close

चाडपर्वमा आपराधिक गतिविधि बढ्ने भएकाले अफलाइन राइड नलिनूः प्रहरी

टेकपाना टेकपाना

असोज ३०, २०८० १३:१८

चाडपर्वमा आपराधिक गतिविधि बढ्ने भएकाले अफलाइन राइड नलिनूः प्रहरी

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चाडपर्वका समयमा आपराधिक गतिविधि बढी हुने भएकाले अफलाइन राइड नगर्न सचेत गराएको छ । कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले चाडपर्वको समयमा आपराधिक समूह सक्रिय हुने र अफलाइन राइड गरी अपराध ठगी, लुटपाट गर्ने जोखिम भएकाले सचेत रहन अनुरोध गरेका हुन् ।

“सम्पूर्ण यात्रु महानुभावहरूले विशेषगरी यो राइड शेयर प्रयोग गर्दा अनिवार्य अनलाइनबाट बुक गरेर मात्र प्रयोग गर्न अनुरोध गर्दछौं,” टेकपानासँग कुरा गर्दै भट्टले भने, “अफलाइन जाँदाखेरी ठगिने सम्भावना बढी हुन्छ र यसका साथै अन्य सुरक्षासम्बन्धी जोखिम हुन जाने, कतिपय अवस्थामा दुर्घटना गराएर फरार रहेको भेटिएको तथा दुर्घटनाको जोखिम बढी हुने भएकाले अफलाइनका रूपमा यस्ता राइड शेयरिङका प्लेटफर्मबाट यात्रा नगरिदिनु होला ।”

चाडपर्वमात्र होइन, अन्य कुनै पनि अवस्थामा अफलाइन राडइ नगर्न उनले सुझाव दिए । अफलाइन राइड गर्दा राइडर वा यात्रु दुवै ठगिने जोखिम उच्च हुन्छ । पछिल्लो समय अफलाइन राइडका कारण अपराधका घटना बढ्दै गएकाले सचेत रहन समेत भट्टले अनुरोध गरेका छन् ।

प्रहरीले अफलाइन राइड गर्नेहरूलाई पनि पक्राउ गर्दै कारबाही सुरु गरेको छ । आइतबारमात्रै काठमाडौं जिल्ला प्रहरी परिसरले काठमाडौंका विभिन्न स्थानबाट अफलाइन राइड गर्ने ८३ जनालाई नियन्त्रणमा लिएको थियाे ।

यदि तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्न र राइड लिनुपर्ने भयो भने विकल्पको रूपमा आफन्त, साथीभाइलाई राइड बुक गरिदिन अनुरोध गर्न सक्नुहुन्छ । राइड बुक गरिदिने व्यक्तिलाई बाइक कहाँ-कहाँ पुगेको छ भन्ने सबै थाहा हुन्छ । जसले गर्दा यात्रा अफलाइनभन्दा बढी सुरक्षित हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज ३०, २०८० १३:४५