close

एनसेलकी पहिलो नेपाली एक्टिङ सीटीओ लेना भन्छिन्ः काममा जाँदा महिला भएको कुरा बिर्सिन्छु

सञ्जीवन राई सञ्जीवन राई

फागुन २४, २०८० १५:३१

एनसेलकी पहिलो नेपाली एक्टिङ सीटीओ लेना भन्छिन्ः काममा जाँदा महिला भएको कुरा बिर्सिन्छु

काठमाडौं । काठमाडौंकी लेनाकेशरी कंसाकार अहिले नेपालको दूरसञ्चार क्षेत्रको मुख्य खेलाडी एनसेलको कायम मुकायम प्रमुख प्राविधिक अधिकृत (सीटीओ) जिम्मेवारी सम्हालिरहेकी छिन् । विदेशी लगानी भएको एनसेलमा सीटीओ तहमा पुग्ने पहिलो नेपाली पनि उनै हुन् । 

सन् २००५ मा एनसेल प्रवेश गरेकी कंसाकारले त्यहाँ आफ्ना उर्वर अनि महत्त्वपूर्ण वर्षहरू खर्चिएकी ‍छिन् । एनसेलले पनि उनको योगदानलाई कदर गर्दै नाम, दाम, सेवा सुविधा सबै दिइरहेको छ । 

दुई सन्तानकी आमा भइसकेकी उनी एनसेललाई आफ्नो पहिलो सन्तान नै मान्छिन् । किनकी उनको व्यावसायिक भविष्य र एनसेलको वृद्धि सँगसँगै भएको हो । 

अझ भन्ने हो भने, एनसेल जन्मिनु अघि नै उनी मूल कम्पनीमा जोडिएकी थिइन् । उनी एनसेलमा जोडिएको वर्ष गन्ती गर्ने हो भने झन्डै दुई दशक पुग्छ । सहायक इन्जिनियरबाट सुरु भएको उनको एनसेल यात्रा अहिले प्रमुख प्राविधिक अधिकृत जस्तो नेतृत्वदायी तहसम्म पुगेको छ ।

खासमा उनको करियर एनसेलसँगसँगै विकास भएको हो । उनले एनसेललाई बच्चा, किशोर र वयस्क तीन ओटै स्वरूपमा देखेकी छिन् । उनी एनसेलमा जोडिंदै गर्दा देशभर कम्पनीका जम्मा ४० ओटा बेस ट्रान्सिभर स्टेसन (बीटीएस) मात्र थिए । तर अहिले चार हजारभन्दा बढी बीटीएस सञ्चालनमा छन् । एनसेलले टुजीबाट थ्रीजी हुँदै फोरजी सेवा सुरु गरिसकेको छ । र अहिले आएर फाइभजी लञ्च गर्ने तयारीमा छ । एनसेलको यो सबै सफलताको पृष्ठभूमिमा उनको भूमिकाले पनि महत्त्वपूर्ण इटा थपको छ ।

एनसेलसँगको यात्रामा कंसाकार सफल हुनुमा उनको आत्मविश्वासको विशेष भूमिका छ । जस्तो सुकै काम गर्न पनि आफू सक्षम भएको आत्मविश्वासका साथ उनी निरन्तर अघि बढिरहेकी छिन् । उनको बुझाइमा सफलताको ८० प्रतिशत कारण आत्मविश्वास नै हो । सायद त्यो आत्मविश्वास नहुँदो त उनी अहिलेकी ‘लेनाकेशरी कंसाकार’ नहुन सक्थिन् ।

देशका प्रमुख कम्पनी तथा संस्थामा कंसाकार जस्ता महिला नेतृत्व तहमा नगण्य हुनु हाम्रो समाजको विडम्बना हो । उनले जसोतसो पुरुष प्रधानताको जालो तोडेर अघि बढिन् । तर लैङ्गिक विभेद र पितृसत्तात्मक सोचले गाँजेको समाजमा कंसाकार पनि त्यसको पीडाबाट अछुत रहन t कहाँ सक्थिन् र ! बाल्यकालमै लैङ्गिक विभेदको नमिठो अनुभव उनले पनि भोगेकी छिन् । त्यो विभेदले अहिलेसम्म उनलाई झस्काइरहन्छ ।

