close

ईसेवाले सुरु गर्‍यो राइड शेयरिङ प्लेटफर्म ‘जुम जुम’, पहिलो ३ राइड निःशुल्क !

टेकपाना टेकपाना

माघ २७, २०८० १२:५२

ईसेवाले सुरु गर्‍यो राइड शेयरिङ प्लेटफर्म ‘जुम जुम’, पहिलो ३ राइड निःशुल्क !

काठमाडौं । नेपाली बजारमा नयाँ राइड शेयरिङ प्लेटफर्म भित्रिएको छ । चर्चित डिजिटल वालेट ईसेवाको अभिभावक कम्पनी एफवन सफ्ट ग्रुपले श्रीलंकाको राइड हेलिङ प्लेटफर्म ‘पिकमी’ सँगको प्राविधिक​ साझेदारीमा ‘जुम जुम’ नाममा यो सेवा ल्याएको हो ।

सुरुवाती चरणमा यसमार्फत बाइक राइड सेवा लिन सकिने र चाँडै नै ट्याक्सी सेवा पनि सञ्चालन गरिने कम्पनीले जनाएको छ । हाल काठमाडौं उपत्यकामा सञ्चालन भएको सेवा अन्य क्षेत्रमा पनि विस्तार गर्ने कम्पनीको योजना छ ।

यसैबीच कम्पनीले नयाँ ग्राहकका लागि अफर ल्याएको छ । ​जसअन्तर्गत "HELLOJUMJUM" वा JUMJUMCAN  प्रोमोकोड राखेर राइड बुक गर्दा सुरुको तीन ओटा राइड (अधिकतम १०० रुपैयाँ) निःशुल्क पाइनेछ । 

एफवन सफ्टले पिकमीसँग कुन सम्झौताको शर्तमा जुम जुम नेपालमा ल्याएको हो भन्नेबारे भने खुलाइसकेको छैन । हाल ईसेवा एपमा पनि 'न्यु सर्भिसेस' सेक्सनमा जुम जुम राइड शेयरिङ थपिएको छ । 

कम्पनीका अनुसार ट्रिप बुक भएलगत्तै जुम जुम प्रयोगकर्ताले बीमा सुविधा पाउनेछन् भने यात्रुले ड्राइभरका लागि एपमार्फत (नोट) मेसेज पठाउन सक्नेछन् । त्यस्तै जुम जुम एपबाट ‘वन-वे’ राइडमात्रै नभई ‘रिटर्न ट्रिप’ समेत बुक गर्न सकिनेछ ।

अर्को विशेषताका रुपमा यसमा मल्टिपल राइड बुकिङ गर्ने मिल्ने सुविधा छ । त्यस्तै कम्पनीले जुम जुम एपबाटै ईसेवामार्फत राइड शुल्क तिर्न मिल्ने व्यवस्था मिलाएको छ ।

जुम जुमको एन्ड्रोइड एप डाउनलोड गर्न यहाँ र आईओएस एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: माघ २७, २०८० १३:५९