close

डा. रुपेश जङ्ग राउतको ईभी अनुभव- ‘११ महिनामा पेट्रोलको पैसा बापत एक लाख बचाएँ’

डा. रुपेश जङ्ग राउत

असोज १४, २०८० १६:४

डा. रुपेश जङ्ग राउतको ईभी अनुभव- ‘११ महिनामा पेट्रोलको पैसा बापत एक लाख बचाएँ’

म चिकित्सा विज्ञानको विद्यार्थी, १२ वर्ष विदेशमै पढेँ । पाकिस्तानमा पोस्ट ग्राजुएसन गर्दा त्यहाँ मैले एमजीको जेडएस ईभी देखेको थिएँ । त्यसबेला कुनै दिन त्यहीँ गाडी किन्छु भन्ने सोचेको थिएँ । पढाइ सकिएपछि  नेपाल फर्केँ । ‍गाडी चलाउन आउँथेन । त्यसपछि गाडी चलाउन सिकेँ । लाइसेन्स लिएँ । बुबासँग गाडी भएकाले एक महिना जति त्यही चलाएँ । त्यसपछि गाडी किन्न लागेँ ।

मलाई पहिल्यै एमजीको गाडी मन परेको थियो । फेरि वातावरणमैत्री गाडी किन्नु पर्छ भन्ने सोच राखेको थिएँ । तर एमजीको यहाँकाे स्थानीय बिक्रेताले गाडीको बुकिङ लिन मानेन । नयाँ आर्थिक वर्षकाे बजेट र त्यसअघि नै धेरैले गाडी बुकिङ गरेका कारण उहाँहरू (बिक्रेता) ले बुकिङ लिन मान्नु भएन । 

त्यसपछि मैले अरु बिजुली गाडी हेर्न लागेँ । तर मलाई चाहिने फिचर भएको र मेरो बजेटभित्र पर्ने गाडी भेटिरहेको थिइनँ । त्यसैबेला सीजी मोटर्सले होजन मोटर्सलाई नेपाल भित्र्याएको ‍थाहा पाएँ । सीजी मोटर्सले नेपालमा उक्त कम्पनीकाे गाडी ल्याएको चौंथाे दिन म र बुबा हेर्न गयौं ।

पहिलेदेखि म टेस्लाको कार मन पराउँथे । लुक्स टेस्लासँग मिल्ने, रेञ्ज बढी ‍भएको र मेरो बजेटमा आउने भएकाले त्यसबेलाको विकल्पहरूमध्ये मलाई होजन मोटर्सको गाडी उपयुक्त लाग्यो । अनि एमजीको साटो त्यही लिने सोचेँ । नेक्सन पनि हेरेको थिएँ, तर नेक्सनको फेसबुक ग्रुपमा धेरैले रेञ्ज समस्या भएको गुनासो गरेका थिए । हुन्डाई कोना पनि हेरिरहेको थिएँ । 

तर ती गाडी नकिनेर मैले ३९ लाख ९९ हजार रूपैयाँमा नेटा-भी किनेँ । यता मैले बुकिङ गरेको एक महिनामै बुबाले आफ्नो पेट्रोल गाडी बेच्नु भयो । अनि, हुन्डाईको कोना बुक गर्नु भयो । मैले बुक गरेको तीन महिनामा नेटा-भी पाएँ । बुवाले बुक गरेकाे दुई महिनामा कोना गाडी पाइयाे ।

अहिले हाम्रो घरमा बिजुली गाडी मात्र छन् । बुबाले कहिले नेटा-भी चलाउनु हुन्छ, कहिले म कोना चलाउँछु । यसरी बुबा र मसँग दुई ओटा फरक ब्रान्डको बिजुली गाडी चलाएको अनुभव छ । यी  दुवै गाडीको आफ्नै विशेषता छन् । दुवैका फाइदा र बेफाइदा छन् ।

तर मेरो गाडीको हुडमा नेटा भनेर लेखेको छैन । त्यहाँ मैले नेटाको थ्रीडी लोगो राखेको छु । दशैं सुरु हुनुभन्दा ठ्याक्कै अघिल्लो दिन गाडी पाइयो । त्यसबेला हुडमा कुनै स्टिकर राखिएको थिएन । मलाई त्यस्तै मन पर्‍यो पर्‍यो । तर अलि पछि कम्पनीको ब्याज नुहुँदा नराम्रो भयो कि भन्ने लाग्यो । अनि होजन मोटर्सको थ्रीडी प्रिन्ट लोगो राखेँ । अहिले राम्रो पनि देखिएको छ । 

होजन मोटर्सका अनुसार यो गाडी एक पटकको फुल चार्जमा ४०० किलोमिटर गुड्छ । नेपालमा सिजी मोटर्सले ३८० किलोमिटर रेञ्ज दिने दाबी गरेको छ । मैले भने ३४०-३५० किलोमिटर पाइरहेको हुन्छु । आखिर चलाउने तरिकाले पनि रेञ्ज फरक आउँछ ।

