close

काठमाडौंमा जडान भए एआई फिचरका सीसीटीभी क्यामेरा, रातको समयमा समेत स्पष्ट दृश्य देखिने

टेकपाना टेकपाना

माघ २४, २०८० ११:५०

काठमाडौंमा जडान भए एआई फिचरका सीसीटीभी क्यामेरा, रातको समयमा समेत स्पष्ट दृश्य देखिने

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र​ आर्टिफिसियल इन्टेलिजेन्स फिचर भएका सीसीटीभी क्यामेरा (क्लोज्ड-सर्किट टेलिभिजन क्यामेरा) जडान भएका छन् । महानगरले नेपाल प्रहरीसँगको सहकार्यमा अटोमेटिक नम्बर प्लेट रिकग्निसन (एनएफपीआर), फेसियल रिकग्निसन सिस्टम (एफआरएस) सहितको सीसीटीभी क्यामेरा जडान गरेको हो ।

यी क्यामेराले घटनासँग सम्बन्धित व्यक्ति तथा वस्तुको पहिचान र तिनीहरू कता गए, कसरी गए भन्ने दृश्य उपलब्ध गराउने महानगरले जनाएको छ । यस्ता विशेषता भएका क्यामेरामध्ये तीन ठाउँमा एनएफपीआर (सवारी साधन र चालकसम्बन्धी दृश्य तथा विवरण दिने) र १० ठाउँमा एफआरएस (घटनासँग सम्बन्धित व्यक्तिका बारेमा विवरण र दृश्य दिने) क्यामेरा राखिएका छन् । 

यससँगै सहरमा राखिएका सीसीटीभीको संख्या ३३५ पुगेको छ । २०७५ फागुन १५ गते सम्झौता गरेर आव २०७६/०७७ मा २५ ओटा पीटीजेड (प्यान, टिल्ट, जुम) र १४० ओटा फिक्स्ड गरेर १६५ ओटा र २०८० वैशाख ७ गते सम्झौता गरेर चालू आर्थिक वर्ष (२०८०/०८१) मा पाँच ओटा पीटीजेड, १४५ ओटा फिक्स्ड, १० ओटा एएनपीआर र १० ओटा एफआरएस गरी १७० ओटा क्यामेरा जडान गरिएका हुन् । 

हाल ठमेल क्षेत्रमा पाँच ओटा पीटीजेड र १२३ वटा फिक्स्ड क्यामेरा जडान गरिएका छन् । यस्तै नयाँ सडक क्षेत्रमा ११ वटा र रानीपोखरी आसपास क्षेत्रमा ११ ओटा क्यामेरा जडान गरिएका छन् ।  

त्यस्तै कोटेश्वर भैरव मन्दिर परिसरमा चार ओटा, महाराजगञ्जमा चार ओटा र नयाँ बसपार्क प्रवेश क्षेत्रमा दुई ओटा गरी १० ओटा एएनपीआर क्यामेरा जडान भइसकेको छ । यस्तै शान्तिबाटिका, बौद्ध गेट, पशुपति मन्दिर मुख्य प्रवेशद्वार, नयाँ बसपार्क टिकट काउन्टर, केन्द्रीय कारागार, न्युरोड गेट, काठमाडौं मल, ठमेल, विमानस्थल मुल गेट, सिंहदरबार दक्षिण ढोकामा एक-एक ओटा गरी १० स्थानमा एफआरएस क्यामेरा जडान भएका छन् ।

रात्रीकालीन दृश्यसमेत स्पष्ट हेर्न सकिने क्षमताका क्यामेरा जडान गर्ने, रात्रीकालीन उज्यालोका लागि सडक बत्ती व्यवस्था गर्ने, निगरानी कक्षका लागि छुट्टै वैकल्पिक पावर सिस्टमको व्यवस्था गरिएकाे बताइएकाे छ । 

यी क्यामेराले सवारी साधनको प्रकार, नम्बर प्लेट, रङ्ग, गाडी गुडेको रुट, चालकको अनुहार पहिचान गर्ने बताइएको छ । यसअनुसार लेन क्रस, वन वेमा प्रवेश, ट्राफिक नियम उलङ्घन गर्ने सवारी, अनधिकृत ठाउँको पार्किङ पहिचान र संकेत गर्छ । यस्तै व्यक्तिहरूको अनुहार पहिचान गर्छ । कुनै व्यक्ति खोज्नु पर्‍यो भने यसले व्यक्ति हिँडेको वा पुगेको ठाउँ देखाउँछ ।

यस्ता प्रणालीले सहरी आवागमन नियन्त्रण गर्न, अपराध नियन्त्रण गर्न, हराएका व्यक्ति पत्ता लगाउन, भागेका सवारी साधन खोज्न तथा सवारी व्यवस्थापनमा निगरानी गर्न सहज हुने प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी उपरीक्षक इञ्जिनियर दामोदर कँडेलले बताए । 

यसपछि गौशाला-चाबहिल-बौद्ध, हात्तीसार-रातोपुल-गौशाला-विमानस्थल, गौशाला - पुरानो बानेश्वर-नयाँ बानेश्वर, सोह्रखुट्टे-बालाजु, कलंकी- चाबहिल रुटमा भएका क्यामेरा मिलान र व्यवस्थापन गर्ने महानगरकाे याेजना छ ।

प्रहरी कन्ट्रोल रुमबाट निगरानी गरिने सीसीटिभीहरु क्रमशः एआइमा आधारित बनाउँदै लगिएको छ । यस अघि भिडियो म्यानेजमेन्ट सिस्टम (भीएमएस) मा आधारित थिए । अहिले एक हजार ३५२ ओटा क्यामेराको दृश्य कन्ट्रोल रुमबाट निगरानी हुँदै आएको छ ।

पछिल्लो अध्यावधिक: माघ २४, २०८० १९:४