close

त्रिवि अन्तर्गतका क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई १५ लाख रुपैयाँ छात्रवृत्ति दिँदै पठाओ

टेकपाना टेकपाना

असोज २६, २०८० १५:४

त्रिवि अन्तर्गतका क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई १५ लाख रुपैयाँ छात्रवृत्ति दिँदै पठाओ

काठमाडौं । पठाओ नेपालले त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा 'त्रिवि पठाओ वार्षिक छात्रवृत्ति योजना' सार्वजनिक गरेको छ । सामाजिक उत्तरदायित्त्व (सीएसआर) अन्तर्गत देशभरका १०० विद्यार्थीका लागि वार्षिक १५ हजार रुपैयाँ छात्रवृत्ति उपलब्ध गराउने लक्ष्यका साथ यो कार्यक्रम ल्याएको पठाओले जनाएकाे छ ।

यसका लागि पठाओ र त्रिभुवन विश्वविद्यालयबीच बिहीवार सम्झौता भएको छ । सम्झौतापत्रमा पठाओका तर्फबाट बजार प्रमुख सुरक्षा हमाल र त्रिभुवन विश्वविद्यालयका तर्फबाट विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारीले हस्ताक्षर गरेका छन् ।

पठाओका अनुसार यस योजनामा विद्यार्थी छनोटका लागि छात्रवृत्ति समिति बनाइनेछ । सो समितिमा कम्पनीका तर्फबाट दुई जना र विश्वविद्यालयको तर्फबाट तीन जना सदस्य रहनेछन् ।

छात्रवृत्तिबारे जानकारी र अनलाइन फर्म विश्वविद्यालयले प्रदान गर्ने र पठाओ नेपालको वेबसाइट, सामाजिक सञ्जाल, विश्वविद्यालय अन्तर्गतका कलेजहरू तथा कलेज परिसरभित्र समेत प्रचार गरिने पठाओ नेपालको मार्केटिङ प्रमुख हमालले बताइन् । ''यस छात्रवृत्तिका लागि तोकिएको मापदण्ड अनुसार आवेदन दिएका उम्मेदवार मध्येबाट याेग्य विद्यार्थी  छानिने छन् ।''

यस योजनामा छानिएका विद्यार्थीलाई त्रिवि अन्तर्गतका मुख्य क्याम्पस र ६२ वटा आङ्गिक क्याम्पसमा छात्रवृत्तिमा पढ्न मिल्ने पठाओले जनाएको छ । ​यसअन्तर्गत सामाजिक शास्त्र संकाय, व्यवस्थापन संकाय र शिक्षा सङ्कायमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति दिइने छ ।

हस्ताक्षर कार्यक्रममा पठाओ नेपालका प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यात, त्रिवि अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक विनोद जोशी, योजना निर्देशनालयका निर्देशक प्रा. डा धुव्रकुमार गौतम लगायतको उपस्थिति थियो ।

पछिल्लो अध्यावधिक: असोज २६, २०८० १७:६