close

एक हजारभन्दा बढी नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा ग्राफिक्स डिजाइनर पक्राउ

टेकपाना टेकपाना

कात्तिक १४, २०८० १८:१०

एक हजारभन्दा बढी नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा ग्राफिक्स डिजाइनर पक्राउ

काठमाडौं । नक्कली सर्टिफिकेट बनाएको आरोपमा एक ग्राफिक्स डिजाइनर पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले नक्कली सर्टिफिकेट बनाएको आरोपमा काठमाडौं महानगरपालिका वडा नं. ३२ बस्ने २३ वर्षीय साइरस विसंखेलाई सोमवार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार कात्तिक १ गते भिजिट भिसामा विदेश जान लागेका व्यक्तिहरू शंकास्पद रहेको भन्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा केही कागजहरू पठाइएको थियो ।

त्यही कागजमध्ये राहुलकुमार मण्डलको नामको कक्षा १२ को एकेडेमिक ट्रान्सक्रिप्ट सर्टिफिकेट नक्कली देखियो । त्यसपछि प्रहरीलाई प्राप्त गोप्य सूचनाका आधारमा विसंखेलाई पक्राउ गरिएको हो ।

कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका विसंखेले एक हजारभन्दा बढी सर्टिफिकेट बनाएको खुलेको छ ।

प्रहरीले उनीसँग भएको फोन तथा सीपीयू बरामद गरी थप अनुसन्धानका लागि प्रहरी वृत्त नयाँ बानेश्वर पठाएको छ । 

 

पछिल्लो अध्यावधिक: कात्तिक १४, २०८० १८:११