close

नेपाल टेलिकमलाई आईटी कम्पनी खोल्न सञ्चारमन्त्री शर्माको सुझाव

टेकपाना टेकपाना

माघ २२, २०८० १६:४६

नेपाल टेलिकमलाई आईटी कम्पनी खोल्न सञ्चारमन्त्री शर्माको सुझाव

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल टेलिकमलाई आईटी कम्पनी खोल्न सुझाव दिएकी छन् । सोमबार आयोजित कम्पनीको वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो सुझाव दिएकी हुन् । 

आईटी कम्पनीका साथै पूर्वाधार कम्पनी स्थापना र नमस्ते पे को व्यापार विस्तार गर्ने बारेमा आवश्यक गृहकार्य गर्न पनि टेलिकमलाई आग्रह गरिन् ।विश्व परिवेशलाई ध्यान दिएर ग्राहकहरूलाई सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने गरी आफ्नो नीति योजना तथा कार्यक्रमको सञ्चालन गर्नुपर्नेमा उनको जोड थियो ।

फोरजी सेवाको विस्तार र यसको उपयोगमा उल्लेखनीय बृद्धि गराउन, अप्टिकल फाइबर योजना यथाशीघ्र सम्पन्न गर्न र सेवाको गुणस्तर अभिवृद्धिमा जोड दिंदै मन्त्री शर्माले एफटीटीएच व्यवसायको आक्रामक विस्तार, आय चुहावटको नियन्त्रण र एसएमएस गेट-वे उचित दरमा दिने गरी विस्तार गर्न समेत आग्रह गरिन् । 

यस बाहेक कम्पनीमा भइराखेका अनुत्पादक खर्च नियन्त्रण गर्न र कम्पनीको हालको अवस्था अनुसार कम्पनीले आगामी दिनमा लिने पहलहरूमा सूक्ष्म अध्ययन गरेर बजारको अवस्था र आगामी दिनमा आइपर्ने कुराहरूलाई ध्यानमा राखी दीर्घकालीन व्यावसायिक योजना तयार पार्न पनि उनले टेलिकमलाई सुझाव दिइन् । 

शर्माले मन्त्रालयको जिम्मेवारी सम्हालेको हालै एक वर्ष पूरा भएको छ । यस अवधिमा टेलिकमको सेवामा गुणस्तर कायम गर्न नेपाल टेलिकमबाट वितरण भएका सम्पूर्ण सेवाहरूको मर्मत सम्भारलाई थप चुस्त र प्रभावकारी बनाउन बिहान ७ देखि साँझ ७ बजेसम्मको मर्मत सेवा सञ्चालन गर्ने काम भएको बताइन् ।

टेलिकमका सम्पूर्ण सेवालाई नमुना दूरसञ्चार सेवाको रूपमा विकास गर्न १९ जिल्लालाई छनौट गरिएको र सबै राजमार्गहरूमा पहुँच र गुणस्तरीय सेवा विस्तारको कार्यक्रम राखिएको समेत उनले उल्लेख गरिन् । 

साथै यो वर्ष सस्तो दरमा इन्टरनेटको अन्तर्राष्ट्रिय व्याण्डविथ सेवा खरिद भएको जानकारी दिंदै उनले आफू यत्तिमै सन्तुष्ट नरहेको बताइन् । “हासिल हुन नसकेका बाँकी उपलब्धिको कारण पहिल्याई कमीकमजोरीमा सुधार गरी थप कार्य योजना र उर्जाका साथ एकताबद्ध भएर अगाडि बढ्न आवश्यक छ,” उनले भनिन् । 

सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री शर्माले सूचना प्रविधिको आधारभूत पूर्वाधार दूरसञ्चार नै भएकाले सरकारको डिजिटल नेपालको अवधारणा कार्यान्वयन गर्न अप्टिकल फाइबर विस्तार गरी सूचना महामार्ग निर्माण गर्ने, मुलुकका सबै क्षेत्रमा दूरसञ्चार सेवाको पहुँच र गुणस्तर बृद्धि गर्ने तर्फ कम्पनीका कार्यक्रमहरू लक्षित रहेको बताइन् । 

दूरसञ्चारको क्षेत्रमा देखिने बेथिति र अन्योल हटाउन मन्त्रालयले नीति र प्रशासनिक दुवै खालका काम अघि बढाइएको उल्लेख गर्दै उनले लाइसेन्स खारेज भएका कम्पनीका सम्पत्ति व्यवस्थापन गर्ने कानुन संशोधनदेखि एनसेलको शेयर खरिद बिक्री प्रकरणमा छानबिन गरी प्रतिवेदन लिने लगायतका काम सरकारले गरेको सुनाइन् । 

 

पछिल्लो अध्यावधिक: माघ २२, २०८० १६:४६