काठमाडौँ । एनसेल फाउन्डेसनले ‘सीप मेला २०८२’ को लागि काठमाडौँ महानगरपालिकासँग साझेदारी गरेको छ । सीप विकास अन्तर्गत काठमाडौँ महानगरपालिकाले आयोजना गरेको यो सबैभन्दा ठुलो सीप विकास कार्यक्रम हो । यस कार्यक्रम अन्तर्गत, व्यवहारिक र रोजगारमुखी सीपको तालिम दिने लक्ष्य लिइएको छ ।
जसले सहभागीहरूको रोजगारी सम्भावना वृद्धि गर्दै दिगो जीविकोपार्जनमा सहयोग पुऱ्याउने अपेक्षा राखिएको छ । काठमाडौँ महानगरपालिकाले बुधबार काठमाडौँको टुंडिखेलमा दुवै पक्षबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
काठमाडौँ महानगरपालिकाको तर्फबाट सीप मेला २०८२ कार्यान्वयन समितिका संयोजक शैलेन्द्र झा र गतिशील अभियान नेपालका तर्फबाट अध्यक्ष रामजीप्रसाद पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । एनसेलको तर्फबाट एनसेल फाउन्डेसन एन्ड स्पेसल प्रोजेक्ट डाइरेक्टर, विशाखा लक्ष्मी खड्का र कर्पोरेट एन्ड रेगुलेटरी अफेयर्स डाइरेक्टर डिल्लिराम श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
"एनसेल फाउन्डेसनमा हामी सीप अभिवृद्धि नै रोजगारीको सम्भावना बढाउने र दिगो जीविकोपार्जनको आधार निर्माण गर्ने प्रमुख उपाय हो भन्नेमा विश्वास गर्छौँ । यस सहकार्यबाट युवाहरूलाई व्यवहारिक सीपहरू प्रदान गरी आजको परिवर्तनशील रोजगारी बजारमा सफल हुन सघाउने विश्वास लिएका छौँ,” विशाखा लक्ष्मी खड्काले भनिन् ।
गत ७ जेठदेखि सुरु भएको सीप मेलामा हाल १० क्षेत्रमा आधारित ३७ पेसामा २,४२४ जनालाई सीप तालिम प्रदान भइरहेको छ । यसमा आईसीटी क्षेत्रमा साइबर सेक्युरिटी, मल्टिमिडिया, डट नेट, जाभा, पीएचपी र ग्राफिक्स, डिजिटल मार्केटिङ, ड्रोन, रोबोटिक्स, फाइबर अब्टिक्स टेक्निसियन, एआई र यसको प्रयोग गरी १२ पेसा समावेश छन् ।
इलेक्ट्रिक्समा ल्यापटप रिपेयर टेक्निसियन, एसी एण्ड रेफ्रिजेरेटर, सीसीटिभी रिपेयरिङ, मोबाइल रिपेयरिङ गरी ४ ओटा पेसाको तालिम सञ्चालनमा छ । कन्स्ट्रक्सनमा इलेक्ट्रिसियन लगायतका ५ पेसाको तालिम छ । अटोमोबाइल्समा इलेक्ट्रिक भेहिकल (ईभी) मेन्टिनेन्स, हलुका सवारी साधन उपकरण मर्मत, विद्युतीय र इन्धनबाट चल्ने मोटरसाइकल र स्कुटर मर्मत गरी ३ पेसाको तालिम सञ्चालित छ ।