close

आफ्नो बैंक खातामा आएको पैसा अर्कोमा ट्रान्सफर गर्ने जागिर ! गुम्यो उल्टै १५ लाख

टेकपाना टेकपाना

मंसिर ११, २०८० १०:४७

आफ्नो बैंक खातामा आएको पैसा अर्कोमा ट्रान्सफर गर्ने जागिर ! गुम्यो उल्टै १५ लाख

काठमाडौं । काठमाडौं सामाखुसी बस्ने २५ वर्षीया रञ्जना शर्मा (नाम परिवर्तन) पेसाले एक लेखापाल (अकाउन्टेन्ट) हुन् । बिहे हुनुअघि उनी घर नजिकैको संस्थामा लेखापालको काम गर्थिन् । बिहेपछि उनलाई उक्त संस्था टाढा पर्न थाल्यो । त्यसबाहेक वैवाहिक जीवनमा बाँधिएपछि उनीमाथि पारिवारिक जिम्मेवारी थपियो । जसले गर्दा उनले उक्त संस्था छोड्नु पर्‍यो ।

उनको समय यत्तिकै बितिरहेको थियो । न उनी घरभन्दा टाढा गएर काम गर्न सक्थिन्, न काम नगरी बस्न नै । यस्तोमा उनलाई ‘अनलाइन जब’ उपयुक्त हुन्छ भन्ने लाग्यो । 

उनले आफ्ना केही साथीहरूबाट अनलाइन जागिरबारे थाहा पाएकी थिइन् । कतै जान पनि नपर्ने, आफूलाई पायक पर्ने समयमा काम गर्न सकिने भएपछि उनलाई अनलाइन जागिर नै उपयुक्त लाग्यो र फेसबुकमा अनलाइन जागिर खोज्न थालिन् । 

उनले थुप्रै पेजहरू हेरिन्, जागिर पाउने प्लेटफर्ममा हरेक समय आफूलाई उपयुक्त हुने जागिर पाइने आशाले पेज स्क्रोल गर्न थालिन् । त्यत्तिकैमा उनलाई उपयुक्त हुने अनलाइन जागिर भेटियो । त्यसका लागि उनलाई कुनै विशेष सीप जानेको हुनुपर्ने थिएन । उनले केबल आफ्नो बैंक अकाउन्टमा आएको रकम मोबाइल बैंकिङमार्फत अर्को बैंक अकाउन्टमा पठाइदिनुपर्ने थियो ।

जागिर सजिलो थियो, उनले त्यसका लागि हरेक कारोबारमा तीनदेखि पाँच हजार तलब आउने आश्वासन पाएकी थिइन् । रञ्जनालाई त्यसरी कारोबार गरे अनुसार रकम पाउनेभन्दा पनि जागिरका रूपमा निश्चित तलब उपलब्ध गराउने भए उपयुक्त हुन्छ भन्ने लाग्यो । उनले त्यही अनुसार जागिर दिने कम्पनीलाई आफ्नो कुरा राखिन् । सो कम्पनीले पनि रञ्जनाको आवश्यकता बुझेर कामअनुसार मासिक १५ हजारदेखि २५ हजार रुपैयाँसम्म दिने भयो ।

उनले कम्पनीले मागेअनुसार आफ्ना विवरण पठाइन् । त्यसपछि उनको अकाउन्टमा पैसा आउन थाल्यो । उनी आफ्नो अकाउन्टमा आएको रकम कम्पनीका मान्छेले भनेको अकाउन्टमा ट्रान्सफर गर्थिन् । यसरी उनले १५ दिनसम्म काम गरेकी थिइन् ।

गत साता उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट फाेन आयाे र  हाजिर हुन भनियो । उनी आफ्ना श्रीमानसँग कार्यालय पुगिन् । त्यहाँ पुग्दा उनीमाथि अनलाइन ठगीकाे उजुरी परेकाे थाहा पाइन् ।

अनलाइन ठगी पर्नेले दिएका थिए उजुरी !

