close

महँगो स्मार्टवाच लाउन मन छ ? बजारमा यस्ता छन् विकल्प

उष्मा अधिकारी

मंसिर ८, २०८० १६:२०

महँगो स्मार्टवाच लाउन मन छ ? बजारमा यस्ता छन् विकल्प

काठमाडौं । महँगो स्मार्टवाचका लागि विश्वबजारमा थुप्रै ब्रान्ड छन् । नेपालमा भने महँगो स्मार्टवाच खोज्दा एप्पलसँगै ह्वावे, अमेजफिट लगायतका उत्पादन पाइन्छन् । हामी यो लेखमा नेपालमा उपलब्ध सबैभन्दा महङ्गा, प्रिमियम र फ्ल्यागशिप स्मार्टवाचबारे चर्चा गर्ने छौं ।

एप्पल

सबैभन्दा महँगो स्मार्टवाच ल्याउने ब्रान्डको पहिलो नम्बरमा एप्पल पर्छ । एप्पलको सबैभन्दा सस्तो स्मार्टवाचको मूल्य नै करिब ५० हजार रुपैँयाबाट सुरु हुन्छ । नेपालमा सार्वजनिक भएको पछिल्लो स्मार्टवाच एप्पल वाच अल्ट्रा टू हो । यसको मूल्य नेपाली बजारमा एक लाख ५७ हजार रुपैयाँ तोकिएको छ । 

यसअघिको एक लाख ४३ हजार हजार रुपैयाँ पर्ने वाच अल्ट्राभन्दा यो स्मार्टवाच खासै फरक छैन । बाहिरी बनोटमा यी दुईबीच कुनै भिन्नता देखिँदैन । तर एप्पलका अनुसार वाच अल्ट्रा टू शतप्रतिशत कार्बन न्युट्रल पहिलो स्मार्टवाच हो । भन्नुको अर्थ, रिसाइकल सामग्रीहरूको व्यापक प्रयोग गरेर यसलाई बनाइएको छ ।

यद्यपि, सबैभन्दा बलियो स्मार्टवाचको खोजी गर्नुभयो भने पनि यही स्मार्टवाचको नाम अघि आउने देखिन्छ । किनकी यसमा हवाइजहाजको एयरफ्रेम र इन्जिनको भागमा प्रयोग हुने एरोस्पेस ग्रेड टाइटानियमको प्रयोग गरिएको छ । जुन एकदमै बलियो र टिकाउ हुन्छ । 

एप्पल वाच अल्ट्रा टूको अर्को विशेषता यसमा एस नाइन एसआईपी चिपसेट (S9 SiP chipset) प्रयोग गरिएको छ । जसले गर्दा यो स्मार्टवाच थप क्षमतावान् बनेको छ । यसको डिस्प्लेमा अरू कुनै पनि स्मार्टवाचमा नभएको तीन हजार निट्सको ब्राइटनेस छ । जसले गर्दा टन्टलापुर घाममा पनि स्मार्टवाचको स्क्रिन ‍मजाले देखिन्छ । 

एप्पल वाच अल्ट्रा टू स्मार्टवाच मात्र होइन । एउटा मिनी फोन नै हो । किनकी यसमा जीपीएस, वाई-फाई सँगै सेलुलर नेटवर्कको समेत समेत विकल्प छ । स्मार्टफोनबाटै फोन उठाउन होस् वा विभिन्न फिचरहरू चलाउन, यसलाई छोइरहनै पर्दैन ।

दुई ओटा औंला ‘डबल ट्याप’ गरेको ‍भरमा फोन उठाउन सकिन्छ । स्मार्टवाच लगाएको हातलाई मुठ्ठी पार्ने हो भने कुनै पनि फिचर वा विकल्पभित्र प्रवेश गर्न समेत मिल्छ । औंला जोडेको र हात मुठ्ठी पारेको समेत पत्ता लगाएर प्रतिक्रिया दिने सेन्सर अन्य कुनै पनि स्मार्टवाचमा अहिलेसम्म राखिएको छैन । 

उचाइसँगै पानीमुनि जाँदा कति तल पुग्नुभयो त्यसको नापजाँच गर्ने र पानीको तापक्रम नाप्ने क्षमतासमेत यसमा छ । इमर्जेन्सी साइरनसँगै विभिन्न सुरक्षा फिचर यसमा समावेश छ । तर यसको कमजोर पक्ष ‍ब्याट्री ब्याकअप रहेको छ । जम्मा ५६४ एमएएच क्षमताको ब्याट्री भएको यो स्मार्टवाचलाई धेरै प्रयोग गर्दा दिनैपिच्छे चार्ज गर्नुपर्ने हुन्छ ।