काठमाडौंमा उनको परिवार शिक्षित नै थियो । बुबा पेसाले माइनिङ इन्जिनियर र आमा ब्याचलर इन साइन्स (बीएससी) उत्तीर्ण गृहिणी । त्यस माथि उनका ‍ठूला बुबा विद्यावारिधि (पीएचडी) उपाधि प्राप्त । अनि ठूली आमा डाक्टर । 

लेनाकेशरी आमाबुबाका दुई सन्तान छोरी मध्येकी जेठी हुन् । त्यस्तोमा छिमेकीहरूले ‍बुबाआमालाई ‘छोरा जन्माउनु पर्छ’ भनेर सुनाइरहन्थे । उमेर सानै भए पनि उक्त कुराले उनलाई नराम्रो महसुस गराउँथ्यो । अनि आफैंसँग भित्रभित्रै भन्थिन्, ‘पख, म गरेर देखाउँछु ।’

त्यो विभेद उनको मनमा गडेर बस्यो । त्यससँग उनले जसरी पनि बदला लिनु थियो । त्यसकारण महिला भएकै कारण कमजोर भएको सोच उनले आफूमा कहिल्यै आउन दिइनन् । 

परिवर्तनकारी सोच राख्ने उनले आदर्श विद्यामन्दिर, लगनखेलबाट आफ्नो विद्यालय तह सकाइन् । प्लस टु भने निस्ट शान्ति ग्रहबाट पास गरिन् । त्यसपछि काठमाडौं विश्वविद्यालयमा भर्ना भइन् ।

इन्जिनियरिङमा अझै पनि पुरुषकै प्रधानता छ । उनलाई इन्जिनियरिङ अध्ययन गर्न त्यतिखेरको पुरुष प्रधान समाजले रत्तिभर प्रभाव पारेन । परिवारका सबै सदस्य शिक्षित हुनु र आफ्नै बुबा इन्जिनियर हुनुले उनलाई इन्जिनियरिङ पढ्नका लागि प्रेरणाको स्रोतको रूपमा काम गर्‍यो । तर ठ्याक्कै नेपालमै इन्जिनियरिङ पढ्ने उनको सोच भने थिएन ।

प्लस टुपछि भारतको ब्याङ्लोरमा पढ्ने योजना उनले बुनेकी थिइन् । बुबाले कलेज समेत हेरेर आइसकेका थिए । सबै कुरा निश्चित भएर उनी त्यहाँ जान निश्चित भइसकेको थियो । तर त्यहाँको कलेजले बारम्बार फोन गरेर शुल्क बढाइएको बताइरहेको थियो । कलेजको त्यो शैली उनलाई फिटिक्कै मन परेन ।

त्यसैबिच उनले बुबालाई आफू पढ्न भारत नजाने बरु नेपालमै बस्ने बताइन् । उनको प्रस्तावमा बुबा पनि सहमत भए । त्यसपछि मात्र उनी काठमाडौं विश्वविद्यालयको इलेक्ट्रिकल एन्ड कम्युनिकेसन इन्जिनियरिङमा भर्ना भएकी हुन् । 

कोर्स पढ्दै जाँदा उनले अवसरका थप दायरा थाहा पाइन् । त्यसबेला टेलिफोनमा मात्र कुरा गर्न सकिन्थ्यो । अर्कोतर्फ जहाँ गएर पनि कुरा गर्न मिल्ने सेलुर फोनको विस्तार हुँदै थियो । त्यसैबिच एक पल्ट उनले नेपाल टेलिमकममा इन्टर्नशिप गर्ने मौका पाइन् । ती सबै घटनाक्रमले उनलाई दूरसञ्चारको क्षेत्रमा नै भविष्य बनाउनु पर्छ भन्ने लागेको थियो ।

