close

घरमै बसेर मनग्गे आम्दानी गर्न सकिने फ्रिलान्सिङ के हो, अनि नेपालमा कस्ता छन् अवसर ?

सौगात देवकोटा

माघ ११, २०८० १६:३९

घरमै बसेर मनग्गे आम्दानी गर्न सकिने फ्रिलान्सिङ के हो, अनि नेपालमा कस्ता छन् अवसर ?

इन्टरनेटको बढ्दो प्रयोगसँगै विश्व नै एउटा सानो गाउँमा परिणत भएको छ । आज संसारको जुनसुकै ठाउँमा भएको सूचनामा हामी इन्टरनेटको सहायताले घरको सानो कोठाबाटै पहुँच पाउन सक्छौं । त्यसबाहेक पनि सूचना प्रविधिको क्षेत्र यति परिष्कृत भइसकेको छ कि, केहीबाहेक अधिकांश काम गर्न कार्यालयमै पुगिरहनै पर्दैन । हो, यही सुविधाको प्रयोग गरी आफ्नो सीपमार्फत कुनै कम्पनी वा व्यक्तिसँग औपचारिक रूपमा आबद्ध नभई आफ्नो सेवा वा सीप बेच्नु 'फ्रिलान्सिङ' हो ।

हुन त इन्टरनेटको उदयपछि फ्रिलान्सिङको अर्थ र दायरा नै फराकिलो भएको छ । सामान्य अर्थमा फ्रिलान्सिङ भनेको कुनै पनि संस्थामा औपचारिक रूपमा आबद्ध नभई (कर्मचारी नभई) गरिने कामको प्रकार हो । अथवा कुनै कम्पनी वा व्यक्तिको आवश्यकता अनुसार तपाईंले सीमित समयका लागि गरिदिने अस्थायी काम नै फ्रिलान्सिङ हो ।

कतिपय कम्पनीलाई केही विशेष सीप जस्तै वेब डिजाइनिङ, ग्राफिक्स डिजाइनिङ, डिजिटल मार्केटिङ लगायतका सीप भएका व्यक्तिहरू आवश्यक पर्छन् । उनीहरूको कम्पनीमा यस्तो सीप भएका व्यक्ति सीमित समय वा आवश्यक परेको समयमा मात्र काम लाग्न सक्छन् । जसका लागि उनीहरूलाई कर्मचारीका रूपमा कम्पनीमा राखिरहन उक्त कम्पनीको आर्थिक अवस्था वा अन्य परिस्थितिले नधान्न सक्छ ।

उदाहरणका लागि कुनै कम्पनीले एउटा भव्य समारोह गर्दैछ । त्यसका लागि उनीहरूलाई निमन्त्रणा कार्ड, ब्यानर तथा प्रमाणपत्र बनाउनु पर्‍यो । एक दिनको कामका लागि कर्मचारी नियुक्त गरेर राख्न कम्पनीलाई पनि सम्भव हुँदैन । हो, यस्तो अवस्थामा ती कम्पनीले फ्रिलान्सरको खोजी गर्छन् ।

फ्रिलान्सिङमा काम गर्ने व्यक्ति स्वतन्त्र हुन्छ । उसले जुन कम्पनीको जे काम गर्दैछ त्यो बाहेक उसलाई अरू कुराको प्रवाह हुँदैन । यसमा अन्य कर्मचारीको जस्तो यति बजेदेखि यति बजेसम्म वा यो यो दिन काम गर्नुपर्छ भन्ने हुँदैन । ऊ आफूले चाहे अनुसार जसरी पनि काम गर्न सक्छ । यसमा मुख्य कुरा भनेको उसले जुन परियोजनाको जिम्मा लिएको हुन्छ त्यसलाई इमान्दारीपूर्वक सम्पन्न गर्नुपर्ने हुन्छ ।

फ्रिलान्सरले सीमित क्षेत्रका कम्पनी वा व्यक्तिका लागि काम गर्नुपर्छ भन्ने हुँदैन । फ्रिलान्सरलाई कसैले तपाईंले मेरो कम्पनीमा काम गरिरहनु भएको छ अर्को कम्पनीमा पाउनु हुन्न भन्दैन । त्यसैले उसले जुनसुकै क्षेत्रको जुनसुकै कम्पनीको काम गर्न पाउँछ । यस अर्थमा फ्रिलान्सिङमा सीप भएका व्यक्तिलाई सिमानाले रोक्दैन ।

