close

२३ हजार रुपैयाँमै ४० हजार पर्ने फोनको फिचर

उष्मा अधिकारी

पुस ७, २०८० १३:१०

२३ हजार रुपैयाँमै ४० हजार पर्ने फोनको फिचर

काठमाडौं । प्रिमियम लुक्स, एमोलेड स्क्रिन, इन-डिस्प्ले फिङ्गर प्रिन्ट, ३३ वाटको फास्ट चार्जर, ५००० एमएचएको ब्याट्री र ६४ मेगापिक्सेलको मुख्य क्यामेरा भएको फोन हो, टेक्नो क्यामन २० (Tecno Camon 20) । यति धेरै फिचर भएपछि ‍लाग्नसक्छ यो पक्कै पनि अलि महँगै फोन हो ।

तर यो तपाईंले सोचेभन्दा निकै कम मूल्यमा नेपाली बजारमा उपलब्ध छ । हाल यो फोनको मूल्य जम्मा २२ हजार ९९० रुपैँया तोकिएको छ । आज हामी याे फोनको चर्चा गर्ने छौं: 

फोनमा म्याट फिनिस छ । अलि फ्युचरिस्टिक लाग्ने प्याटर्न पनि छ, जसले फोन चलाउँदा प्रिमियम महसुस गराउँछ । फोनको पछाडि डुअल क्यामेरा सेटअप छ । छेउमा एउटा फ्ल्याशलाइट पनि छ । त्यसैगरी फोनमा मिनिमम बेजल भएको ६.६७ इच्चको ओमेलेड डिस्प्ले छ, त्यसमा ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा छ । याे रेन्जकाे फाेनमा पन्च होल डिस्प्ले पाउनु प्रयाेगकर्ताका लागि खुसीको कुरा नै हो ।

फोनको दायाँ भागमा भोल्युम अप/डाउन र पावर बटन छ भने बायाँ भागमा सिम कार्ड ट्रे छ । त्यसमा दुईवटा नानो सिम स्लट र एउटा एसडी कार्ड स्लट छ । फाेनको तल्लो भागमा भने एउटा स्पिकर, टाइप-सी पोर्ट र हेडफोन ज्याक पोर्ट छ ।  

कम्पनीले फोनमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा, २ मेगापिक्सेलको डेप्थ सेन्सर र एउटा एआई क्यामेरा दिएको छ । यसका साथै क्वाड रिङ फ्ल्याश पनि उपलब्ध गराएको छ । यसको प्रयोग गरेर खिचेका फोटो निकै चहकिलो देखिन्छ ।

फोनको मुख्य क्यामेराबाट खिचिएका फोटोहरू प्राकृतिक र गुणस्तरीय देखिन्छन् । पोट्रेट मोडमा तपाईंकाे शरीरको आकार र अनुहारको ढाँचालाई परिवर्तन गरेर पनि फाेटाे खिच्न सकिने फिचर छ । यो फिचर भिडिओमा पनि प्रयोग गर्न सकिन्छ ।

यी बाहेक क्यामेरामा स्लो मोसन, भिडिओ, एआई क्याम, पोट्रेट, सुपर नाइट, प्रो, पानारोमा, टाइमल्याप्स लगायतका थुप्रै मोडहरू छन् । भिडिओको सन्दर्भमा भने ३० एफपीएस (30 fps) मा १०८० र टुके (2k)सम्मको भिडिओ खिच्न सकिन्छ । साथै १०८० मा एचडीआर सपोर्ट समेत दिइएको छ ।

सेल्फी क्यामेरा भने ३२ मेगापिक्सेलको दिइएको छ । यस क्यामेराले पनि टुके क्वालिटीकाे भिडियो खिच्ने कम्पनीको दाबी छ ।

योसँगै फाेनकाे अगाडि पनि कम्पनीले डुअल फ्ल्याश दिएको छ । त्यस्तै एआर शट फिचरबाट प्रयोगकर्ताले आफ्नो एआई अवतार बनाउन र उक्त फोटोलाई सम्पादन समेत गर्न सक्छन्, जुन निकै रमाइलो फिचर हो । 