त्यसकारण स्नातक तह उत्तीर्ण हुँदै गर्दा उनले ‘अब मेरो क्षेत्र यही हो’ भन्ने निधो गरिसकेकी थिइन् । तर नेपालमा सीमित अवसर भएको कुरा पनि उनले हेक्का राखेकी थिइन् । त्यसले उनलाई थप अध्ययनका लागि विदेश जान प्रेरित गर्‍यो । 

ठीक त्यतिबेलै नेपाल टेलिकमले दरबन्दी खुलाएको थियो । जर्मनीमा स्नातकोत्तर पढ्न जाने प्रक्रिया सुरु गर्दैगर्दा उनले टेलिकममा जागिरका लागि आवेदन दिइन् । लिखित परीक्षा पनि दिइन् । तर नतिजा निस्कनु अगावै उनले जर्मनीमा पढ्न छात्रवृत्ति पाइन् । अनि टेलिकमको जागिरबारे केही नसोची जर्मनी उडिन् ।

त्यहाँ पुगेपछि मात्र टेलिकममा उनले दिएको लिखित परीक्षाको नतिजा आयो । परीक्षामा उनी उत्तीर्ण भएकी थिइन् । जर्मनी उड्नु अगावै उनले परिवार र साथीहरूलाई टेलिकमको जागिरमा आफ्नो नाम निस्कन सक्ने कुरा सुनाएकी थिइन् । नभन्दै नाम पनि निस्कियो, तर त्यस बेलासम्म उनले अर्कै बाटो रोजीसकेकी थिइन् । 

जर्मनीमा उनले इलेक्ट्रिकल एन्ड कम्युनिकेसन इन्जिनियरिङ नै पढिन् । तर उनलाई कहिल्यै लागेन कि त्यतै बसौं । चुनौती भए पनि नेपालमै काम गर्ने उनको सोच थियो । त्यही सोचले दुई वर्ष जर्मनी बसेर उनी नेपाल फिर्ता भइन् ।  

उनी स्वदेश फर्केको समयतिर ‘स्पाइस नेपाल’ सुरु भयो । कालान्तरमा त्यही स्पाइस नेपाल, मेरो मोबाइलहुँदै एनसेल बन्यो । त्यही स्पाइस नेपालले विभिन्न पदमा जागिर खोलेको थियो । कंसाकारले पनि आवेदन दिइन् । भर्खरै विदेशबाट पढेर फर्किएकी उनी असिस्टेन्ट इन्जिनियर पदमा छानिइन् । 

दूरसञ्चार त्यस्तो क्षेत्र हो, जहाँ सधैं केही न केही नयाँ नयाँ घटना भइरहन्छन् । चुनौती आइरहन्छन् । यो दुई दशकसम्म कुशलतापूर्वक ती चुनौती सामना गर्न उनलाई कम्ती गाह्रो थिएन ।

“हाम्रो क्षेत्रमा कहिले के बिग्रन्छ त कहिले के । हरेक दिन जसो कुनै न कुनै समस्या आइरहेको हुन्छ,” उनी भन्छिन्, “ती समस्या समाधान गर्नु निकै चुनौतीपूर्ण हुन्छ ।”

त्यस्ता समस्या समाधान भएपछि प्राप्त हुने खुसी भने अन्यत्र कतै नमिल्ने उनको अनुभव छ । त्यही खुसीले भविष्यमा आउन सक्ने समस्या सामना गर्न सामर्थ्य जुटाउने बताउँछिन् । त्यसैले नै होला, उनी आफूसँग कुनै एउटा सफलता नभएर सफलताको शृङ्खला भएको बताउँछिन् ।

त्यसमाथि प्रविधि कहिल्यै पनि एकलौटी हुन नसक्ने उनको तर्क छ । यस क्षेत्रमा सामूहिक कार्यको ठूलो भूमिका हुने उनी सुनाउँछिन् । “प्रविधिको क्षेत्रमा म एक्लैले काम गरेको भन्नु छु भन्नु भ्रम मात्र हो,” कम्तीमा उनी स्पष्ट छिन् ।