उदाहरणका लागि नेपालमा एक जना वेब डिजाइनर छ । उक्त वेब डिजाइनरलाई जुनसुकै तरिकाको वेब डिजाइन गर्न आउँछ । यस्तोमा उसले नेपालकै कुनै मिडिया कम्पनीको वेबसाइट बनाइदिन पनि सक्छ, ब्लग पनि बनाइदिन सक्छ, होटेलको वेबसाइट पनि बनाइदिन सक्छ ।

त्यति मात्र नभइ उसले नेपाल बाहिर अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया र जापानका कम्पनीका लागि पनि उनीहरूले चाहेको जस्तो वेबसाइट बनाइदिन सक्छ । विशेषगरी स्टार्टअप कम्पनीहरूले सुरुवाती समयमा आफूलाई आवश्यक पर्ने सबै किसिमका कर्मचारी राख्न सक्दैनन् ।

ग्राफिक्स डिजाइनिङ, प्रोग्रामिङ, वेब डेभलपमेन्ट, लेखन, कपिराइटिङ, डिजिटल मार्केटिङ, फोटोग्राफी, भिडिओग्राफी, कन्सल्टिङ, भाषा अनुवाद, एनिमेसन, कन्टेन्ट क्रियसन, ई-कमर्श, कानूनी तथा वित्तिय सेवा, शिक्षण, इभेन्ट मेनेजमेन्ट आदि फ्रिलान्सिङका रूपमा गर्न सकिने पेसाहरू हुन् । यी बाहेक पनि फ्रिलान्सिङका रूपमा गर्न सकिने अन्य थुप्रै पेसाहरू छन् ।

यसअघि मैले फ्रिलान्सिङले देशको आर्थिक अवस्थामा कसरी टेवा पुर्‍याउँछ भन्ने बारे लेख लेखेको थिए । उक्त लेख पढ्न यहाँ क्लिक गर्न सक्नुहुन्छ । आज म यस लेख मार्फत फ्रिलान्सिङ, यसका अवसर र चुनौतीबारे विस्तृतमा जानकारी दिंदैछु ।

फ्रिलान्सिङका अवसरहरू के छन् ?

विशेषगरी कुनै क्षेत्रमा विज्ञता हासिल गरिसकेका व्यक्ति वा औपचारिक रूपमा कम्पनीमा कर्मचारीका रूपमा आवद्ध नभई काम गर्न चाहने व्यक्तिका लागि फ्रिलान्सिङ उपयुक्त विकल्प हो । इन्टिच्युट फर इन्ट्रिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस)का अनुसार २०२२ मा मात्र नेपालबाट ६६ हजार ५०९ जनाले आईटी सेक्टरमा फ्रिलान्सिङमार्फत सेवा दिएका थिए ।

उक्त रिपोर्टका अनुसार सो वर्ष औसत फ्रिलान्सरको आम्दानी चार हजार ७२३ अमेरिकी डलर (करिब छ लाख २८ हजार रुपैयाँ) आम्दानी गरेका थिए । सोही रिपोर्टमा २० देखि २९ वर्षका ८३.५ प्रतिशत युवा फ्रिलान्सिङमा आबद्ध भएको उल्लेख छ । यो रिपोर्टले पनि के देखाएको छ भने नेपालमा फ्रिलान्सिङको उत्साह दिनानुदिन बढ्दो छ ।

फ्रिलान्सिङ प्लेटफर्म अपवर्कका अनुसार औसत फ्रिलान्सरले प्रतिघण्टा ३० देखि ४० डलर (करिब ४ हजारदेखि साढे ५ हजार रुपैयाँ) उल्लेख गरेको छ । उक्त प्लेटफर्मका अनुसार एउटा फ्रिलान्सरले औसतमा ४२ हजार डलर (करिब ५५ लाख रुपैयाँ) आम्दानी गर्ने गरेको उल्लेख गरेको छ । फ्रिलान्सिङका अन्य अवसरहरू के के छन् भन्ने विषयमा तल चर्चा गरिएको छ । 

१) न्यून लगानी

फ्रिलान्सिङ आफ्नै कोठाबाट सुरु गर्न सकिने काम हो । यसको लागि छुट्टै कार्यालयको आवश्यकता पर्दैन । तपाईंले आफ्नै कम्प्युटर वा ल्यापटपबाटै आफ्नै कोठामा रहेर सम्पूर्ण काम गर्न सक्नुहुन्छ । यसको अर्थ तपाईंसँग भएका स्रोत साधन नै फ्रिल्यान्सिङका लागि पर्याप्त हुन्छन् ।