केही अगाडि रेञ्ज ह्वात्तै घट्दा म अलि आत्तिएको थिएँ । गत जाडोयाममा हिटर बढी चलाउन थालियो । गाडी चलाउने तरिका पनि अलि जथाभावी हुन थाल्यो । त्यसपछि २८०-२७० किलोमिटर तिर रेञ्ज झर्यो । पहिले ३७० किलोमिटर आसपासमा रेञ्ज पाइरहेको थिएँ ।

एक्कासि १०० किलोमिटर कम रेञ्ज पाउँदा डराउनु स्वाभाविक थियो । त्यसपछि सर्भिस सेन्टर गएँ । त्यहाँ प्राविधिकसँग छलफल गरेँ । त्यहाँका एक इन्जिनियरले मलाई राखेर करिब १५/२० किलोमिटर कुदाउनु भयो । तर उहाँले कुदाउँदा एसी ‘अन’ गर्दा पनि ४०० किलोमिटरभन्दा बढीको रेञ्ज आयो । अनि झ्याप्प ब्रेक नलगाउने, झ्याप्प एक्सिलेटर नथिच्ने जस्ता केही तरिका सुझाउनु भयो । उहाँले मेरो त्यति गल्ती देखाइदिनु भएपछि आफैंलाई सुधार गर्दै गएँ । अहिले ३४०-३५० किलोमिटर रेञ्जसम्म मैले पाइरहेको छु ।

त्यसैबेला उच्च गतिका कारण दुर्घटना भएको एउटा नेटा-भी पनि त्यहाँ ल्याइएको थियो । नराम्रै तरिकाले गाडीमा क्षति पुगेको थियो । त्यसको मालिकले ‘धन्न बाँचियो’ भनेर मलाई सुनाउनु भयो । त्यसपछि आफूले चलाइरहेको यो गाडी सुरक्षित नै रहेछ भन्ने महसुस भएको छ । 

गाडी चलाउँदा मैले कहिल्यै ३० प्रतिशतभन्दा तल चलाएको छैन । म घरमा नै एसी चार्जरले गाडीलाई चार्ज गर्छु । चार्ज गर्दा पनि ८० वा ९० प्रतिशतसम्म मात्र पुर्‍याउँछु । फुल चार्ज कहिल्यै गरेको छैन । डीसी चार्जरबाट भने कहिल्यै चार्ज गरेको छैन ।

यो ११ महिनाको अवधिमा ९ हजार बढी किलोमिटर कुदाइएछ । सर्भिसिङ भने चार पटक गइसकेँ । सर्भिसिङमा जाँदाको मेरो अनुभव समग्रमा राम्रै छ । त्यहाँ काम गर्ने जनशक्तिदेखि सेवा दिने तरिका मन परेको छ । फेरि  सर्भिसिङमा जाँदा नेटाभीका अन्य मालिकहरूसँग पनि भेट हुने गर्छ । 

मेरो कर्मस्थल पाटन अस्पताल हो । ‍चिकित्सक भएपछि बिरामीको अवस्था गम्भीर छ भने जुनै समयमा पनि अस्पताल पुग्नु पर्छ । जति चाँडो दिमागको उपचार गर्न सक्यौं, त्यति नै राम्रो नतिजा आउँछ । यसकारण हामी दिन होस् वा रात, फोन आउन साथै अस्पताल पुग्‍नु पर्छ । मेरो बसाइँ र कर्मस्थलको दूरी ३-४ किलोमिटर छ ।

यही कारण आपतकालीन अवस्थामा अस्पताल जाँदा ‘रेञ्ज एन्जाइटी’ हुने वा चार्ज नगर्दाको तनाव भने हुँदैन । अहिलेसम्म त्यसरी निस्कँदा खासै नराम्रो अनुभव गर्न परेको छैन । गाडी निकाल्यो, हिँडिहाल्यो । काम यस्तै भएर यो गाडीबाट म धुलिखेलभन्दा टाढा गएको छैन ।

अधिकांश समय काठमाडौं उपत्यकामा नै गुडाइरहेको हुन्छु । तर अस्पताल, कर्पोरेट अफिस, सरकारी अफिस लगायतले बिजुली गाडीलाई प्रोत्साहन गर्न भने ती स्थानमा चार्जिङ स्टेसन र पार्किङ बनाउनु पर्छ जस्तो लाग्छ । त्यसले बिजुली गाडीप्रतिको आकर्षण बढाउन सहयोग गर्छ । 

अहिलेसम्म केही घटना बाहेक यो गाडीसँग राम्रै अनुभव छ । तर यसमा ३६० डिग्री (चारैतिरको दृश्य कैद गर्न सक्ने) क्यामेरा, सिट कुलिङ जस्ता फिचर दिइएको छैन । गाडी चलाउँदै जाँदा यस्तो फिचर पनि भए हन्थ्यो भन्ने लाग्ने रहेछ । यसमा ठूलो स्क्रिन छ । तर ओरियन्टेसन रोटेट गर्न मिल्दैन । रोटेट गर्न मिल्ने भए हुन्थ्यो भन्ने लाग्छ । पछाडिका सिटमा एसीको एउटा भेन्ट र कप होल्डर भए हुन्थ्यो भन्ने लाग्छ ।