एनसेलको टुजी, थ्रीजी, फोरजी लञ्च र डेटा सेन्टर माइग्रेसनको कामलाई उनी आफ्नो करियरका गर्व गर्न लायक समय ठान्छिन् । ती काममा उनी सक्रिय रूपमा सहभागी थिइन् । तर एक्लै होइन, उनी सहितको समूह थियो । 

नेपालको भौगोलिक जटिलता हामी सबैलाई थाहा छ । यस्तोमा सुगम/दुर्गम दुवै ठाउँमा एनसेलले आफ्नो सेवा विस्तार गरेको छ । जहाँ जतिबेला जे पनि हुन सक्ने सम्भावना छ । तिनलाई समाधान गर्न आफ्नो प्राविधिक समूह जहिल्यै पनि अगाडि हुने कुरा उनी गर्वका साथ सुनाउँछिन् ।

“त्यति धेरै दुर्गम ठाउँमा त म जानु परेको छैन । किनकी हामी समूहमा काम गर्छौं । टिमको सफलता मेरो सफलता हो । त्यो भनेको एनसेल विस्तारै अघि जानु हो,” उनी भन्छिन् ।

यस्ता सुखका क्षण उनको जीवनमा सदाबहार भने छैनन् । एक समय व्यक्तिगत र व्यावसायिक जीवन सन्तुलन गर्न उनको लागि निकै गाह्रो काम थियो । सन् २००९/०१० तिर उनको कामको दायरा बढेको केही समय मात्र भएको थियो । त्यही बेला उनले पहिलो सन्तानलाई जन्म दिएकी थिइन् । सन्तान एक वर्ष मात्रै पुग्दै थियो, त्यही समयमा उनी स्नातकोत्तरमा वाणिज्य शास्त्र (एमबीए) समेत पढ्दै थिइन् । 

दिउँसो कार्यालय जाने, बेलुका कलेज । यो उनको दैनिकी थियो । कलेजबाट घर पुग्दा रातको ९/१० बज्थ्यो । आफ्नो सन्तानलाई व्यस्तताका कारण पर्याप्त समय दिन सकिरहेकी थिइनन् । 

अहिले फर्केर हेर्दा, त्यो समयले उनलाई अहिले पनि सताउँछ । मातृत्वको जिम्मेवारी पूर्ण रूपमा निर्वाह गर्न नसकेकोमा उनलाई ग्लानि भइरहन्छ । त्यो समय सम्झँदा उनी गम्भीर र भावुक हुन्छिन् । 

कुनै पनि जिम्मेवारीलाई आदर गरेर सही तरिकाले निर्वाह गर्नु पर्ने उनको धारणा छ । आफूले सन्तानलाई पर्याप्त समय दिन नपाएपनि त्यसताका परिवारबाट भने उनले भरपूर साथ सहयोग पाइन् ।

“दु:खेसो आफ्नो ठाउँमा छ, तर म नहुँदा पनि बाबुलाई परिवारका अन्य सदस्यले निकै ख्याल गर्नु भयो । खुसी लाग्छ, श्रीमान् र परिवारबाट सहयोग आउने वातावरण बनाएकी थिएँ,” उनी भन्छिन् ।

यसकारण कुनै पनि जिम्मेवारीमा सहयोग आउने माध्यम आफूले तयार पार्नु पर्ने उनी बताउँछिन् । चाहे त्यो घरमा होस् वा कार्यालयमा अथवा साथीभाइमा नै किन नहोस् । तर त्यस्तो वातावरण सजिलै नबन्ने कुरामा उनी प्रस्ट छिन् । यद्यपि सहयोग पाउने वातावरण बनाउन उनले निकै कठिन मेहेनत गर्नु पर्‍यो । तब न अप्ठ्यारो परिस्थितिमा पनि उनले सहयोग पाइन् ।