त्यसमा पनि तपाईं कुन सीपमा आवद्ध हुनु हुन्छ अनि तपाईंको डिभाइस उक्त काम गर्न सक्षम छ वा छैन भन्ने कुरा अगाडि आउँछ । सामान्यतः अधिकांशसँग जुन सीप छ त्यो सीपका लागि उपयुक्त हुने ग्याजेट्स उनीहरूसँगै हुन्छ । त्यसैले पनि अतिरिक्त खर्च गर्नु पर्दैन । त्यस कारण फ्रिलान्सिङ न्यून लगानीमा गर्न सकिने काम हो । 

२)  लचिलोपन र स्वायत्तता

फ्रिलान्सिङले फ्रिलान्सरलाई आफ्नो तालिका र कामको वातावरण मिलाउन अतुलनीय स्वतन्त्रता (Freedom) प्रदान गर्छ । तपाईंले विभिन्न परियोजना, ग्राहक, र तपाईंले काम गर्ने समय आफ्नो आवश्यकता अनुसार छनोट गर्न सक्नुहुन्छ ।

तपाईंले चाहेको समयमा चाहेको काम गर्न पाउँदा अवश्य पनि गुणस्तरीय समय बताउन पाइन्छ । त्यसैले फ्रिलान्सिङ स्वायत्तता भएको पेसा पनि हो ।

३)  विविध अवसर

फ्रिलान्सरहरूसँग विश्वभरका विभिन्न उद्योग तथा ग्राहकका परियोजनाको विस्तृत शृङ्खलामा पहुँच हुन्छ । यो विविधताले सीप अभिवृद्धि, विभिन्न वर्क कल्चर (कार्य संस्कृति) सँग एक्सपोजर, र व्यक्तिगत चासो अनि दृढ सङ्कल्पलाई विभिन्न परियोजनामा काम गर्ने अवसर दिन्छ ।

४)  उच्च आम्दानी सम्भाव्यता

फ्रिलान्सिङमा आम्दानीमा उतारचढाव आउन सक्छ । तर, कतिपय कम्पनीका लागि कर्मचारी राखेर काम गराउनुभन्दा फ्रिलान्सरबाट काम गराउन सस्तो पर्छ । यसका लागि उनीहरूले कर्मचारीमा खर्च गर्नुपर्ने रकम सीमित समयका लागि काम गर्ने फ्रिलान्सरलाई दिंदा सस्तो पर्छ । यता फ्रिलान्सरले नजरमा उक्त रकम छोटो समयमा आम्दानी गरेको राम्रो आम्दानी हुन्छ ।

सफल फ्रिलान्सरले प्रायः आफ्नो परम्परागत रूपमा कार्यरत समकक्षको तुलनामा उच्च कमाउने गरेको विभिन्न अध्ययनले देखाएको छ । तिनीहरूले सीप, अनुभव, र बजारको मागको आधारमा आफ्नो दरहरू कायम गर्न सक्छन् । जसले उनीहरूलाई आकर्षक आम्दानी गर्न सघाउँछ ।

५) भौगोलिक स्वतन्त्रता

फ्रिलान्सिङले भौगोलिक सीमाहरू पार गरेको हुन्छ । भन्नुको अर्थ फ्रिलान्सिङलाई कुनै भौगोलिक अवरोधले वाधा पुर्‍याउँदैन । विशेषगरी डिजिटल प्लेटफर्म र रिमोट वर्क सेटअपका साथ, फ्रिलान्सरले कुनै पनि ठाउँबाट काम गर्न सक्छन् । यसरी उनीहरूले आफ्नो देशभित्रका मात्र नभइ विदेशका कुनै पनि कम्पनीको काम गरिदिन सक्छन् ।

६) सीप विकास र सिकाइ

विविध परियोजना र ग्राहकसँग निरन्तर संलग्न हुनाले निरन्तर सिकाइ र सीप विकासलाई बढावा दिन्छ । फ्रिलान्सर नयाँ चुनौतिसँग अनुकूल हुन्छन्, नयाँ सीपहरू प्राप्त गर्छन्, र प्रतिस्पर्धी रहन उद्योग प्रवृत्तिहरूसँग अपडेट रहन्छन् ।

