close

फेसबुक स्टोरीमा किन देखिँदैछन् एडल्ट फिल्मका मोडेल ?

हिक्मत आचार्य हिक्मत आचार्य

पुस २७, २०८० २०:६

फेसबुक स्टोरीमा किन देखिँदैछन् एडल्ट फिल्मका मोडेल ?

काठमाडौं । फेसबुकमा स्टोरी सेक्सन हेर्ने हो भने सामान्यतः कुनै न कुनै व्यक्तिको अकाउन्ट वा पेजको स्टोरीबाट अश्लील जस्तो देखिने तस्वीर पोस्ट भइरहेको हुन्छ । त्यसबाहेक पनि त्यस्ता अकाउन्ट वा पेजबाट असान्दर्भिक तथा अश्लील सामग्री पोस्ट भइरहेका हुन्छन् । 

तपाईंले पनि आफूले चिनेको, समाजमा राम्रै प्रभाव भएका व्यक्तिको अकाउन्ट वा वृद्धवृद्धाको अकाउन्टमा त्यस्ता सामग्री पोस्ट भइरहेको देख्नु भएको हुन सक्छ । आखिर त्यस्ता पोस्ट किन भइरहेका हुन्छन् ? कसले पोस्ट गर्छ ? ती पोस्टमा क्लिक गर्दा के कस्ता जोखिम हुन्छन्, अनि कसरी जोगिने ? आज हामी त्यही विषयमा विस्तृतमा चर्चा गर्दैछौं: 

सामान्यतः तपाईंले जसको स्टोरीमा त्यस्ता अश्लील सामग्री पोस्ट भएको देख्नु भएको हुन्छ, उनीहरूको अकाउन्ट वा पेज ह्याक भइसकेको हुन्छ । अश्लील जस्तो देखिने सामग्री चिनेकै मान्छेले राखेको छ भने किन राखेको होला भन्ने उत्सुकताले अन्य व्यक्तिमा हुनु स्वाभाविक हो । त्यही जिज्ञासाले सर्वसाधारणले स्टोरी वा पोस्टमा देखिने लिङ्क क्लिक गरिरहेका हुन्छन् ।

सामाजिक सञ्जालका अकाउन्ट रिकभर गरिदिने काममा सक्रिय राजेन्द्र अर्याल भन्छन्, “अन्य व्यक्तिलाई आफूले चाहेको लिङ्कसम्म पुर्‍याउनका लागि स्टोरी वा पोस्टमा अश्लील लिङ्क राखिरहेका हुन्छन् । मानिसहरूलाई त्यस्ता सामग्री किन राखेको होला भन्ने जिज्ञासाले नै लिङ्क क्लिक गर्न उत्सुक बनाउँछ । त्यसैले पनि स्टोरीमा अश्लील कन्टेन्ट र त्यसमा असान्दर्भिक लिङ्क राख्ने गरिन्छ ।”

अर्यालको जस्तै मत साइबर सुरक्षामा सक्रिय अर्का युवक किशोर उपाध्यायको पनि त्यही छ । “मुख्य त जिज्ञासा नै हो,” उपाध्याय भन्छन्, “त्यस्तो स्टोरीमा प्रायः फोटो मात्र राखिएको हुन्छ । भिडिओ हेर्न वा पूरा जानकारी थाहा पाउन लिङ्क क्लिक गर्न भनिएको हुन्छ । त्यसैले मान्छे अश्लील जस्तो कन्टेन्ट देखेपछि अन्धाधुन्ध क्लिक गरिदिने किसिमका हुन्छन् ।”

यसरी अश्लील देखिने पोस्ट राखिदिंदा बढी ट्राफिक पनि आउँँछ । जति धेरै ट्राफिक आयो, त्यति बढी आम्दानी गर्ने वेबसाइट पनि हुन्छन् । त्यस्ता वेबसाइट सञ्चालकले आफ्नो साइटमा ट्राफिक बढाउन अश्लील पोस्ट राख्ने गरेको साइबर सुरक्षा जानकार बताउँछन् । 

त्यस्तै कतिपय भर्खरका सिकारु हुन्छन् । फेसबुक स्टोरी वा पोस्टमा त्यस्ता अश्लील कन्टेन्ट राखिदिंदा उनीहरूको व्यक्तिगत चरित्र खराब हुन सक्छ । त्यसरी बदलाको भावना लिन वा आफूले ह्याक गरिदिएँ भन्ने देखाउन पनि अकाउन्ट ह्याक गरेर यस्ता अश्लील पोस्टहरू राख्ने गरेका घटना सतहमा आएका छन् । 

