close

साउथ इन्डियन नायिका मन्दानाको डिपफेक भिडिओ भाइरल, प्रतिक्रियामा यसो भन्छन् अमिताभ बच्चन

टेकपाना टेकपाना

कात्तिक २०, २०८० १५:४८

साउथ इन्डियन नायिका मन्दानाको डिपफेक भिडिओ भाइरल, प्रतिक्रियामा यसो भन्छन् अमिताभ बच्चन

काठमाडौं । साउथ इन्डियन अभिनेत्री रश्मिका मन्दानाको एक डिपफेक भिडिओ यतिखेर इन्टरनेटमा भाइरल बनिरहेको छ । भिडिओमा उनी कालो रङ्गको योगा बडिसुटमा क्यामेराका लागि मुस्कान दिंदै लिफ्ट चढिरहेको जस्तो देखिन्छ । 

तर सो भिडिओ डिपफेक प्रविधिमार्फत कुनै अर्कै महिलाको शरीरमा मन्दानाको अनुहार जोडेर बनाइएको हो । मन्दानाको डिपफेक भिडिओ भाइरल बनेसँगै त्यसलाई लिएर थुप्रैले अनेकौं प्रतिक्रिया जनाउन थालेका छन् । 

त्यस किसिमको प्रतिक्रिया जनाउनेमा बलिउडका नायक अमिताभ बच्चन समेत छन् । एक जना एक्स प्रयोगकर्ताले लेखेका छन्, "भारतमा डिपफेकसँग जुध्नका लागि कानूनी र नियामकीय फ्रेमवर्क तत्काल जरुरी भइसक्यो ।" 

तपाईंले अभिनेत्री मन्दानाको यो भाइरल भिडिओ इन्स्टाग्राममा समेत देख्न सक्नु हुन्छ । वास्तवमा यो जारा पटेलको भडिओ तोडमोड गरी बनाइएको डिपफेक भिडिओ हो । 

ती प्रयोगकर्ताले डिपफेक भिडिओको ०ः०१ सेकेन्डमा पुगेर अचानक कसरी अनुहार परिवर्तन हुन्छ भन्ने कुरा केलाउँदै त्यसको सक्कली भिडिओ समेत शेयर गरेका छन् । उक्त भिडिओको कमेन्ट सेक्सनमा एक अर्का प्रयोगकर्ताले लेखेका छन्, ""केही घटिया व्यक्तिहरू घटिया हर्कत मात्रै गरिबस्छन् ।" 

अनि अर्का प्रयोगकर्ता लेख्छन्, "यो निकै भयानक छ !" गुडबाईमा रश्मिकासँगै काम गरेका अमिता बच्चनले एक्समा उक्त भिडिओ रिट्वीट गर्दै लेखेका छन्, "एस दिस इज अ स्ट्रङ्ग केस फर लिगल (कानूनका लागि यो बलियो प्रकरण हो) ।" 

एक अर्का प्रयोगकर्ताले हरेकलाई सजिलै भिन्नता पत्ता लगाउन सक्ने गरी सक्कली र नक्कली भिडिओ सँगसँगै राखेर शेयर गरेका छन् । यो समाचार तयार पार्दासम्म एक्समा मन्दानाको डिपफेक भिडिओ एक करोड ७५ लाख भन्दा बढीले हेरिसकेका छन् । तर पटेलको वास्तविक भिडिओमा भने ४३ लाख मात्रै भ्युज रहेको छ ।  

 

पछिल्लो अध्यावधिक: कात्तिक २०, २०८० १५:४८