७)  स्वतन्त्रता र रचनात्मकता

फ्रिलान्सरसँग प्राय: कर्पोरेट संरचनाहरूको सीमा हुँदैन । जसले गर्दा उनीहरूमा अद्वितीय शैलीमा परियोजनाहरू कार्यान्वयन गर्ने रचनात्मक स्वतन्त्रता हुन्छ । यो स्वतन्त्रताले समस्या समाधान र परियोजना कार्यान्वयनमा रचनात्मकता र नवीनतालाई पोषण गरेको हुन्छ ।

८) नेटवर्किङ र व्यावसायिक वृद्धि

फ्रिलान्सिङमा नेटवर्किङ सबैभन्दा आकर्षक पक्ष हो भन्दा फरक पर्दैन । छोटो समयमा धेरै कम्पनीसँग काम गर्न सकिने हुँदा नेटवर्किङको दायरा पनि विस्तार हुँदै जान्छ । यस्तो नेटवर्किङले नयाँ अवसरहरू मात्र ल्याउँदैन त्यसका साथसाथै सल्लाह, सिकाइ, र व्यावसायिक वृद्धिलाई पनि सहज बनाउँछ ।

९) कार्य-जीवन सन्तुलन:

फ्रिलान्सरले कुनै पनि कामको जिम्मेवारी लिने क्रममा कुनै किसिमको सम्झौता लिनुपर्छ भन्ने हुँदैन । तिनीहरूले परिवारसँग समय बिताएर, आफ्नो प्यासन पछ्याएर आफूलाई उपयुक्त लागेको समयमा काम गर्न सक्छन् ।

यसरी काम गर्दा उनीहरूको स्वस्थ कार्य-जीवन सन्तुलनमा व्यापक सुधार हुन्छ । त्यति मात्र नभई उनीहरूले आफ्नो आवश्यकता अनुसार विश्राम लिनको लागि आफ्नो तालिका मिलाउन सक्छन् ।

१०) व्यक्तिगत विकास:

फ्रिलान्सिङमा आत्मअनुशासन, समय व्यवस्थापन, र मल्टिटास्किङ सीपको आवश्यकता पर्छ । अरू कसैको नियन्त्रणबाहिर रहेर काम गर्दा यी आवश्यका फ्रिलान्सर आफैले व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

समय बित्दै जाँदा, फ्रिलान्सरले आत्म-प्रेरणा, लचिलोपन, र अनुकूल क्षमताको बलियो भावना विकास गर्न सक्छन् । यसले व्यक्तिगत वृद्धि र विकासमा योगदान पुर्‍याउँछ ।

११) कर लाभ र खर्च नियन्त्रण

फ्रिलान्सरले प्रायः विभिन्न व्यापारसम्बन्धी खर्च कटौती गर्न सक्छन् । कुनै कार्यालयमा रहेर काम गर्नुपर्ने आवश्यकता नभएकाले उक्त खर्च बचाउन उनीहरू आफ्नै घरमा आवश्यक उपकरण जडान गरेर काम गर्न सक्छन् । फ्रिलान्सरका रूपमा काम गरिरहन कतै दर्ता भएको हुनुपर्छ भन्ने वाध्यता हुँदैन ।

विश्वमा यस्ता कम्पनी पनि हुन्छन् जसलाई कामसँग मात्र मतलब हुन्छ । फ्रिलान्सिङ उक्त व्यक्तिमै निहित हुने भएकाले खर्चहरूमा बढी नियन्त्रण हुन्छ । यसरी उनीहरूले आफ्नो खर्च पनि नियन्त्रण गर्न सक्छन् ।

फ्रिलान्सिङका चुनौतीहरू

फ्रिलान्सिङका अवसर मात्र नभइ चुनौतीहरू पनि उत्तिकै छन् । जति सजिलो अर्काको मातहतमा हुँदा काम गर्न सकिन्छ त्यति फ्रिलान्सरका रूपमा काम गर्दा नहुन सक्छ । फ्रिलान्सिङका थप चुनौतीहरूको बारेमा यहाँ थप चर्चा गरिएको छ ।

१) आय स्थिरता र उतारचढाव

कम्पनीमा कर्मचारीका रूपमा आवद्ध हुँदा निश्चित तलब हुन्छ । त्यसबाहेक कर्मचारीले आफ्नो क्षमता अनुसार अतिरिक्त आम्दानी पनि गर्न सक्छन् । अतिरिक्त आम्दानी नभए पनि उनीहरूले मासिक रूपमा पाउने तलब भने उही हुन्छ । तर, फ्रिलान्सिङमा त्यस्तो हुँदैन । कहिले काम बढी आएर धेरै आम्दानी होला तर कहिले साधारण खर्चाका लागि चाहिने आम्दानी पनि नहुन सक्छ ।