त्यस्तै एन्ड्रोइड प्रयोगकर्ताले यो स्मार्टवाच किने पनि काम छैन । किनकी यसले आईओएस मात्रै सपोर्ट गर्छ । बढी मात्रामा हाइकिङ गर्ने, पौडी खेल्ने वा म्याराथन वा विभिन्न एथलेट खेलमा सहभागी हुने एप्पल प्रयोगकर्ताका लागि यो स्मार्टफोन उपयुक्त विकल्प हुनसक्छ । तर मूल्य र फिचरको हिसाबले हेर्दा वाच अल्ट्राभन्दा वाच अल्ट्रा टू करिब १४ हजार रुपैयाँ महँगो छ । यो १४ हजार रुपैयाँमा केही फिचरबाहेक अरू सबै कुरा उही पाइन्छ ।

ह्वावे

महँगो स्मार्टवाच ब्रान्डमा एप्पलपछि ह्वावेको नाम आउँछ । ह्वावेको फ्ल्यागशिप स्मार्टवाच ह्वावे वाच अल्टिमेट नेपाली बजारमा समेत उपलब्ध छ । यो स्मार्टवाच आईओएस र एन्ड्रोइड दुवै प्रयोगकर्ताले प्रयोग गर्न सक्छन् । तर स्मार्टवाचलाई स्मार्टफोनसँग जोड्न ह्वावे हेल्थ एपको जरुरी हुन्छ । जुन प्ले स्टोरमा ‍उपलब्ध छैन । घडीमा भएको क्यूआर मार्फत एपको एपीके फाइल डाउनलोड र इन्स्टल गर्नुपर्ने झन्झट भने व्यहोर्नुपर्छ । 

यसको मूल्य एक लाख २४ हजार रुपैयाँ तोकिएको छ । एप्पल वाचसँग यसलाई ‍दाँज्दा ब्याट्री ब्याकअपमा ह्वावे निकै अब्बल छ । कम्पनीले दाबी गरे अनुसार एकपटकको चार्जमा आठ दिन ब्याट्री टिक्छ । त्यसबाहेक एप्पल वाचसँग तुलना गर्न मिल्ने अन्य खास विशेषता यसमा छैन ।

यद्यपि एन्ड्रोइड प्रयोगकर्ताका लागि सबैभन्दा महङ्गो स्मार्टवाच चाहियो भने यो उत्कृष्ट विकल्प हुनसक्छ । यसको केस 'एमरफस जिरकोनियम' नामक सामग्रीबाट बनेको भनिएको छ । 

त्यस्तै एलटीपीओ एमाेलेड डिप्प्ले दिइएको छ । जसले गर्दा स्मार्टवाच बलियो छ भन्नेमा दुई मत छैन । सय मिटरसम्मको गहिराइमा पुग्दासमेत यो स्मार्टवाचलाई पानीले असर नगर्ने दाबी गरिएको छ । साथमा यसमा विभिन्न ‘डाइभिङ’ मोड समेत दिइएको छ । जसले गर्दा पौडी खेल्दै गर्दा समेत यसले हाम्रो स्वास्थ्यको निगरानी उचित तरिकाले गर्न सक्छ ।

साथै यस स्मार्टवाचमा दिइएको अर्को अब्बल पक्ष एक्सपिडिसन मोड हो । जसले विभिन्न सेटिङहरूलाई अटोमेसनमा लैजान सक्छ ।

यो स्मार्टवाचमा जीपीएसको सुविधा भएपनि एलटीई वा सेलुलर नेटवर्क सपोर्टको सुविधा भने छैन । स्क्रिन ब्राइनेटको मामलामा पनि यो स्मार्टवाचमा एप्पलको वाच अल्ट्राभन्दा कमजोर छ । यसमा १००० निट्सको ब्राइटनेस पाउन सकिन्छ ।
 

अमेजफिट 

एक लाख रुपैयाँ मुनि पनि लगभग उस्तै फिचर भएका थुप्रै स्मार्टवाच नेपाली ‍बजारमा उपलब्ध छन् । बजेटदेखि प्रिमियम स्मार्टवाचका लागि अर्को चर्चित हो, अमेजफिट । नेपाली बजारमा यसको प्रिमियम स्मार्टवाच अमेजफिट फाल्कन ‍उपलब्ध छ, जसको मूल्य ८४ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

मेटल फ्रेम भएको यो स्मार्टफोन हेर्दा पनि आकर्षक देखिन्छ । यसमा पनि इनबिल्ट जीपीएसको ‍सुविधा छ । ट्वान्टी एटीएम वाटर रेजिस्टेन्ट प्राप्त यो स्मार्टवाचले दुई समय मिटर गहिराइसम्मको पानीको चाप धान्न सक्ने कम्पनीको दाबी छ । 

ब्याट्री ब्याकअपका लागि यो स्मार्ट ह्वावेभन्दा पनि उत्कृष्ट छ । किनकी सामान्य प्रयोग गर्दा एक चार्जमा १४ दिनसम्म चल्ने कम्पनीको दाबी छ । स्मार्टवाचलाई बढी प्रयोग गर्दा समेत ९/१० दिन मज्जासँगले चलेको विभिन्न प्रयोगकर्ताले बताएका छन् । एप्पल, ह्वावे बाहेकको विकल्प खोज्नेहरूलाई अमेजफिट फाल्कन एउटा राम्रो विकल्प हुनसक्छ । ​

