close

च्याटजीपीटी प्रयोग गरेर लेखिएको उपन्यासले जापानमा जित्यो प्रतिष्ठित साहित्यिक पुरस्कार

टेकपाना टेकपाना

माघ १३, २०८० ९:४७

च्याटजीपीटी प्रयोग गरेर लेखिएको उपन्यासले जापानमा जित्यो प्रतिष्ठित साहित्यिक पुरस्कार

काठमाडौं । च्याटजीपीटी प्रयोग गरेर लेखिएको कृतिले जापानमा एक साहित्यिक पुरस्कार जितेको छ । जापानी लेखिका री कुदानद्वारा लिखित उपन्यास ‘द टोकियो टावर अफ सिम्प्याथी’ ले जापानको प्रतिष्ठित साहित्यिक पुरस्कार अकुतागावा जितेको हो ।

लेखिका कुदानका अनुसार यस उपन्यासको करिब पाँच प्रतिशत ‘टेक्स्ट’ एआईले तयार पारेको छ । यसका लागि उनले आफूलाई आवश्यक विषयबारे प्रम्ट लेखेर च्याटजीपीटीलाई दिएको र त्यसकै आधारमा तयार भएको ‘टेक्स्ट’उपन्यासमा राखेको जनाएकी छिन् ।

३३ वर्षीय लेखिका कुदानले आफ्नो सिर्जनालाई मूर्त रूप दिन एआईले हौसाएको समेत उनले बताएकी छिन् । ​अकुतागावा पुरस्कारका निर्णायक मण्डलहरूले भने यस किताबको प्रशंसा गरेका छन् ।

पुरस्कृत उपन्यास को मुख्य विषयवस्तु पनि एआई नै रहेको छ । उपन्यासमा भविष्यको टोकियोबारे वर्णन गरिएको छ, जहाँ रोबोट/एआईहरू जताततै छन् । त्यस्तोमा त्यहाँ रहेका मानिसहरूले तिनीहरूसँग कस्तो व्यवहार गर्छन् भन्ने कुरामा कथा बगेको छ । 

अर्कोतर्फ एआई मोडेललाई तालिम दिन आफ्नो लेखन सामग्री प्रयोग गरेको भन्दै जर्ज आर.आर. मार्टिन, जोडी पिकोल्ट, जोन ग्रिशम जस्ता चर्चित लेखकहरूले गत वर्ष च्याटजीपीटीविरुद्ध मुद्दा दायर गरेका थिए । साथै १० हजार बढी लेखकले एआई कम्पनीहरूलाई खुलापत्र लेख्दै कुनै पनि मोडेललाई तालिम दिनुअघि अनुमति लिनुपर्ने र क्षतिपूर्तिको माग राखेर आन्दोलन समेत गरेका थिए ।

 

पछिल्लो अध्यावधिक: माघ १३, २०८० १०:२