close

अब घरमै सामान पुर्‍याउन आउनेछन् मानिसजस्तै रोबोट, अमेजनले थाल्यो परीक्षण

टेकपाना टेकपाना

जेठ २४, २०८२ १०:३१

अब घरमै सामान पुर्‍याउन आउनेछन् मानिसजस्तै रोबोट, अमेजनले थाल्यो परीक्षण

काठमाडौँ । विश्वको अग्रणी ई-कमर्स कम्पनी अमेजनले सामान घरमै डेलिभरी गरिदिने ह्युमोनोइड रोबोटको परीक्षण थालेको छ । कम्पनीले डेलिभरी म्यानले गर्ने सबै किसिमका काम गर्न सक्नेगरी डिजाइन गरिएको रोबोटको परीक्षण थालेको हो ।

इन्फर्मेसनका अनुसार अमेजनले आफ्नो सान फ्रान्सिस्कोस्थित कार्यालयमा एआईद्वारा सञ्चालित रोबोटको परीक्षण गर्न विशेष रूपमा बनाइएको बाधा-अड्चनयुक्त मैदान (अब्स्ट्याकल कोर्स) तयार पारेको छ । यी रोबोट भविष्यमा अमेजनको ‘लास्ट-माइल डेलिभरी’ प्रणालीको महत्त्वपूर्ण हिस्सा बन्ने बताइएको छ । अर्थात् यिनले सिधै तपाईंको घरको ढोकामा तपाईंले अनलाइन अर्डर गरेको सामान डेलिभर गर्न सक्नेछन् ।

रोबोटलाई नियन्त्रण गर्ने सफ्टवेयर अमेजन आफैँले निर्माण गरिरहेको छ भने यसको पाटपुर्जा अन्य रोबोटिक्स कम्पनीले आपूर्ति गरिरहेका छन् । ‘ह्युमनोइड पार्क’ नाम दिइएको यो परीक्षण स्थलमा वास्तविक जीवनमा आउने चुनौती जस्तै; भर्‍याङ, साँघुरा बाटा र ढोका बनाइएका छन् । यसले गर्दा रोबोटलाई डेलिभरी गर्दा दैनिक रूपमा आउने व्यवहारिक अड्चनमा राम्रोसँग तालिम गराउन सकिने कम्पनीको विश्वास छ । 

अमेजनले यसबारे हालसम्म आधिकारिक घोषणा गरेको छैन । तर यो विकासक्रम अटोमेसन र एआई प्रयोग गरेर डेलिभरीलाई तीव्र बनाउने कम्पनीको दीर्घकालीन दृष्टिकोणसँग मेल खान्छ । केही वर्षअघि यस कम्पनीले प्रमुख शहरमा डेलिभरीका लागि दुई दिन लगाउने गर्थ्यो भने पछिल्ला वर्षहरूमा यसलाई घटाएर एक दिन र सोही दिन डेलिभरीसम्मको सेवा कम्पनीले विस्तार गरिरहेको छ । त्यसैलाई थप तीव्र बनाउन अमेजनले ह्युमोनोइड रोबोट प्रयोग गर्न थालेको बताइएको छ । 

सन् २०२४ मा सीएनबीसीलाई दिएको एक अन्तर्वार्तामा अमेजनका यातायात प्रविधि तथा सेवाका उपाध्यक्ष स्टिभ अर्माटोले भनेका थिए, “अमेरिकाका प्रमुख ६० सहरहरूमा ६० प्रतिशत प्राइम अर्डरहरू सोही दिन वा भोलिपल्टै डेलिभरी हुन्छन् ।” उनका अनुसार एआईले ग्राहकको नजिकै सामानको भण्डारण मिलाउन मद्दत गरेर यसमा ठुलो भूमिका खेलेको छ ।

अमेजनले सन् २०२० देखि नै उत्पादनको मागको सही अनुमान लगाउन र गोदाम सञ्चालनलाई व्यवस्थित गर्न ट्रान्सफर्मरमा आधारित एआई मोडेल प्रयोग गर्न थालेको थियो । यी मोडेलले अमेजनका गोदाममा पहिलेदेखि नै प्रयोगमा रहेका रोबोटलाई एक आपसमा नठोक्किई काम गर्न मद्दत गर्छन् । सन् २०२१ देखि २०२३ को बिचमा कम्पनीका गोदाममा रोबोटको सङ्ख्या दोब्बरभन्दा बढीले वृद्धि भएको थियो ।

यो परिवर्तनसँगै केही चिन्ता पनि सतहमा आएका छन् । ईकमर्स क्षेत्रमा भएको अटोमेसनको विस्तारले मानवीय रोजगारी विस्थापित गर्नसक्ने विज्ञहरूले चेतावनी दिएका छन् । यसका साथै जेनेरेटिभ एआई प्रणालीले गर्ने ऊर्जा खपतका कारण अमेजनको वातावरणीय प्रभाव बढ्नसक्ने चिन्ता पनि बढ्दो छ ।

पछिल्लो अध्यावधिक: जेठ २४, २०८२ २१:४३