सामसङ

सामसङको फोन प्रयोग गर्नेका लागि सामसङ ग्यालेक्सी वाच सिक्स क्लासिक सबैभन्दा प्रिमियम स्मार्टवाच हो । एन्ड्रोइड वा आईओएस दुवै प्लेटफर्फ सपोर्ट गर्ने यो स्मार्टफोन मूल्यका हिसाबले ह्वावे वा अमेजफिटभन्दा धेरै सस्तो छ । वाच सिक्स क्लासिक ४७ एमएम भेरियन्टको मूल्य नेपाली बजारमा ६४ हजार ९९९ रुपैयाँ तोकिएको छ । तर यसमा थुप्रै विशेषता छन् । 

जीपीएस, वाई-वाई, ब्लुटुथसँगै ४७ एमएम भेरियन्टको स्मार्टवाचमा एलटीई सपोर्टको समेत सुविधा छ । जुन विशेषता ह्वावे वाच अल्टिमेटमा समेत उपलब्ध छैन । यसको अलवा दुई हजार निट्सको ब्राइटनेस पनि यसको अर्को अब्बल पक्ष हो । सफायर क्रिस्टल ग्लास, सुपर एमाेलेड डिस्प्ले, फाइभ एटीएम वाटर रेसिस्टेन्टसँगै आईपी ६८ सर्टिफिकेसनले पनि स्मार्टवाचलाई प्रिमियम बनाउन सघाएको छ ।

ब्याट्रीको मामिलामा चाहिँ यो स्मार्टवाच थोरै कमजोर छ । ४७ एमएम भेरियन्टको स्मार्टवाचमा जम्मा ४२५ एमएएच क्षमताको ब्याट्री छ भने ४० वा ४३ एमए भेरियन्टमा ३०० एमएमएच क्षमताको ब्याट्री छ । ४७ एमएम स्मार्टवाचलाई पनि धेरै बेरसम्म प्रयोग गर्ने हो भने दिनदिनै चार्ज गर्नु परेको अनुभव विभिन्न प्रयोगकर्ताहरूले शेयर गरेका छन् ।

अन्य ब्राण्ड

साओमी ब्राण्डको प्रिमियम स्मार्टवाच खोज्ने हो भने नेपाली बजारमा ‘वाच एस वान एक्टिभ’ भेटिन्छ । नेपाली बजारमा यसको मूल्य २२ हजार ९९९ रुपैँया छ । यसमा ब्लुटुथ कलिङ, डुअल ब्यान्ड जीपीएस, एनएफसी कनेक्टिभीटी, २४ घण्टा नै हेल्थ मनिटर सुविधा छ । साथै १.४३ ओमेलेड हाइ रेजोलुसन डिस्प्ले यसमा छ ।

यसको अर्को राम्रो पक्ष टिकाउ ब्याट्री हो । यसमा ४७० एमएएच क्षमताको ब्याट्री छ । कम्पनीले दाबी गरे अनुसार यो स्मार्टवाच एक पटकको चार्जमा १० देखि १२ दिनसम्म चल्छ ।

यो स्मार्टवाचमा फाइभ एटीएम वाटर रेसिस्टेन्ट छ । जसले घडीलाई पानीमैत्री बनाएको छ । साओमी नेपालमा स्थापित  ब्रान्ड भइसकेको छ । त्यसैले सस्तो मूल्यमा स्थापित ब्राण्डको प्रिमियम स्मार्टवाच लगाउने हो भने यो स्मार्टवाच राम्रो विकल्प हुनसक्छ। 

साओमीभन्दा पनि सस्तो प्रिमियम स्मार्टवाच चाहिए ‘अनर वाच फोर’ अर्को विकल्प हो । २१ हजार ९९० रुपैयाँ बजार मूल्य रहेको यो स्मार्टवाचमा १.७५ इन्च ओमेलेड डिस्प्ले छ । जसमा ६० हर्जको स्क्रिन रिफ्रेस रेट पाउन सकिन्छ । ब्याट्री ब्याकअपमा भने कम्पनीले १४ दिनको दाबी गरेको छ ।

यसमा पनि ब्लुटुथ कलिङ फिचर ‍उपलब्ध छ । अल्मुनियम केसबाट बनेको यो स्मार्टवाचमा ३०० बढी फरक फरक थिमको डायल. ८५ ओटा छुट्टै स्पोर्ट मोड, एटीएम वाटर रेजिस्टेन्ट र ४५१ एमएएच क्षमताको ब्याट्री छ ।

पछिल्लो अध्यावधिक: मंसिर ९, २०८० ११:१