close

अनलाइन गेमरमाथि किन बढ्दैछ साइबर आक्रमणको जोखिम ?

टेकपाना टेकपाना

कात्तिक ६, २०८० १०:२१

अनलाइन गेमरमाथि किन बढ्दैछ साइबर आक्रमणको जोखिम ?

काठमाडौं । पछिल्लो समय गेमिङ उद्योगमा व्यापक विकास भइरहेको छ । केही वर्ष अगाडि कम्प्युटरमा मात्र सीमित रहेको गेमिङ उद्योग पब्जी, फ्री फायर, क्ल्यासको क्ल्यान जस्ता गेम आएसँगै मोबाइल गेमिङमा पनि उत्तिकै विस्तार भइरहेको छ । समयको मागसँगै उच्च गुणस्तरका गेमहरू आउँदा प्रायः युवा युवती यी गेमका पारखी बनेका छन् । कतिपय युवा गेमिङमा लागेरै राम्रो आम्दानी गरिरहेका छन् । गेमिङ उद्योग दिनानु दिन बढ्दै गएसँगै साइबर अपराधका गतिविधि पनि बढ्न थालेको छ । 

किन हुन्छ गेमरमाथि साइबर आक्रमण ?

व्यक्तिगत विवरण हात पार्न

गेमरहरूको व्यक्तिगत विवरण हात गर्न साइबर अपराधी (ह्याकर) सधैं लागि परेका हुन्छन् । गेमरको गेमका उपलब्धिदेखि पेमेन्ट विवरण ह्याकरका सम्पत्ति हुन् । तपाईं गेमर हुनुहुन्छ भने ह्याकरले तपाईंको पेमेन्ट विवरणबाट क्रेडिट कार्ड, पेपलको दुरुपयोग गरिदिन सक्छन् । 

ठुलो प्रयोगकर्ताको आधार 

गेमरको कुनै सिमाना हुँदैन । विश्वको जुन सुकै कुनाबाट गेममा जोडिन सकिन्छ । गेममा जोडिएका प्रयोगकर्ताले एकअर्काको भाषा नबुझे पनि गेमको भाषा सजिलै बुझ्छन् । जसले गर्दा एउटा ठुलो सङ्ख्या वा प्रयोगकर्ताले एउटै गेम खेलिरहेका हुन्छन् । त्यो ठुलो प्रयोगकर्ताबाट विभिन्न फाइदा लिनका लागि पनि ह्याकरले आक्रमणको प्रयास गरिरहेका हुन्छन् ।

गेम भित्रका सामग्री हात पार्ने लक्ष्य

हरेक गेमका आ-आफ्नै मुद्रा वा पैसा हुन्छन् । जसलाई गेम खेलेर कमाउन वा शुल्क तिरेर किनबेच गर्न सकिन्छ । यसबाहेक कतिपय गेमका सामानलाई गेमको पैसामा परिवर्तन गरेर वास्तविक पैसा पनि बनाउन सकिन्छ । त्यसैले ह्याकरले यस्ता दुर्लभ सामान वा पैसा भएका अकाउन्टलाई निशानामा राख्छन् र आक्रमण गर्छन् ।

नाम कमाउन 

गेम खेलेर खेलाडीले नामसँगसँगै दाम पनि कमाइरहेका हुन्छन् । उनीहरूका समर्थक पनि धेरै भइसकेका हुन्छन् । त्यस्ता धेरै समर्थक भएका व्यक्तिको अकाउन्ट ह्याक गरेर ह्याकर सबैले आफूलाई चिनुन् भन्ने चाहन्छन् । त्यसैले पनि गेमहरूमाथि आक्रमण भइरहेको हुन्छ ।

अहिले प्रायः नियमित गेमरमाथि भइरहेका आक्रमण कुन हो ?

डिस्ट्रिब्युटेड डिनायल अफ सर्भिस (DDoS) आक्रमण

डिस्ट्रिब्युटेड डिनायल अफ सर्भिस यो एक प्रकारको साइबर आक्रमण हो । जहाँ गेमरहरूलाई गेम खेल्न बाधा पुर्‍याइन्छ अथवा गेम सर्भरलाई ढिलो बनाइन्छ । परिमाण स्वरूप गेमरले आफूले चाहे अनुसार गेम खेल्न पाउँदैनन् । यो आक्रमण प्रायः अनलाइन प्रतियोगिताहरू भइरहँदा त्यसमा अवरोध ल्याउन भइरहेको हुन्छ ।

फिसिङ आक्रमण

गेम जति चल्छ त्यतिनै त्यस गेममाथि वा गेम खेल्ने प्लेयरमाथि आक्रमण भइरहेको हुन्छ । फिसिङ आक्रमण  ह्याकरले प्लेयरको आइडी वा पासवर्ड आफ्नो नियन्त्रणमा लिनका लागि गरिरहेका हुन्छन् । यसका लागि उनीहरूले इमेल अथवा विभिन्न सामाजिक सञ्जालको प्रयोग गर्छन् । यसका लागि सबैभन्दा पहिला प्लेयरलाई गेममा किन्नु पर्ने वा एकदमै दुर्लभ रूपमा उपलब्ध चिजको लोभ दिइन्छ र त्यस लिङ्कमा क्लिक गरेर आफ्नो गेमको आईडी तथा पासवर्ड प्रयोग गरेर लगइन गर्ने भनिन्छ । जब उनीहरूले लगइन गर्छन् तब ह्याकरले उनीहरूको अकाउन्टमाथि कब्जा जमाउँछन् ।