परिवार, काम र पढाइलाई सन्तुलन गर्न नसकिरहेको समयमा पनि आफू अघि बढिरहन सक्नुमा बलियो सहयोगी समूहको हात रहेको उनको भनाइ छ । “म समूहसँग निर्भर हुन्छु, समूह मसँग निर्भर हुन्छ,” उनी भन्छिन्, “यसकारण समूह बलियो हुनु पर्छ जस्तो मलाई लाग्छ । समूहमा सुरुमा आफूले दिने अनि मात्र लिने हो ।”

दोस्रो सन्तानको हकमा भने उनले पहिले झैं समस्या भोग्नु परेन । यसमा उनी आफू कार्यरत रहेको कम्पनी एनसेललाई पनि जस दिन्छिन् । उनको भनाइमा गर्भवती वा सुत्केरी महिलाका लागि एनसेल अलि बढी खुला छ । “म नौ महिनासम्म पेटमा बाबु बोकेर जाँदा होस् वा बच्चा जन्माएर चार महिनापछि काम गर्न कार्यालय फर्किंदा, दुवै समयमा कुनै फरक हुँदैन,” उनी भन्छिन्,  “चार महिना घर बसेर आई भनेर कसैले हेप्दैनन् । एनसेलमा सम्मानको संस्कृति भएकाले त्यसो भएको हो ।”

अहिले पनि नेपाली समाजमा महिलामाथिका केही कथन गलत अभ्यासका रूपमा चल्तिमा छन् । जस्तो: महिलाले सबैलाई खुसी पारेर अघि बढ्नु पर्छ । खुलेआम कसैले नबताएपनि परम्परागत सोचाइ राख्ने जमातमा यो सोचाइ व्याप्त छ । यस सोचाइलाई उनी कडा रूपमा प्रतिकार गर्छिन् । काम गर्न सक्दिनँ भन्ने लागे सम्बन्धित पक्षलाई कारण सहित उनी स्पष्ट पार्छिन् । तर अनुमान गर्न छाड्ने अथवा खुसी पार्ने तिर लाग्ने काम भने उनी गर्दिनन् ।

आफ्नो यस प्रकारको व्यवहारसँग वरपरका मान्छेहरू परिचित भएको उनी सुनाउँछिन् । यसकारण पनि अरूलाई जसरी पनि खुसी पार्नु पर्छ भन्ने बाध्यता उनमा कत्ति पनि छैन ।

स्नातक पूरा गरेपछि उनी एउटा कम्पनीमा जागिरका लागि अन्तर्वार्ता दिन पुगेकी थिइन् । आत्मविश्वासका साथ पुगेकी उनको अन्तर्वार्ता पनि राम्रै भइरहेको थियो । त्यसै क्रममा ‘टावर चढ्न सक्छौं’ भनेर उनलाई सोधियो । त्यो प्रश्नलाई उनले महिला भएकै कारण उक्त काम गर्न नसक्ने रूपमा आफूलाई लिइएको अर्थमा बुझिन् । त्यसबेला आफूलाई उक्त प्रश्न नगरेर सोझै टावर चढ्न लगाएको भए हुन्थ्यो भन्ने उनलाई लागेको थियो । ‘चढ्न सक्छु, अवसर त दिनुहोस्’ भनेर उनले जवाफ फर्काइन् । सायद उनको खरो जवाफकै कारण हुन सक्छ, जागिरमा उनी छनोट भइनन् ।

उक्त व्यवहार आफू महिला भएकै कारण भोग्नु परेको उनी सुनाउँछिन् । भविष्यमा पुन: त्यस्तो घटना दोहोरिन नदिन विद्यालय तहदेखि नै महिलाहरूलाई सशक्तीकरण गर्नु पर्ने उनको धारणा छ ।