चीनमा भएको यही गाडीमा भने यी सहित अन्य धेरै फिचर छन् । ती फिचर आफूले चलाएको गाडीमा पनि होस् भन्ने त अवश्य नै लाग्छ । चीनको जस्तै नेपालमा किन फिचर नभएको भनेर मैले कम्पनीमा सोधेको थिएँ । नेपाली ग्राहकले हाल्न सक्ने मूल्यका आधारमा फिचर दिइएको भनेर उहाँहरूले  बताउनु भएको थियो । ठीकै त हो, ‘जति तिर्छौं, त्यती पाउँछौं’ । नेटा-भीमात्र नभएर भारतको बीवाईडी र यहाँको बीवाईडीमा पनि यही भिन्नता रहेछ । 

पहिले गाडीमा १६० एमएमको ग्राउन्ड क्लियरेन्स थियो । तर थुप्रै चालकहरूले त्यो नेपालको परिप्रेक्ष्यमा कम भएको भनेर गुनासो गरे । पछि कम्पनी आफैंले सबै गाडी मालिकलाई बोलाएर अलि अग्लो टायर फेर्यो । मेरोमा पनि टायर फेरियो । अहिले भने करिब १७० एमएमको ग्राउन्ड क्लियरेन्स छ । तर कम्पनीले टायर फेर्न बोलाउँदा लुक्स र रेञ्ज परिवर्तन हुन्छ कि भन्ने मलाई लागेको थियो । तर रेञ्जमा समस्या आएन । यद्यपि लुक्स भने सानो मान्छेले ठूलो जुत्ता लगाएको जस्तो मलाई लागेको थियो ।

बुट स्पेस भने मलाई चाहिने भन्दा बढी नै छ । मैले प्रयोग गर्ने कपडाहरू, आपतकालीन अवस्थामा चाहिने टुलहरू गाडीमा सधैं हुन्छ । विदेशतिर यो गाडी बजारमा गएसँगै स्पेयर पार्टस उपलब्ध भइसकेका छन् । नेपालमा पनि कुनै थर्ड पार्टी कम्पनीले ल्याइदिन्छन् कि !

मैले यो गाडी किनेको करिब ११ महिना भइसकेको छ । ‍यो अवधिभर पेट्रोलको पैसाबापत एक लाख रुपैयाँ बढी बचाए जस्तो लाग्छ । किनकी एक किलोमिटर पार गर्न ५० पैसा मात्र लाग्ने कम्पनीको दाबी छ । मानौं, एक किलोमिटर पार गर्न एक रुपैयाँ नै लाग्यो । त्यसो हुँदा पनि ११ महिनामा ९ हजार रुपैयाँ खर्च भयो । अनि कहाँ एक लाख, कहाँ ९ हजार ? त्यसैले गर्दा मलाई गाडीको मासिक किस्ता तिर्न पनि सजिलो भएको छ । त्यस्तै घटबढ भइरहने पेट्रोलको मूल्यको चिन्ता पनि छैन ।  

तर कहिलेकाहीँ समस्या आउँदा भने अलि चिन्ता बढ्ने रहेछ । एक पटक पानी परिरहेको समयमा त्यस्तै समस्या आइपर्‍यो । ओरालो बाटोमा गाडी पार्क गरेको थिएँ । उकालोमा नै गाडी यु-टर्न लिनु पर्ने थियो । तर गाडी नै गुडेन । अनि ‘अफ’ गरेर फेरि ‘अन’ गरेँ । त्यसपछि गाडी त चल्यो । तर ओडोमिटर (स्क्रिन)मा ब्याट्री प्रतिशत देखाएन । कति रेञ्ज बाँकी छ भनेर पनि देखाएन । स्क्रिन पनि चलेन । बरु स्क्रिनमा अन्य विभिन्न समस्याहरू भएको देखाउन थाल्यो । यद्यपि म सकुशल घर पुगेँ । अनि, तत्कालै सर्भिस सेन्टरमा कल गरेर समस्याबारे जानकारी गराएँ ।

उहाँहरूले आत्तिनु पर्दैन र तत्काल सर्भिसिङमा आउन भन्नुभयो । मेरो फुर्सद थिएन, घरमा नै प्राविधिक आउनु भयो । कारको सफ्टवेयर अपडेट गरिदिनु भयो । त्यसपछि गाडीले पूर्ववत् अवस्था जसरी नै काम गर्न थाल्यो । पछि मैले अध्ययन गर्दा त्यस्तो समस्या थाइल्यान्ड, मलेसिया जस्ता देशमा पनि भएको पाएँ ।

(डा. राउत हुन् पाटन अस्पतालका न्यूरोसर्जन हुन् ।)

पछिल्लो अध्यावधिक: असोज १४, २०८० १६:२३