अकाउन्टमाथि कब्जा

ह्याकरले फिसिङ आक्रमण मार्फत वा अन्य तरिकाले तपाईंको  आईडी र पासवर्ड पाइसकेपछि उनीहरूले तपाईंको अकाउन्ट लगइन गर्छन् । त्यसपछि तपाईको गेमभित्र भएका पैसाको दुरुपयोग गर्न सक्छन् । सँगसगै उनीहरूले तपाईंको अकाउन्टको सबै अधिकार लिएर तपाईंलाई अकाउन्टबाट निषेध गर्न पनि सक्छन् ।

मालवेयर तथा चिट सफ्टवेयर

केही गेमर गेममा चिट (जालझेल) प्रयोग गरेर खेल्न चाहन्छन् । यसको लागि उनीहरूले ह्याकरले दिएको फाइल वा एपको प्रयोग गर्छन् । जसमा मालवेयर हुने सम्भावना पनि हुन्छ । त्यही मालवेयर वा फाइलको प्रयोग गरेर ह्याकरले तपाईंको अकाउन्ट सँगसगै तपाईंको व्यक्तिगत विवरण, मोबाइल बैंकिङका जानकारी चोरी गर्नुका साथै तपाईंको सिस्टममाथि कब्जा जमाएर पैसा माग्न सक्छन् ।

डेटा ब्रिच

गेमिङ कम्पनीले आफ्नो प्रयोगकर्ताको सबै जानकारीहरू जम्मा गरेर राखेका हुन्छन् । उदाहरणको लागि तपाईंको व्यक्तिगत विवरणदेखि पेमेन्टका विवरणहरू कम्पनीले सुरक्षित राखेको हुन्छ । केही कारणले कम्पनीको डेटा ब्रिच (डेटा चुहावट) भयो भने प्लेयरको डेटा ह्याकरको हातमा जान्छ । यसले तपाईंको गोपनीयता र सुरक्षालाई जोखिममा पार्छ ।

किन गेमिङमा साइबर सुरक्षा चुनौती दिनानुदिन बढिरहेका छन् ?

गेमिङको दुनियाँमा केही वर्षमै व्यापक परिवर्तन भएको छ । अफलाइन एक जना गेम खेल्ने समयबाट अनलाइनमा आफ्ना साथीसँग कुरा गर्दै गेम खेल्न मिल्ने भएको छ । यससँगै गेमिङमा थुप्रै चुनौतीहरू पनि थपिएका छन् ।

बढ्दो अनलाइन गेमिङ:

अनलाइन गेमिङ एक्लोपन हटाउने माध्यम सँगसँगै मनोरञ्जनको पनि गतिलो साधन बनेको छ । साथीसँग जोडिन, नचिनेका मानिसलाई चुनौती दिन र भर्चुअल दुनियाँ (अवास्तविक) आफ्नो संसार बनाउन धेरै मानिस अनलाइन गेमिङमा जोडिएका छन् । प्रायः मानिसको आकर्षण यता हुँदा ह्याकरहरू पनि यसबाट फाइदा उठाउन चाहन्छन् ।

गेमभित्रका क्वाइन  

प्रायः अनलाइन गेमले प्लेयरहरूलाई आफ्नो गेमिङ प्लेटफर्ममा समय बिताउनका लागि  उनीहरूलाई विभिन्न गेममा सामान तथा क्वाइन दिइरहेका हुन्छन् । खेलाडीहरू गेममा लगाव बढ्दै जाँदा उनीहरूले आफ्नो वास्तविक पैसा पनि गेममा लगाउन थाल्छन् । जसले उनीहरूको अकाउन्टको मूल्य बढाउँछ । त्यसले गर्दा ह्याकरहरू त्यो अकाउन्टमा आफ्नो अधीनमा ल्याउन चाहन्छन् ।

अन्य विवरण चोरी

ह्याकरहरूले गेमलाई अन्य व्यक्तिका व्यक्तिगत विवरण तथा पेमेन्ट विवरण चोरी गर्ने हतियारको रूपमा प्रयोग गर्छन् । कतिपय किनेर खेल्नुपर्ने गेमहरू निःशुल्क उपलब्ध गराउने भन्दै त्यसैमा मालवेयर राखेर विभिन्न विवरणहरू पनि चोर्ने गरेका छन् ।

यसरी दिनानुदिन गेमिङ उद्योग वृद्धि भइरहँदा यससँगसँगै थुप्रै चुनौतीहरू पनि थपिंदै गएका छन् । यसरी गेमहरूमाथि आइ पर्ने चुनौती कम गर्न सरकारबाट पनि विभिन्न नीति नियम बनाएर देशभित्र खेलिने अनलाइन गेममाथि निगरानी एवम् नियन्त्रण बढाउनु पर्ने आवश्यकता देखिएको छ । यससँगसँगै गेमरहरूले पनि आफ्नो अकाउन्ट जथाभावी लगइन नगरी यस्ता कुरालाई मनन गरेर सावधानी अपनाउनु पर्ने देखिन्छ । 

पछिल्लो अध्यावधिक: कात्तिक ६, २०८० १०:२१