close

सरकारले बजेट नदिंदा चल्न सकेन चीनबाट आएको भूकम्प जानु अघि चेतावनी दिने प्रविधि

सञ्जीवन राई सञ्जीवन राई

कात्तिक २०, २०८० १४:४५

सरकारले बजेट नदिंदा चल्न सकेन चीनबाट आएको भूकम्प जानु अघि चेतावनी दिने प्रविधि

 

काठमाडौं । नेपालमा भूकम्प जानु अगावै पूर्व सूचना दिने प्रणालीले काम नगरेको पाइएको छ । गत २०७२ सालमा गएको शक्तिशाली भूकम्प पश्चात् चीनको सहयोगमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट) ले जडान गरेको प्रणाली निष्क्रिय रहेको पाइएको हो ।

२०७२ को महाभूकम्पपछि चीन सरकार अन्तर्गतको इन्स्टिच्युट अफ केयर लाइफ पिपुल्स अफ चाइनाले नेपालभर १५ देखि २० किलोमिटरको दूरीमा ३२० ओटा सेन्सर जडान गर्न सहयोग गर्ने बताएको थियो । जसअन्तर्गत उक्त संस्थाले नास्टलाई  ८० ‌ओटा त्यस्ता सेन्सर उपलब्ध गराइसकेको छ । 

नास्टले देशभर ६५ स्थानमा मात्र ती प्रणाली जडान गरेको छ । तर उक्त प्रणाली अहिलेसम्म पनि सञ्चालनमा आउन नसकेको नास्टका सचिव रविन्द्रप्रसाद ढकालले बताए ।

उनका अनुसार प्राविधिक समस्या र चलाउन सक्ने दक्ष जनशक्ति नहुँदा जडान भइसकेका ती प्रणालीहरूलाई समेत काममा ल्याउन सकिएको छैन । जडान तथा सञ्चालन गर्न ठूलो रकम लाग्ने भएकाले काम अगाडि नबढेको सचिव ढकालले बताए । 

चीनले नि:शुल्क दिएको यो प्रणालीलाई पूर्ण रूपमा सञ्चालन गर्न नास्टले दुई वर्ष अघि १० करोड रुपैयाँ सरकारसँग माग गरेको थियो । तर बजेट निकासा नहुँदा काम गर्न नसिएको उनको स्पष्टीकरण छ । 

“चीन सरकारको सहयोगमा डिभाइसहरू आएका छन् । तर अग्रिम सूचना दिन चीनले प्रयोग गरेको सफ्टवेयर भने हामीलाई प्राप्त भइसकेको छैन । जसलाई अब हामी आफैँले विकास गर्नु पर्छ,” उनले भने, “ती प्रणालीका कम्प्युटर सिस्टम चिनियाँ भाषामै छन् । कुनै बिग्रेका छन् । यसकारण सिस्टममा सानो समस्या आएपनि उतैबाट मान्छे आउनु पर्ने बाध्यता छ । समग्रमा विगतका वर्षहरूमा मर्मत सम्भार, अनुगमन र स्तरोन्नति गर्न नसक्दा उक्त प्रणालीहरूले काम नगरेको हो ।”


तर यसका लागि सरकारसँग निरन्तर वार्तामा रहेको र यस प्रणालीले दिने सूचना नागरिकसम्म पुर्‍याउन स्थानीय टेलिकम कम्पनीहरूसँग कुराकानी भइरहेको पनि उनले जनाए । त्यस्तै उक्त संस्थाले पनि कतैबाट लगानी लिएर नेपालमा सहयोग गरेको र अहिले रकम नभएर परियोजना रोकिएको जस्तै भएको ढकालले बताए । 

बजेट अभावसँगै नेपालमा भूकम्पको पूर्व सूचना दिने पारिस्थितिक प्रणाली बन्न नसकेर काम हुन नसकेको उनले बताए । “उक्त संस्थाले नेपालमा सहकार्यका रूपमा उक्त प्रणाली जडान गर्न खोजेको थियो । अहिले जनशक्ति तथा आर्थिक अभावले रोकिएको छ । हामी नेपाल सरकारले आफ्नै लगानीमा आफै यस किसिमको प्रणाली बनाओस् भन्नेमा छौं । यसमा नेपाल सरकार पनि सकारात्मक छ,” उनले भने । 

“हुन त गुगलले पनि पूर्व सूचना दिन्छ । तर आफ्नै देशमा भएका डेटाबाट पाएको सूचना बढी वास्तविक हुन्छ । नेपाल भूकम्पका लागि संवेदनशील छ । यसकारण अन्तर्राष्ट्रिय सहयोग लिएर भए पनि सरकारले जसरी हुन्छ आफ्नै प्रणाली विकास गर्न तिर लाग्नु पर्छ ।”

भूकम्पविद् डा. शिव सुवेदीका अनुसार त्यस्ता प्रणालीले जमिन हल्लिनु भन्दा केही सेकेन्ड अगाडि मोबाइल वा अन्य माध्यममार्फत सूचना दिने गर्छ । त्यसो हुँदा भौतिक पूर्वाधारमा क्षति पुगे पनि मान्छेको जीवन बाँच्न सक्छन् । 

“त्यस्ता प्रणालीले भूकम्प गएको स्थानका आधारमा ढिलो/छिटो सूचना दिन्छ । प्रणाली जडान गरेको स्थानबाट टाढा भूकम्प गए छिटो सूचना पाइन्छ । प्रणाली भएकै स्थानमा भूकम्प गए भूकम्प जाने र प्रणालीले थाहा पाउने एउटै समय हुन्छ,” उनी भन्छन् ।

त्यस्तै अमेरिका, इन्डोनेसिया, जापान, चीन लगायतका विकसित देशमा त्यस्ता प्रणालीले लाखौं मान्छेको जीवन बचाइरहेकाले नेपालमा अत्यावश्यक भएको उनी बताउँछन् । “पुरानो प्रणालीलाई अपग्रेड गर्ने र नयाँ सिस्टमलाई भित्र्याएर ठूलो भूकम्पमा मानिसहरूलाई बचाउन सकिन्छ । यस प्रणालीलाई देशभर प्रयोग गर्न सक्यौं भने लाखौं नेपालीहरूको ज्यान जोगाउन सकिन्छ ।” 

पछिल्लो अध्यावधिक: कात्तिक २०, २०८० १५:३३