close

च्याटजीपीटीको सिको गर्दै गुगल बार्ड, अब टाइप गरेकै शैलीमा जवाफ दिने

टेकपाना टेकपाना

कात्तिक ११, २०८० १३:०

च्याटजीपीटीको सिको गर्दै गुगल बार्ड, अब टाइप गरेकै शैलीमा जवाफ दिने

 

काठमाडौं । गुगलको एआईमा आधारित च्याटबट ‘बार्ड’ले अब टाइपिङ गरेकै शैलीमा प्रश्नको जवाफ दिनेछ । कम्पनीले शनिवार एक अपडेट उपलब्ध गराउँदै बार्डमा वास्तविक समयमै जवाफ दिने फिचर सार्वजनिक गरेको हो । यसअघि बार्डमा कुनै पनि प्रश्न सोधियो भने सिस्टमले जवाफ पूर्ण रूपमा तयार पारिसकेपछि मात्र स्क्रिनमा देखिन्थ्यो ।

यस्तो हुँदा प्रयोगकर्तालाई वास्तविक समयमा बार्डसँग कुरा गरेको अनुभूति नहुने अवस्था थियो । यता ओपनएआईको च्याटबट च्याटजीपीटीले भने सुरुवातदेखि नै टाइप गरेको शैलीमा प्रश्नको जवाफ दिंदै आएको थियो । उक्त शैली प्रयोगकर्ताले अत्यधिक रुचाएका थियो । तर, आफ्नो एआई च्याटबट भिन्न देखाउने उद्देश्यले भने गुगलले बार्डमा जवाफ पूर्ण रूपमा तयार भइसकेपछि मात्र देखाउने सुविधा देखिएको थियो ।

प्रयोगकर्ताको रोजाइमा पर्न गुगलले बार्डमा टाइपिङ गरेको शैलीमा जवाफ दिने फिचर समावेश गरेको हो । यदि तपाईंलाई बार्डको नयाँ शैली चित्त बुझेन भने बार्डको वेसाइटमा गई सेटिङमार्फत उक्त फिचर डिसेबल गर्न सक्नुहुन्छ । यसमा दुई ओटा अप्सन रहेका छन् । एउटा ‘रेस्पोन्ड इन रियल टाइम’ अनि अर्को ‘रेस्पोन्ड ह्वेन कम्प्लिटेड’ । त्यसमध्ये आफूलाई जुन उपयुक्त लाग्छ त्यही अप्सन छान्न सक्नुहुन्छ ।

‘रेस्पोन्ड इन रियल टाइम’ अप्सन सेट गर्दा तपाईंलाई बार्डले दिएको जवाफ चित्त बुझेन वा आफूलाई फरक जवाफ चाहिएको छ भने बीचमै रोख्न सक्नुहुन्छ । त्यसका लागि जवाफ आइरहँदा तल ‘स्किप रेस्पोन्स’को अप्सन दिइएको हुन्छ ।

पहिले जवाफ तयार भइसकेपछि मात्र आउने फिचर हुँदा यस्तो सुविधा थिएन । त्यसैले प्रयोगकर्ताले सम्पूर्ण जवाफ आइसक्ने बेलासम्म पर्खिनुपर्ने अवस्था थियो । यसले गर्दा केही समय खपत् पनि हुने र प्रयोगकर्तालाई जवाफ चित्त बुझेन भने पुनः जवाफ पाउन प्रम्ट राख्न समय लाग्ने स्थिति थियो । अब भने प्रयोगकर्तालाई पूर्ण जवाफ आइपुग्नेबेलासम्म पर्खिरहनु पर्ने झन्झट नहुने गुगलको विश्वास छ ।

त्यस्तै नयाँ अपडेटमार्फत गुगलले अन्य ड्राफ्ट पनि हेर्न सकिने सुविधा ल्याएको द भर्जले उल्लेख गरेको छ । जेनेरेटिभ एआईले उत्कृष्टभन्दा उत्कृष्ट जवाफ छनौट गरेर नै प्रयोगकर्तालाई उपयुक्त जवाफ सिफारिस गर्छ । त्यस्तोमा बार्डले भित्रभित्रै थुप्रै ड्राफ्ट पनि बनाएको हुन्छ । अब भने तपाईंले गुगल बार्डले तपाईंलाई कुनै पनि जवाफ दिंदा त्यसका लागि अन्य कुन कुन् ड्राफ्ट तयार पारेको थियो त्यो पनि हेर्न सक्नुहुन्छ । 

यसका साथै कुनै पनि जवाफ साधारण बोलिचालिको शैलीमा चाहियो वा व्यावसायिक स्तरको चाहियो त्यो अप्सन पनि छनोट गर्न सकिने भएको छ । नयाँ अपडेटमार्फत बार्डले जिमेलमा आएका ईमेललाई पनि समराइज गरिदिने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक ११, २०८० १३:०