कहिले कामको चापै नहुन सक्छ तर कहिले कामको चापले रातभर ननिदाउने अवस्था पनि आउन सक्छ । त्यस्तै जसको परियोजना लिइएको हो उसले भनेको समयमा रकम नदिन सक्छ । फ्रिलान्सिङमा अनिश्चितता हुने भएकाले त्यही अनुसारको योजना बनाउनुपर्ने हुन्छ ।

२) आत्मअनुशासन र समय व्यवस्थापन

फ्रिलान्सिङमा आफ्नो तालिका सेट गर्ने स्वतन्त्रता हुन्छ । तर, यसमा बलियो आत्मअनुशासन र प्रभावकारी समय व्यवस्थापनको उत्तिकै आवश्यक पर्छ । परम्परागत कार्यालयको संरचना बिना, फ्रिलान्सरले समयसीमा पूरा गर्न र उत्पादकता कायम राख्न सक्रिय रूपमा आफ्नो समय व्यवस्थापन गर्नुपर्छ ।

३) ग्राहक व्यवस्थापन

फ्रिलान्सरले काम गर्ने क्रममा सधैं एउटै व्यक्ति वा संस्थाका लागि काम गर्छ भन्ने हुँदैन । यसमा विविध किसिमका ग्राहकसँग काम गर्नुपर्ने हुन्छ । भिन्न संस्कृतिका ग्राहकसँग व्यवहार गर्नु भनेको विभिन्न अपेक्षा, सञ्चार शैली, र परियोजना आवश्यकता नेभिगेट गर्नु हो । व्यावसायिकता कायम राख्दा एकै साथ धेरै ग्राहकहरू प्रबन्ध गर्न चुनौतीपूर्ण र बढी समय खर्च हुन सक्छ ।

४) व्यावसायिक जिम्मेवारी

फ्रिलान्सरले प्रशासनिक कार्यहरू, मार्केटिङ, लेखा, र ग्राहक अधिग्रहण सहित तिनीहरूको मुख्य विशेषज्ञता बाहिर विभिन्न भूमिका लिन्छन् । ग्राहकको कामका साथसाथै यी जिम्मेवारीलाई सन्तुलनमा राख्नुपर्ने हुन्छ । त्यसैले फ्रिलाल्सरमा अन्य विभिन्न सीपको आवश्यकता पर्छ ।

५) एक्लोपन

स्वतन्त्र रूपमा काम गर्दा एक्लोपन भावना उत्पन्न हुन सक्छ । परम्परागत कार्यस्थलमा पाइने नियमित सामाजिक अन्तरक्रियाको अनुपस्थितिले मानसिक स्वास्थ्यलाई असर गर्न सक्छ । यस्तोमा फ्रिलान्सरलाई सक्रिय रूपमा समुदायसँगको अन्तरक्रिया र सहयोगको आवश्यकता पर्छ ।

६) अनिश्चित बजार अवस्था

फ्रिलान्सरले बजारको उतारचढाव र परिवर्तनशील प्रवृत्तिको सामना गर्नुपर्ने अवस्था आउन सक्छ । यसले उनीहरूको सेवाको मागलाई असर गर्न सक्छ । यी परिवर्तनसँग आफूलाई अनुकूल राख्न निरन्तर सिकाइ, र आवश्यक भएमा सीपहरू विकास गर्नुपर्ने हुन्छ ।

७) कर्मचारीले जस्तो लाभ फ्रिलान्सरले नपाउन सक्छन्

फ्रिलान्सिङमा परम्परागत रोजगारी सुविधाहरू जस्तै स्वास्थ्य बीमा, भुक्तान बिदा, सेवानिवृत्ति योजनाहरू, सञ्चय कोष वा जागिर सुरक्षाको प्रतिवद्धता हुँदैन । तिनीहरूले सक्रिय रूपमा व्यक्तिगत लागतमा यी पक्ष व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

८) कामको चाप

फ्रिलान्सिङमा एकै पटक थुप्रै परियोजनाको जिम्मेवारी आउन सक्छ । त्यस्तै उनीहरूले जिम्मा लिइसकेको परियोजनालाई भनेकै समयमा सम्पन्न गर्नुपर्ने वाध्यता हुन्छ । यस्तोमा सेल्फ केयर (आत्म-हेरचाह) लाई प्राथमिकता दिन उनीहरूका लागि चुनौतीपूर्ण हुन्छ । यसले मानसिक र शारीरिक थकान निम्त्याउन सक्छ ।