अर्याललाई अकाउन्ट रिकरभर गरिदिन भनेर आएको एउटा फेसबुक पेजमा त्यस्तै अश्लील फोटो राखिएको थियो । उक्त स्टोरीमा भएको लिङ्कमा क्लिक गर्न खोज्दा उनको कम्प्युटरमा रहेको एन्टिभाइरले सो लिङ्क एडवेयरको हो भन्ने देखायो । एडवेयर भनेको त्यस्तो भाइरस हो, जसलाई ह्याकरले पीडितको डिभाइसमा विज्ञापनको बाढी ल्याउन प्रयोग गर्छन् । यस्ता विज्ञापन बढी आउँदा जसले वेबसाइट वा एप सञ्चालन गरेको छ, उसलाई बढी फाइदा हुन्छ । त्यसैले एडवेयर फैलाउने प्रवृत्ति बढेकाे साइबर सुरक्षा जानकार बताउँछन् । 

त्यसबाहेक प्रयोगकर्ताको डेटा बिक्री गर्न पनि ह्याकरले यस्तो तरिका अपनाएका हुन्छन् । अश्लील कन्टेन्ट राखिदिंदा क्लिक गर्नेहरू धेरै हुने भएकाले ह्याकरसँग त्यति नै बढी डेटा हुन्छन् । जति बढी डेटा भयो, उनीहरूलाई त्यति नै बढी फाइदा हुन्छ । त्यसैले प्रयोगकर्ताको व्यक्तिगत जानकारी पाउन यस्ता स्क्याम लिङ्क पठाउँछन् । यस्ता डेटा उनीहरूले डार्क वेबमा बिक्री गरिरहेका हुन्छन् । डेटा खरिद गर्नेले पनि पहिचान चोरी, स्प्याम फैलाउन वा अन्य ठगीका काम गर्नका लागि डेटा खरिद गर्छन् । 

त्यसैगरी क्रिप्टोकरेन्सी स्क्यामका लागि पनि फेसबुक प्रयोगकर्ताको अकाउन्ट ह्याक हुने गरेको साइबर जानकारहरूको अनुभव छ । “उनीहरूसँग कुनै नक्कली क्रिप्टोकरेन्सी हुन्छ,” अर्याल भन्छन्, “त्यस्ता नक्कली क्रिप्टोकरेन्सी कम मूल्यमा बिक्री गर्नका लागि फेसबुक अकाउन्ट ह्याक गर्ने गर्छन् । सामान्यतः कसैले फेसबुकमा मैले यति घण्टामा यति लाख आम्दानी गरेको छु भनेर पोस्ट गरेको छ भने त्यस्तोमा क्रिप्टोकरेन्सी स्क्याम जोडिएको हुन्छ भन्ने बुझ्नुपर्ने हुन्छ ।”

कतिपय अवस्थामा अकाउन्ट ह्याक गर्न पनि स्टोरीमा अश्लील पोस्ट राखिएको हुन्छ । जसले स्टोरीमा भएको लिङ्क क्लिक गर्छन् उनीहरूको अकाउन्ट ह्याक हुन सक्छ । त्यसैले आफ्नो उद्देश्यका लागि बढीभन्दा बढी अकाउन्ट ह्याक गरेर आफ्नो कब्जामा ल्याउन ह्याकरले यस्तो तरिका अपनाउने गरेको साइबर सुरक्षा जानकारको भनाइ छ ।

कुनै पनि व्यक्तिले आफ्नो अकाउन्टमा त्यस्ता सामग्री आफैंले राखेका हुँदैनन् । उनीहरूको अकाउन्टबाट त्यस्ता सामग्री पोस्ट भएका छन् भने अकाउन्ट ह्याक भइसकेको हुन्छ । 

कसरी हुन्छ फेसबुक अकाउन्ट ह्याक ? 

सामान्यतः फेसबुक अकाउन्ट ह्याक हुनुको मुख्य कारण फिशिङ लिङ्क नै हुन्छ । फिशिङ लिङ्क भन्नाले सामान्य प्रयोगकर्तालाई झुक्याउन वास्तविक जस्तै देखिने गरी तयार पारिएको लिङ्क हो । उदाहरणका लागि तपाईंले समय समयमा विभिन्न ठूला ईकमर्श प्लेटफर्म, बैंक तथा अन्य वित्तीय संस्थाको नामबाट उपहार बाँडिरहेको भन्ने लिङ्क आएको देख्नु भएको हुनसक्छ । हो त्यस्ता लिङ्क वास्तविक जस्तो देखिने भए पनि प्रयोगकर्ताको अकाउन्ट ह्याक गर्न प्रयोग गर्ने अर्याल बताउँछन् । 

