close

नेपालमा ग्रीन हाइड्रोजन हब निर्माण गर्न काठमाडौं विश्वविद्यालयको प्रस्ताव

टेकपाना टेकपाना

बैशाख १५, २०८१ १३:९

नेपालमा ग्रीन हाइड्रोजन हब निर्माण गर्न काठमाडौं विश्वविद्यालयको प्रस्ताव

 

काठमाडौं । नेपालमा ग्रिन हाइड्रोजन हब बनाउन काठमाडौं विश्वविद्यालयले प्रस्ताव गरेको छ । काठमाडौंको भृकुटिमण्डपमा भएको चौंथो हिमालयन हाइड्रो एक्स्पोमा विश्वविद्यालयकाे ग्रिन हाइड्रोजन ल्याबले हाइड्रोजन हबको परिकल्पना प्रस्ताव गरेको हो । 

विश्वविद्यालयका अनुसार हाइड्रोजन हब यस्तो परियोजना हो, जसमा हाइड्रोजनको उत्पादन,  भण्डारण, प्रसारण र प्रयोग यी सबै एउटै औद्योगिक सेटअपभित्र हुन्छ । अर्थात् यसमा दुई वा दुईभन्दा बढी जलविद्युत परियोजनालाई एउटा हबमा जोड्ने (विद्युत परियोजना) काम हुन्छ । 

यस अन्तर्गत ती विद्युत गृहबाट खेर गएको बिजुलीबाट हाइड्रोजन बनाउने, त्यसलाई पुन: औद्योगिक प्रयोगमा ल्याउने, एमोनिया/ग्रिन मिथेन बनाउने लगायतका काम हुन्छ ।  

यस हब अन्तर्गत 'इनर्जी सोर्स', 'हाइड्रोजन प्रोडक्सन, स्टोरेज एन्ड रि-इलेक्ट्रिफिकेसन', 'स्पेसलाइज्ड इन्डस्ट्रियल जोन', 'एमोनिया एक्सपर्ट' गरी चार भाग हुने विश्वविद्यालयले जनाएको छ । 

ती प्रत्येक खण्डमा खेर जाने बिजुलीलाई विभिन्न रुपमा हाइड्रोजन बनाइने ग्रिन हाइड्रोजन ल्याबका प्रमुख तथा उपप्राध्यापक डा. विराजसिंह थापाले बताए । 

 

 

नेपालमा छोटो दूरीमा धेरै जलविद्युत गृह छन् । ती सबैलाई एउटै ग्रिड जोड्नु हाइड्रोजन हबको लक्ष्य हो । किनकी प्रत्येक विद्युत गृहमा आफ्नै हाइड्रोजन उत्पादन उत्पादन युनिट राख्न निकै महँगो पर्ने उनको भनाइ छ । 

सोही कारण विश्वविद्यालयले पूर्व, मध्य, पश्चिम र सुदूरपश्चिममा गरी नेपालमा हाइड्रोजन हबको चार ओटा क्लस्टर राख्ने योजना बनाएको छ । एउटा क्लस्टरमा १५ देखि २० सम्म जलविद्युत गृह समेटिने उनले बताए । 

त्यसरी धेरै विद्युत गृहलाई ग्रिडको माध्यमबाट जोडेर हाइड्रोजन हब निर्माण गरिने छ । त्यसपछि हाइड्रोजन उत्पादन गर्ने, त्यसमा हाइड्रोजन बनाएर भण्डारण गर्ने, हाइड्रोजनबाट पुन: बिजुली निकालेर प्रसारण गर्ने, ग्रिन एमोनिया बनाउने, मल कारखाना बनाउने लगायतका काम हुन्छ । यसले कोइला, डिजेल लगायका जीवाष्म इन्धनबाट सञ्चालन भइरहेका उद्योगलाई विस्थापित गर्ने उनको धारणा छ । 

नेपालले सस्तोमा हाइड्रोजन उत्पादन गर्न सक्ने सम्भावना रहेकाले यो परियोजना निकै महत्त्वपूर्ण हुने उनले जिकिर गरे । अब यसमा लगानीको आवश्यकता रहेको र त्यसका लागि पहल गर्ने विश्वविद्यालयले जनाएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १५, २०८१ १३:९