फोनमा प्रोसेसर भने मिडियाटेक हेलियो जी८५ चिपसेट प्रयोग गरिएको छ । १२ एनएम प्रविधिमा आधारित यो चिपसेट सन् २०२० मा सार्वजनिक भएको थियो । तर जुन मूल्यमा फोन पाइन्छ, त्यसको आधारमा भने चिपसेट चित्त बुझ्दो छ । सामाजिक सञ्जाल एप चलाउन, पब्जी, फ्री फायरजस्ता गेमहरू सामान्य सेटिङमा खेल्न चिपसेटका कारण खासै समस्या हुँदैन । अथवा फोनमा दिइएको गेमिङ मोड अन गरेर गेमिङ अनुभव बढाउन सक्नुहुन्छ ।

फोनमा एलपीडीडीआर फोर एक्स (LPDDR4X) ८ जीबी र्‍याम छ । जसलाई भर्चुअल रुपमा १६ जीबीसम्म बढाउन सकिन्छ । इन्टर्नल स्टोरेज भने यूएफएस २.१, २५६ जीबी पाउन सकिन्छ । २२ हजारको फोनमा २५६ जीबीको स्टोरेज पाउनु पक्ष नै मान्न सकिन्छ । 

फोनको अर्को राम्रो पक्ष यसमा दिइएको ६.६७ इन्चको एमाेलेड डिस्प्ले हो । यसले तपाईंकाे भिडिओ हेर्ने तथा सामाजिक सञ्जालको अनुभव राम्रो बनाउँछ । तर जम्मा ६० हर्जको मात्र डिस्प्ले हुनु फोनको नराम्राे पक्ष हाे । यतिकाे रेन्जका फाेनमा ९० हर्ज डिस्प्ले सामान्य जस्तै भइसकेकाे छ । त्यस्तै फोनको अर्को आकर्षक फिचर इन-डिस्प्ले फिङ्गर प्रिन्ट सेन्सर हो । यो बजेटको फोनमा इन-डिस्प्ले फिङ्गर प्रिन्ट प्राय: दिइएको हुँदैन । 

यो फोन एन्ड्रोइड १३ मा आधारित छ । यसमा हाई ओएस पाउन सकिन्छ । कम्पनीले फोनमा पर्सनलाइजेसनको थुप्रै विकल्पहरू दिएको छ । प्रिमियम फोनहरूमा जस्तै यसमा पनि अल्वेज अन डिस्प्ले फिचर छ ।

सुरक्षाका लागि थिफ अलर्ट, एप लक जस्ता फिचर यो फोनमा छन् । थिफ अलर्ट अन्तर्गत फोन चार्जबाट झिक्दा वा एयर फोनबाट छुटाउँदा अलर्टको आवाज निस्कन्छ, जसले एयरफोन वा चार्ज गरिरहँदा चोरी हुने डर कम हुन्छ ।

फोनको अर्को आकर्षक फिचर गेस्चर हो । यो फिचरको प्रयोग गरेर तपाईंले २० सेन्टिमिटर टाढाबाट फ्रन्ट क्यामेरामा हात देखाएकै भरमा फोन उठाउन अथवा काट्न सक्नुहुन्छ । यसबाहेक फोनमा अरु थुप्रै गेस्चर छन्, जुन तपाईंलाई काम लाग्न सक्छ । 

मिड रेञ्जका फोनहरूमा पाइने एज प्यानल र स्प्लिट स्क्रिन गर्ने फिचर पनि ‍याे फाेनमा उपलब्घ छ । एज प्यानलले कुनै पनि एप खोल्नु सजिलो मात्र हुँदैन फोन चलाउँदाको तपाईंको अनुभव पनि राम्रो हुन्छ । साथै स्प्लिट स्क्रिन हुँदा मल्टिटास्क गर्दा छिटो र सजिलो हुन्छ । 

कम्पनीले ५००० एमएएचको लिथियम पोलिमर ब्याट्री दिएको छ । यसलाई चार्ज गर्न ३३ वाटको फास्ट चार्जर पाइन्छ । एक पटकको फुल चार्जमा करिब २-३ दिनसम्म ब्याट्री मजाले टिक्ने कम्पनीको दाबी छ  । 

समग्रमा २३ हजार रुपैँयामा जति फिचर र विशेषता टेक्नो क्यामन २० मा पाइन्छन्, यो निकै कम फोनमा दिइएको हुन्छ । त्यसैले यदि तपाईं आकर्षक लुक्स, राम्रो डिस्प्ले, मिड रेञ्जको जस्तो फिचर भएको बजेट फोन किन्ने सोचिरहनु भएको छ भने यो एउटा राम्रो विकल्प बन्न सक्छ ।

पछिल्लो अध्यावधिक: पुस ७, २०८० १३:२१