“चाडपर्व, कुनै उत्सव वा कार्यक्रमको समयमा स्क्याम लिङ्क फैलिने घटना बढी हुन्छन्,” अर्याल भन्छन्, “विभिन्न रियालिटी शोमा हामीलाई भोट गरिदिनुहोस् भन्दै सहभागीको अकाउन्ट ह्याक गरेर त्यस्ता फिशिङ लिङ्क पठाइरहेका हुन्छन् ।”

अर्यालका अनुसार प्रयोगकर्ताले आफ्नो ईमेल, फोन नम्बर वा ह्वाट्सएपमा आएको ओटीपी (वन टाइम पासवर्ड) कोड दिंदा फेसबुक अकाउन्ट ह्याक भइरहेको हुन्छ । “सबैभन्दा पहिले ह्याकरले कुनै व्यक्तिको अकाउन्ट फिशिङ लिङ्क पठाएर ह्याक गरेको हुन्छ,” अर्याल भन्छन्, “त्यही व्यक्तिको अकाउन्ट प्रयोग गरेर उक्त ह्याकरले अर्को व्यक्तिलाई मेसेज पठाउँछ । मैले ड्राइभिङ लाइसेन्सको फर्म भर्न लागेको मेरो नम्बर सपोर्ट नभएर तपाईंको राख्न लागेको भनेर नम्बर माग्छन् । अनि, त्यसमा आएको ओटीपी कोड लिएर अकाउन्ट आफ्नो पहुँचमा लिन्छन् ।”

फेसबुक अकाउन्ट ह्याक गर्न स्क्यामरले पाइरेटेड साइट प्रयोग गर्ने गरेको उपाध्यायको अनुभव छ । “भिडिओ एडिटिङ, फोटो एडिटिङ वा अन्य कामका लागि उपयोगी हुने सफ्टवेयर डाउनलोड गर्नेहरू धेरै हुन्छन्,” उपाध्याय भन्छन्, “त्यस्ता पाइरेटेड सफ्टवेयरको सहायताले पनि स्क्यामरले अकाउन्ट ह्याक गरिरहेका हुन्छन् ।

फेसबुक अकाउन्ट ह्याक गर्न सोसल इन्जिनियरिङ टुल पनि उत्तिकै प्रयोग हुने गरेको अध्ययनले देखाएको छ । सोसल इन्जिनियरिङ प्रयोगकर्ताको संवेदनशील विवरण चोरी गर्ने तरिका हो, जहाँ ह्याकरले प्रयोगकर्तासँग आफन्त जस्तो बनेर, विभिन्न उपहारको प्रलोभन देखाएर वा नक्कली सपोर्ट सेन्टर जस्तो बनेर संवेदनशील जानकारी चोरी गर्ने गर्छन् ।

किन गर्छन् फेसबुक अकाउन्ट ह्याक ?

अकाउन्ट ह्याक हुने जति सबै चर्चित व्यक्ति हुन्छन् भन्ने हुँदैन । कतिपय सामान्य व्यक्तिको अकाउन्ट पनि ह्याक भइरहेको हुन्छ । चर्चित व्यक्तिको अकाउन्ट ह्याक गर्दा त उनीहरूलाई फाइदा होला तर सामान्य व्यक्तिको अकाउन्ट ह्याक गर्दा उनीहरूलाई के फाइदा हुन्छ होला ? हो यही मानसिकताले धेरैले अनावश्यक लिङ्कमा क्लिक गरिरहेका हुन्छन् । 

ह्याकरले डेटा चोरी गर्न, स्प्याम तथा स्क्यामका घटना फैलाउन, साइबर दुर्व्यवहार गर्न, पीडितका आफन्तबाट रकम पाउनका लागि फेसबुक तथा इन्स्टाग्राम अकाउन्ट ह्याक गर्ने गर्छन् । ती सबै कार्यका लागि सर्वसाधारणदेखि ठूला चर्चित व्यक्तिहरू समेत परेका हुन सक्छन् । त्यसैले विभिन्न तरिकाले अकाउन्ट ह्याक गर्नेहरू हुन्छन् । 

अकाउन्ट ह्याक हुनबाट कसरी जोगाउने ?

