषणा गरिने जनाएको छ ।

ग्राहकका लागि पनि पठाओले आफ्नो एपमा छुट लिएर आएको छ । जसअनुसार ग्राहकहरूले फुड अर्डर, कार राइड र बाइक राइडमा ७० प्रतिशतसम्म छुट पाउनेछन् ।  यस्तै पठाओ फुड डेलिभरीमा पाँच वर्षको उपलक्ष्यमा रु. ५, रु. ५५ र रु. ५५५ को अफरहरू ल्याइएको छ ।

पछिल्लो अध्यावधिक: असोज ८, २०८० १६:३०