close

'धुर्बे' हात्तीको रियल-टाइम लोकेसन थाहा पाउन घाँटीमा जडान गरियो स्याटलाइट प्रविधि

टेकपाना टेकपाना

मंसिर २५, २०८० १९:४५

'धुर्बे' हात्तीको रियल-टाइम लोकेसन थाहा पाउन घाँटीमा जडान गरियो स्याटलाइट प्रविधि

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली भाले हात्ती 'धुर्बे'को ​घाँटीमा स्याटलाइट रेडियो कलर प्रविधि जडान गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाली सेनाको संयुक्त टोलीले सोमबार हात्तीको रियल टाइम लोकेसन (वास्तविक समयमा रहेको स्थान) थाहा पाउन डार्ट गरेर बेहोस बनाई घाँटीमा स्याटलाइट रेडियो कलर जडान गर्नुका साथै दाह्रा काटेको हो ।

टेकपानासँग कुरा गर्दै निकुञ्जका सूचना अधिकारी तथा संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले चितवन लगायतका आसपासका क्षेत्रमा हात्तीको आक्रमणका घटना बढेपछि उक्त प्रविधि जडान गरेको बताए । "धुर्बे हात्ती बढी रिसाहा भएर जन धनको क्षति गर्ने क्रम बढेको थियो," तिवारीले भने, "आक्रामक व्यवहार कम गर्न दाह्रा काटेका हौं भने त्यो कुन ठाउँमा कस्तो अवस्थामा छ भन्ने थाहा पाउन स्याटलाइट रेडियो कलर जडान गरेका छौं ।"

तिवारीका अनुसार यसअघि दुई पटक धुर्बेकाे निगरानी गर्न त्यसको घाँटीमा रेडियो कलर प्रविधि जडान गरिएको थियो । त्यसो गर्दा एउटा एन्टिना जस्तो डिभाइस लिएर हात्तीको नजिक पुगे मात्र त्यसको बारेमा थाहा पाउन सकिन्थ्यो । अहिले भने रेडियो कलर प्रविधिभन्दा अत्याधुनिक प्रविधि 'स्याटलाइट रेडियो कलर' जडान गरिएको तिवारीको भनाइ छ ।

स्याटलाइट रेडियो कलर सोझै स्याटलाइटसँग कनेक्ट भएकाले कार्यालयबाटै हात्तीको रियल टाइम लोकेसन थाहा हुने उनले सुनाए । तिवारीले अगाडि भने, "अब हामी स्याटलाइट रेडियो कलर प्रविधिको सहायताले हात्ती कहाँ गइरहेको छ भन्ने थाहा पाउँछौं । मानव बस्तीतिर गइरहेको छ भने त्यहाँका बासिन्दालाई समयमै जानकारी दिन्छौं ।"


यसबाट हात्तीको कारण हुने सम्भावित दुर्घटना कम हुने र अन्य किसिमका क्षति पनि कम हुने निकुञ्जको विश्वास छ । निकुञ्जका अनुसार धुर्बे हात्तीले २०६६ देखि अहिलेसम्म २२ जनाको ज्यान लिएको अनुमान गरिएको तिवारीले बताए । तिहारपछि धुर्बे हात्ती गाउँमा प्रवेश गरेर घरहरू भत्काउने गरेको छ ।

पछिल्लो अध्यावधिक: मंसिर २५, २०८० २०:२०