सामान्यतः अनावश्यक लिङ्क क्लिक नगर्नु नै अकाउन्ट सुरक्षित राख्ने सबैभन्दा उपयुक्त तरिका हो । अधिकांश प्रयोगकर्ताको अकाउन्ट फिशिङ लिङ्कमा क्लिक गर्नाले ह्याक हुने भएकाले साइबर सुरक्षा जानकारहरु त्यस्ता लिङ्क क्लिक नगर्न र शेयर नगर्न सुझाव दिन्छन् । त्यस्तै अकाउन्ट सुरक्षित राख्नका लागि पाइरेटेड सफ्टवेयर प्रयोग गर्नु हुँदैन ।

यस्ता सफ्टवेयर कोही न कोहीले आफ्नो स्वार्थका लागि बनाउने भएकाले त्यस्ता सफ्टवेयरमा कुनै न कुनै किसिमको जोखिम हुन्छ । त्यसैगरी ओटीपी कोड शेयर नगर्दा पनि अकाउन्ट जोगाउन सकिन्छ  । कुनै पनि बहानामा चिनेकै वा अपरिचित व्यक्तिले तपाईंको डिभाइसमा आएको कोड माग्न सक्छ । तपाईंले त्यस्तो कोड कसैलाई दिनुअघि धेरै सोच विचार पुर्‍याउनु पर्ने हुन्छ । 

त्यस्तै डिभाइसमा मोड एपीके डाउनलोड गर्दा पनि अकाउन्ट ह्याक हुने जोखिम उत्तिकै हुन्छ । थर्ड पार्टी एप्लिकेसन वा वेबसाइटमा फेसबुक तथा इन्स्टाग्रामका विवरण राख्दा पनि अकाउन्ट ह्याक हुन सक्छ । यस्ता ह्याकिङका घटनाबाट सुरक्षित रहनका लागि तपाईंले सबैभन्दा पहिले टु फ्याक्टर अथेन्टिकेसन अन गर्नुपर्ने हुन्छ । जसले गर्दा तपाईंको अकाउन्टको पासवर्ड पाए पनि त्यो व्यक्तिले ओटीपी कोड नपाएसम्म लगइन गर्न सक्दैन । टु फ्याटर अथेन्टिकेसनका बारेमा थप बुझ्न यहाँ क्लिक गर्नुहाेस ।

फेसबुक अकाउन्ट कसरी सुरक्षित राख्ने भन्नेबारे हामीले यसअघि लेखेको लेख पढ्न यहाँ क्लिक गर्नुहोस् । सबैभन्दा मुख्य कुरा आफ्नो फेसबुक अकाउन्टमा रिकभरी ईमेल अकाउन्ट राख्नुहोस् । फेसबुकले तपाईंको अकाउन्ट ह्याक भइरहेको छ भने मेसेजमा नभई ईमेलमा सम्पर्क गर्न खोजेको हुन्छ । त्यसैले आफ्नो रिकभरी ईमेल राख्नुहोस् ।

रिकभरी ईमेल वा अन्य ईमेल अकाउन्ट नराखेका अकाउन्ट बिरलै रिकभर हुन्छन् । तसर्थ तपाईंले पछिल्लो समय जुन ईमेल अकाउन्ट प्रयोग गर्नु भएको छ त्यही ईमेल अकाउन्ट प्रयोग गर्नुपर्ने हुन्छ । यस्तो हुँदा तपाईंको फेसबुक अकाउन्ट रिकभर हुन सक्छ । 

त्यस्तै अकाउन्ट ह्याक भइसकेको छ भने रिकभर गर्न ईमेलबाट अपिल गर्न सक्नुहुन्छ । सामान्यतः जुन डिभाइसबाट तपाईं फेसबुक प्रयोग गर्नुहुन्थ्यो, त्यही डिभाइसमा अकाउन्ट रिकभर गर्ने थुप्रै विकल्प दिइएको हुन्छ । त्यसमा पनि तपाईंले सधैंजसो प्रयोग गरिरहने वाई-फाई नेटवर्क छ भने त्यसमा पनि फेसबुकले अकाउन्ट रिकभर गर्नका लागि विभिन्न विकल्प दिएको हुन्छ ।

अकाउन्ट रिकभर गर्ने क्रममा कागजात मागेको छ वा भिडिओ पठाउन भनेको छ भने तपाईंको प्रस्ट भिडिओ र अन्य कागजात पठाउनुपर्ने हुन्छ । यदि एक पटक तपाईंले गलत कागजात वा धमिलो भिडिओ पठाउनु भएको छ भने अर्को पटक त्यस्तो विकल्प नदेखिन सक्छ । त्यसैले अकाउन्ट रिकभर गर्दा माथि उल्लेख गरिएका विषय ख्याल गर्नुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: पुस २९, २०८० १४:१०