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका साइबर पिल्लर प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) लिलाराज डाँगीका अनुसार कार्यालयमा विभिन्न समयमा आफू अनलाइन ठगीमा परेको भन्दै उजुरी दिएका थिए ।

“पार्सल पठाउने, चिठ्ठा परेको, अनलाइन सामान डेलिभरी गरिदिने भन्दै विभिन्न उजुरी आएका थिए,” डीएसपी डाँगीले भने, “हामीले अनुसन्धान गर्दै जाँदा केही घटनामा ती महिलाको बैंक अकाउन्ट प्रयोग भएको फेला पार्‍यौं ।”

पीडितले रकम पठाएको बैंक अकाउन्टमा अनुसन्धान गर्दै जाँदा प्रहरीले सो अकाउन्ट रञ्जनाको भएको फेला पार्‍याे । उनलाई सम्पर्क गरेर बुझ्दा ती महिला पत्ता लागेपछि प्रहरीले पारिवारिक सम्बन्ध नबिग्रियोस् भन्नका लागि रञ्जनालाई उनका श्रीमानसँगै कार्यालय उपस्थित हुन अनुरोध गर्‍यो ।

रञ्जनाले पनि आफ्ना श्रीमानलाई लिएर कार्यालय पुगेकी थिइन् । कार्यालय पुग्ने बित्तिकै प्रहरीले जे भन्यो त्योसुन्दा उनी छाँगाबाट खसेझैं भइन् । उनलाई स्क्यामरले ठगी गरेको रकम पठाउने एजेन्ट बनाएका रहेछन् ।

१५ दिनको अवधिमा उनले आफ्नो अकाउन्टमा जम्मा भएको १५ लाखभन्दा बढी रकम आफूलाई जागिर दिएको भन्ने कम्पनीले भनेको अकाउन्टमा पठाइसकेकी थिइन् ।

“उजुरी परिसकेपछि कि उहाँले पीडितको रकम उपलब्ध गराउनुपर्ने थियो, कि उहाँमाथि ठगी सम्बन्धी कसुरमा मुद्दा पर्थ्यो,” डीएसपी डाँगीले भने, “उहाँले पीडितको रकम उपलब्ध गराएर मुद्दाको प्रक्रियामा जाने निधो गर्नुभयो ।” 

उनले उजुरी दिने सम्पूर्ण पीडितलाई करिब १५ लाख रुपैयाँ उपलब्ध गराइन् । त्यसपछि आफूले रकम पठाएको अकाउन्ट र रोजगारी दिएको भनेको व्यक्तिमाथि उजुरी दिइन् । पीडितलाई उद्धित गर्दै डाँगीले भने, “नेपालमा यस्ता थुप्रै अनलाइन जबहरू छन् । मोटो रकम दिएर काममा लगाउने भनेपछि मान्छेहरू विचारै नगरेर काम गरिरहेका छन् । प्रत्येक पटक कारोबार गर्दा तीनदेखि पाँच हजार रुपैयाँ दिन्छु भन्छन् ।”

अनलाइन जागिर पाउने आशामा कसैसँग नबुझेरै काममा लाग्दा आर्थिक, मानसिक र सामाजिक रूपमा मानिस विक्षिप्त हुनुपर्ने उनले सुनाए ।

“यसमा मान्छे अनलाइन स्क्याममा पर्छ, त्यसको एउटा पक्ष छ । अर्को पक्ष भनेको आफूले नपाएकै रकम बेहोर्नुपर्ने स्थिति आइलाग्छ,” उनले अगाडि भने, “आफ्नो कागजात दिनुअघि वा बैंकमा रकम आउनुभन्दा अगाडि कुन प्रयोजनका लागि कसले मागेको हो वा रकम पठाएको हो भन्ने बुझ्नुपर्छ ।”

पछिल्लो अध्यावधिक: मंसिर ११, २०८० १०:४७