close

वैज्ञानिकले आविष्कार गरे मानिसको मृत्यु हुने मिति भविष्यवाणी गर्ने एआई टुल

टेकपाना टेकपाना

पुस ९, २०८० १५:५५

वैज्ञानिकले आविष्कार गरे मानिसको मृत्यु हुने मिति भविष्यवाणी गर्ने एआई टुल

 

काठमाडौं । अमेरिका र डेनमार्कका वैज्ञानिकले मान्छेको जीवन कथालाई आधार मानी उसको निधन कहिले हुन्छ भन्ने भविष्यवाणी गर्ने एल्गोरिदम तयार पारेका छन् । यसले मानिसको दैनिक गतिविधिलाई विश्लेषण गरी उनीहरूले जीवन यापन कस्तो हुन्छ अनि कहिले निधन हुन्छ भन्ने कुरा पत्ता लगाउन सक्ने ती वैज्ञानिकहरूको दाबी छ । 

‘लाइफ टु भेक’ नाम दिइएको उक्त मोडेलले ७८ प्रतिशत सटीकताका साथ मानिसको जीवनशैली र उनीहरूको निधनको मिति भविष्यवाणी गर्ने बताइएको छ । मानिसहरूको गतिविधिलाई आधार मानी ती कुराहरू विश्लेषण गर्ने एल्गोरिदमभन्दा यो एल्गोरिदम बढी शक्तिशाली भएको वैज्ञानिकको भनाइ छ । 

च्याटबटसँग जसैगरी यो एल्गोरिदमसँग कुरा गर्न सकिने वैज्ञानिकको भनाइ छ । कुराकानीकै आधारमा यसले तपाईंबारे जे कुरा थाहा पायो, त्यसैलाई आधार मानेर पछि के हुन्छ भन्ने भविष्यवाणी गर्न सक्छ । 

यो एल्गोरिदमलाई ती वैज्ञानिकले डेनमार्कका ६० लाखभन्दा बढी मानिसहरूको जानकारीबाट तालिम दिएका छन् । विशेषगरी मानिसहरू कति आम्दानी गर्छन्, उनीहरू कस्तो काम गर्छन्, कहाँ बस्छन्, उनीहरूको शरीरमा केकस्तो चोटपटक लागेको छ र महिलाको सन्दर्भमा उनीहरू गर्भवती भए नभएको डेटा एल्गोरिदमलाई उपलब्ध गराइएको थियो । 

यिनै पक्षलाई आधार मानी यो एल्गोरिदमले व्यक्ति चाँडै मर्ने सम्भावना, र उनीहरूले आफ्नो जीवनभर गर्ने आम्दानीका बारेमा भविष्यवाणी गर्छ । मानिसको निधन छिट्टै हुनुको कारण ऊ पुरुष हुनु, उसको मानसिक स्वास्थ्यमा समस्या हुनु र उसमा विशेष किसिमको सीप हुनु हो । 

त्यस्तै लामो आयु हुनुको कारण राम्रो आम्दानी हुनु वा नेतृत्वदायी भूमिकामा हुनु हो । यी पक्षलाई समेत ध्यानमा राखी एल्गोरिदमले सटीक जानकारी दिने प्रयास गर्छ । 

जसरी च्याटजीपीटीमा प्रयोगकर्ताले गीत, कथा, कविता वा निबन्ध लेख्न निर्देशन दिन्छन्, वैज्ञानिकले लाइफ टु भेकलाई व्यक्तिबारे उसको निधन कहिले हुन्छ भनी प्रश्न सोध्न सक्छन् । 

यो एआई मोडेललाई सन् २००८ देखि २०१६ सम्मका डेटामार्फत तालिम गराइएको छ । जनसङ्ख्याको डेटाको आधारमा सन् २०२० मा निधन भएका व्यक्तिबारे यो एआई टुलले ७८ प्रतिशत सटीक भविष्यवाणी गरेको हो । 

यो मोडेललाई तालिम दिनका लागि प्रयोग गरेर मानिसको व्यक्तिगत जानकारी सुरक्षा गर्नका लागि यो टुल सार्वजनिक रूपमा उपलब्ध नगराइएको अनुसन्धानकर्ता सुने लेहमनले डेली मेललाई बताए । 

“हामी केही नतिजा अझ खुला रूपमा शेयर गर्ने तरिकामा सक्रिय रूपमा काम गरिरहेका छौं । तर यसका लागि अध्ययनमा रहेका व्यक्तिको गोपनीयताको ग्यारेन्टी गर्न सक्ने तरिकामा थप अनुसन्धान हुन आवश्यक छ,” टेक्निकल युनिभर्सिटी अफ डेनमार्कमा नेटवर्क तथा कम्प्लेक्स सिस्टमका प्रोफेसर समेत रहेका लेहमनले भने । 

यो मोडेल सार्वजनिक रूपमा उपलब्ध भए पनि डेनमार्कको गोपनीयता सम्बन्धी कानूनले उक्त मोडेलले व्यक्तिबारे गरेको भविष्यवाणीलाई गैरकानूनी मान्ने बताइएको छ । यसले विशेषगरी जीवन बीमा र अन्य किसिमका कामलाई प्रभावित पार्न सक्ने आँकलन समेत गरिएको छ ।

पछिल्लो अध्यावधिक: पुस ९, २०८० १५:५५