९) कानूनी बाधा

फ्रिलान्सिङमा जुन कम्पनीबाट परियोजनाको जिम्मेवारी लिइएको हुन्छ उनीहरूसँग कानूनी सम्झौता नभएको हुन सक्छ । अधिकांश कम्पनीले फ्रिलान्सरलाई बिना सम्झौता कुराकानी गरेको भरमा कामको जिम्मेवारी दिएका हुन्छन् ।

यसले गर्दा पछि आइपर्ने कानूनी वाधा व्यवस्थापन गर्न सकस पर्न सक्छ । त्यसबाहेक यो क्षेत्रमा निष्पक्ष सम्झौताहरू सुनिश्चित गर्न, बौद्धिक सम्पत्ति अधिकारको संरक्षण, र स्वतन्त्र रूपमा विवाद व्यवस्थापन गर्न चुनौतीपूर्ण हुन सक्छ ।

१०) भुक्तानीको असहजता

हाम्रो जस्तो देशमा फ्रिलान्सरका लागि विदेशमा गरेको आम्दानी भित्र्याउन गाह्रो पर्न सक्छ । विशेषगरी सीमित आम्दानीमा उच्च कर र अन्य किसिमका शुल्क बुझाउँदा भने अनुसारको रकम आम्दानी नहुन सक्छ ।

त्यसबाहेक पनि विदेशी प्रचलनमा आएका भुक्तानीका माध्यमहरू नेपालमा सपोर्ट हुँदैनन् । जसले गर्दा आफूले गरेको आम्दानी सहजै आफ्नो खातामा ल्याउन चुनौतीपूर्ण हुनसक्छ ।

११) सीप सान्दर्भिकता र निरन्तर सिकाइ

प्रतिस्पर्धात्मक बजारमा सान्दर्भिक रहन फ्रिलान्सरले आफ्ना सीपहरू निरन्तर अपडेट गर्दै लग्नुपर्ने हुन्छ । फ्रिलान्सरले आज जानेको सीप भोलिको बजारका लागि पर्याप्त नहुन सक्छ । त्यसैले बजार अध्ययन गरेर त्यसैको माग अनुसार आफूलाई अपडेट गरिराख्न फ्रिलान्सरलाई चुनौतीपूर्ण हुनसक्छ । 

फ्रिलान्सिङका सन्दर्भमा आफूलाई पायक पर्ने समयमा काम गर्ने स्वतन्त्रता हुन्छ, स्वायत्तता र सीप विकासका अवसर हुन्छन् । सफल फ्रिलान्सरले आफू स्वतन्त्र रहेर पनि आफ्नो सीप विकासका लागि पर्याप्त समय छुट्याउन सकेका हुन्छन् । यसले गर्दा आम्दानी त हुन्छ नै साथसाथै उनीहरूको करियरले पनि उचित मार्गदर्शन पाउँछ ।

फ्रिलान्सिङबाट बनाएको सम्बन्धले निकट भविष्यमा उनीहरूलाई आफ्नै कम्पनी स्थापना गर्न समेत सघाउँछ । त्यसैले यसका थुप्रै अवसर छन् । तर, अवसरहरूकै भिडमा फ्रिलान्सिङका केही चुनौती पनि छन् । यसमा प्रायः निर्णयहरू स्वयं फ्रिलान्सरमा हुने भएकाले काममा प्रतिबद्ध भएर पाएको जिम्मेवारी भनेकै समयमा पूरा गर्नुपर्ने हुन्छ ।

कहिलेकाहीँ कामको चापले आफूले जिम्मा लिएको काम समयमै सम्पन्न गर्न नसक्ने अवस्था आउन सक्छ । यस्तो अवस्था आउन नदिनका लागि फ्रिलान्सिङ गर्ने व्यक्ति बेलैमा सचेत हुनुपर्छ । आफैंले आफ्नो मार्गदर्शन, दृढ सङ्कल्प र आत्मविश्वास विकास गर्नुपर्ने भएकाले समयमै तपाईँ यी कुरामा ध्यान दिनुपर्छ । यसरी चुनौतीसँग जुधेर अवसरलाई सदुपयोग गर्न सक्नुभयो भने फ्रिलान्सिङले तपाईंलाई उचाइमा पुर्‍याउँछ ।

पछिल्लो अध्यावधिक: माघ ११, २०८० १६:३९