close

भरतपुर महानगरपालिकाको फेसबुक पेज ह्याक, स्टोरीमा अश्लील भिडिओ राखेर बेटिङमा पुर्‍याउँदै

टेकपाना टेकपाना

कात्तिक ५, २०८० ८:४४

भरतपुर महानगरपालिकाको फेसबुक पेज ह्याक, स्टोरीमा अश्लील भिडिओ राखेर बेटिङमा पुर्‍याउँदै

काठमाडौं । भरतपुर महानरगपालिकाको नामबाट खोलिएको फेसबुक पेज ह्याक भएको पाइएको छ । ह्याकरले शनिवार सो पेज ह्याक गरी अश्लिल साइटको लिङ्क राखिएको छ । 

अन्तिम पटक महानगरले  सो फेसबुक पेजमा असोज १४ गते पोस्ट राखेको थियो । त्यसपछि केही समय निस्क्रिय रहेको उक्त पेजको स्टोरीमा अश्लिल सङ्केत देखिने पोस्ट राखेको देखिएपछि ह्याक भएको आशंका गरिएको हो । यसबारे बुझ्न हामीले महानगरका प्रतिनिधिसँग कुरा गर्न खोजेका थियौं । तर, सम्पर्क हुन सकेको छैन । 

महानगरपालिकाले फेसबुक पेज ह्याक भएको बारेमा वेबसाइटमा कुनै कुनै पोस्ट राखेको देखिंदैन । ह्याक भएको उक्त पेजको स्टोरीमा माथि स्वाइप गरेर लिङ्क खोली पुरा भिडिओ हेर्नुहोस् भनिएको छ । तर, उक्त लिङ्क भने कुनै भिडिओको नभएर अबैध बेटिङ साइटको रहेको देखिन्छ । उक्त साइटमा राखिएका अधिकांश पोस्टहरू नेपाली अनुवाद गरेर राखिएका छन् । यसको अर्थ पछिल्लो समय सामाजिक सञ्जालका अकाउन्ट ह्याक गर्ने र प्रयोगकर्तालाई अश्लील साइटबाट डोर्‍याउँदै अवैध बेटिङमा पुर्‍याउने काम भइरहेको देखिन्छ । 

उक्त प्लेटफर्मले आफूलाई 'अनलाइन क्यासिनो नेपाल'को नाम दिएको छ । पोस्टमा पनि प्रयोगकर्ताले बुझ्ने किसिम भाषा प्रयोग गरिएको छ । 

अपडेटः भरतपुर महानगरपालिकाको नामबाट खोलिएको उक्त पेज अरू कसैले खोलेको खुलेको छ। टेकपानासँग कुरा गर्दै महानगरपालिकाकी सूचना अधिकारी मेनका पण्डितले उक्त पेजबारे एक डेढ वर्षअघि थाहा भएको र बारम्बार बन्द गर्न भनेको भए पनि अटेर गरेको बताइन् । "धेरै पहिले महानगरबासीमध्ये कसैले त्यो पेज खोल्नु भएको रहेछ," उनले भनिन्, "हामीले पेजबाट असान्दर्भिक पोस्ट भइरहेको भन्ने थाहा पाएपछि रिपोर्ट गरेका छौं ।"

पण्डितले महानरपालिकाको आधिकारिक पेज 'भरतपुर महानगरपालिका -Bharatpur Metropolitan City Office' रहेको र आधिकारिक जानकारीका लागि यसैलाई आधार मान्न अनुरोध गरेकी छिन् । सोही पेजबाट समेत भरतपुर महानगरपालिकाले ह्याक भएको भनिएको पेज आफूसँग सम्बन्धित नरहेको प्रस्ट पारेको छ ।

 

पछिल्लो अध्यावधिक: कात्तिक ५, २०८० ९:४३