close

क्रिकेटर ज्ञानेन्द्र मल्लको फेसबुक अकाउन्ट ह्याक

टेकपाना टेकपाना

माघ १२, २०८० १२:१

क्रिकेटर ज्ञानेन्द्र मल्लको फेसबुक अकाउन्ट ह्याक

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लको फेसबुक पेज ह्याक भएको छ । एक लाख ४० हजार बढी फलोअर भएको मल्लको भेरिफाइड फेसबुक पेज ह्याक भएको हो ।

ह्याकरले शुक्रवार पेजको नामसमेत परिवर्तन गरेका छन् । यसअघि ज्ञानेन्द्र मल्ल नाम भएको उक्त पेजको नाम अहिले ‘योर पेज ह्याज कपिराइट इस्यु, सि ह्वाई’ राखिएको छ ।

पछिल्लो समय पेजहरू कब्जा गर्ने दाउमा ह्याकरहरूले विभिन्न तरिका अपनाइरहेका छन् । सबैभन्दा पहिले ह्याकरले नक्कली पेज बनाउने र एउटा पोस्ट राख्ने गर्छन् । सो पोस्टमा तपाईंको पेजले फेसबुकको नीति उलङ्घन गरेको छ, अबको केही समयमै पेज अनपब्लिस हुन्छ, त्योभन्दा अगाडि तपाईंले पेज अनपब्लिस नगर्नका लागि अपिल गर्ने भन्दै लिङ्क राखिएका हुन्छन् ।

ती लिङ्कमा क्लिक गरेको अवस्थामा फेसबुकको जस्तै इन्टरफेस देखिन्छ । त्यहाँ इन्स्पेक्ट (Inspect) गर्न लगाएर कुकिजको विवरण राख्न भनिएको हुन्छ ।  

यदि उनीहरूले मागेको ‘सी युजर’ (C User) र अन्य डेटा उपलब्ध गराएको अवस्थामा फेसबुक अकाउन्ट उनीहरूको कब्जामा जान्छ । त्यहीबाट ह्याकरले फेसबुक पेजमा पहुँच पाउँछन् ।

यसरी कुकिजको विवरण मात्र पाउँदा अकाउन्ट त्यति सजिलै ह्याक नहुनुपर्ने अनुसन्धानकर्ताको दाबी छ । यद्यपि पछिल्लो समय फेसबुक पेज मेन्सन गरेर यसरी नै अकाउन्ट कब्जा गरिरहेको बढी घटना सतहमा आएका छन् । 

क्रिकेटर ज्ञानेन्द्र मल्लको पेजको सन्दर्भमा प्रयोगकर्ताहरू अझ बढी संवेदनशील हुनुपर्ने देखिन्छ । भेरिफाइड ब्याज भएकाले साँच्चिकै फेसबुकले नै पठाएको हो कि भन्ने हुन सक्छ । तर, फेसबुकले पेजको इनबक्समा मेसेज गरेर वा पेज मेन्सन गरेर प्रयोगकर्तालाई अकाउन्ट अनपब्लिश हुँदैछ भनेर जानकारी नदिने साइबर सुरक्षा विश्लेषकहरू बताउँछन् । तसर्थ यसरी मेन्सन गरिएका वा इनबक्समा आएका यस्ता मेसज बेवास्ता गर्न उनीहरूले सुझाव दिएका छन् ।

पछिल्लो अध्यावधिक: माघ १२, २०८० १२:१