close

पहिलो पटक नेपाली भाषामा डोमेन प्रयोग गरिएको वेबसाइट सुरु, ईमेल पनि नेपालीमै

टेकपाना टेकपाना

जेठ ३, २०८२ १८:४२

पहिलो पटक नेपाली भाषामा डोमेन प्रयोग गरिएको वेबसाइट सुरु, ईमेल पनि नेपालीमै

काठमाडौँ । नेपाली भाषामा डोमेन प्रयोग गरिएको पहिलो वेबसाइट ‘क्यान.संगठन’ सार्वजनिक भएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले ‘युनिभर्सल एक्सेप्टेन्स’ (यूए) कार्यक्रम अन्तर्गत शनिबार सो वेबसाइट सार्वजनिक गरेको हो ।

यो प्रविधि अन्तर्गत नेपाली भाषामै वेबसाइटको यूआरएल (ठेगाना) लेख्न सकिनेछ । यसअन्तर्गत सरकारी वेबसाइटदेखि ईमेल सेवा समेतमा भाषा सहजता ल्याउने बताइएको छ ।

कार्यक्रमका समन्वयकर्ता उदीप बरालका अनुसार ‘क्यान डट संगठन’ डोमेनको वेबसाइट देवनागरी लिपिमा ‘क्यान.संगठन’ को रूपमा सार्वजनिक गरिएको हो । युनिभर्सल एक्सेप्टेन्स (यूए) को अवधारणाअनुसार स्थानीय भाषामा डोमेन र ईमेल लेख्न मिल्ने र त्यस्ता यूआरएल तथा ईमेललाई प्रणालीले स्वीकार गर्ने तयारीलाई सहयोग गर्ने उद्देश्य राखिएको उनले बताए ।

“हाम्रो कार्यक्रमको मुख्य उद्देश्य भनेको हाल वेबसाइटहरू अंग्रेजीमा प्रयोग भइरहेकोमा अब नेपालीमा पनि डोमेन उपलब्ध गराउनु हो । देवनागरी लिपि भारतले प्रयोग गरिसकेको हुनाले हामीलाई यो लिपि प्रयोग गर्न सहज छ । यसैको निरन्तरता स्वरूप हामीले क्यान डट संगठन दर्ता गरी नेपालको पहिलो नेपाली वेबसाइट सुरु गरेका छौं,” उनले टेकपानासँग भने ।

कार्यक्रमका टेक लिड राहुल शाक्यका अनुसार यदि कुनै प्लेटफर्मले देवनागरी भाषामा लेखिएको डोमेन तथा ईमेल ठेगाना स्वीकार गर्छ भने त्यसलाई यूए-रेडी (UA-ready) भनिन्छ । नेपालमा डोमेनलाई स्थानीय भाषामा परिवर्तन गर्ने यो पहल यूए ह्याकाथन २०२५ अन्तर्गत गरिएको उनले बताए । 

“नेपाली डोमेन आएपछि ईमेल पनि नेपालीमा आउँदा कस्तो होला ? अहिले राहुल डट शाक्य एट द रेट एबिसी डट कम जस्ता ईमेल एड्रेस एक्सेप्ट हुन्छन् । तर नेपालीमा लेखिएको ईमेल एड्रेस एक्सेप्ट हुँदैन । यदि ईमेललाई नेपालीमा पनि स्वीकार गर्ने हो भने त्यस्ता प्लेटफर्महरूलाई युनिभर्सल एक्सेप्टेन्स रेडी (UA Ready) भनिन्छ,” उनले भने ।

कार्यक्रममा करिब ९० जना सहभागी भौतिक रुपमा र ५० जना अनलाइनमार्फत सहभागी भएका थिए । यूए ह्याकाथनमा भने ४० जना युवाले सहभागिता जनाएका थिए । कार्यक्रमको नेतृत्व विवेक सिलवालले गरेका थिए ।

“आजको कार्यक्रममा हामीले नेपालको पहिलो नेपाली डोमेन सुरु गर्‍यौं । अब हाम्रो ध्यान अन्य प्लेटफर्महरू नेपाली भाषालाई सपोर्ट गर्न कत्तिको तयार छन् भनेर मूल्याङ्कन गर्ने र युवाहरूलाई नेपालीमा ईमेल ठेगाना प्रयोग गर्दाका नियम र प्रक्रियाहरू सिकाउनेमा केन्द्रित छ । यही उद्देश्यका साथ यूए ह्याकाथन नेपाल २०२५ आयोजना गरिएको हो,” सिलवालले भने ।

क्यान महासंघले अन्तर्राष्ट्रिय संस्था आइक्यान (ICANN) को सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गरेको हो । आइक्यानले हालसम्म विश्वका ५० भन्दा बढी देशमा युनिभर्सल एक्सेप्टेन्स दिवसका कार्यक्रम आयोजना गरिसकेको छ ।

कार्यक्रममा सहभागीहरूलाई स्थानीय भाषामा डोमेन र ईमेल बनाउने तरिका, प्लेटफर्महरूलाई कसरी यूए-रेडी बनाउने भन्ने विषयमा तालिम दिइएको थियो । यो पहलले भविष्यमा सरकारी तथा निजी संस्थाका वेबसाइटहरू पनि नेपाली भाषामै उपलब्ध गराउने सम्भावनालाई बलियो बनाएको क्यान महासंघले बताएको छ ।

पछिल्लो अध्यावधिक: जेठ ३, २०८२ १९:३६