उनको कामको क्षेत्र प्रविधि हो । तर उनी आफैं यस क्षेत्रमा काम गर्ने वातावरण महिलामैत्री हुन समय लाग्ने धारणा राख्छिन् । अझ त्यसमाथि यस क्षेत्रमा काम गर्न कमै महिला आउने उनी बताउँछिन् । त्यस्तो परिस्थिति अन्त्यका लागि ‘म गर्न सक्छु’ भनेर महिला स्वयं अघि सर्नु पर्ने उनको विचार छ ।

“महिला-पुरुषबिचमा कामको विभेद प्रस्टै देखिन्छ । यो समस्या समाधान गर्न आफूभन्दा बाहिर (सरकार, परिवार)लाई जिम्मा दिएर हुँदैन,” उनी सुनाउँछिन्, “यसका लागि महिला स्वयं अगाडि आउनु पर्छ । महिलाले ‘म सक्दिनँ’ भनेर सोच्नै हुन्न । जब एक पाइला अगाडि सारिन्छ, त्यसपछिको बाटो आफैं तयार हुन्छ ।”

समाजमा रहेका यस्ता समस्या नीतिगत सुधार गरेर जादुमयी तरिकाले हल हुन नसक्ने धारणा कंसाकारको छ । बरु विद्यालयमै महिलाहरूलाई प्रविधिको क्षेत्रमा काम गर्न कतै गाह्रो हुन्न भन्नेमा ढुक्क गराउन लाग्नु पर्ने उनको भनाइ  छ । 

उनी स्वयं काम गरिरहेको क्षेत्र/कम्पनीमा ८०/९० प्रतिशत सहकर्मी पुरुष छन् । उनी आफैं भने काममा जाँदा आफ्नो लिङ्ग (जेन्डर) कतै छाडेर जाने बताउँछिन् । जेन्डर बोकेर काममा जाँदा न्याय गर्न नसकिने उनको विचार छ । 

जे जसरी भए पनि उनी  स्वयं अहिले निर्णय लिने ठाउँमा पुगेकी छिन् । त्यसमा जिम्मेवारी पनि उस्तै प्रकारको छ । घरमा हुँदा भने उनी हत्तपत्त कार्यालयको काम गर्दिनन् । यो उनको एक प्रकारको व्यवहार नै हो । तर प्रविधिको क्षेत्रमा भएकाले कहिले काहिं उनको यो व्यवहार पूर्ण रूपमा लागु हुन पाउँदैन । उनले काम गरिरहेको क्षेत्रमा जहिल्यै जे पनि घट्न सक्ने भएकाले आवश्यक परिस्थिति सिर्जना हुँदा उनी पुगिहाल्छिन् ।

प्रविधि क्षेत्रमा काम गरिरहेको भए पनि उनी सामाजिक सञ्जालमा भने निष्क्रिय देखिन्छिन् ।  उनको न फेसबुक अकाउन्ट छ न त इन्स्टाग्राम । लिङ्क्डइन अकाउन्ट भए पनि वर्षौंदेखि अपडेट छैन । सामाजिक सञ्जाल नचलाउनुलाई उनी आफ्नो व्यक्तिगत रुचिका विषय बताउँछिन् । उनका लागि सामाजिक सञ्जाल आकर्षक छैनन् ।

 

खैर, प्रविधिले कहिल्यै पनि मान्छेलाई कुनै प्रकारको भेदभाव नगर्ने उनको बुझाइ छ । भेदभाव मान्छेको सोचाइबाट उब्जन्छ । उनकै भनाइमा महिलाका लागि एउटा र पुरुषका लागि अर्को प्रविधि हुँदैन । 

त्यस्तै प्रविधिको प्रयोगकर्ताको हकमा महिला र पुरुषमा अन्तर नभएको उनी बताउँछिन् । तर हिचकिचाहटका कारण महिलाहरू आफैं यस क्षेत्रको पहिलो पङ्क्तिमा जान नसकेको उनको अनुमान छ ।

“छोरी मान्छेका लागि यो काम हो, यो होइन भनेर सोच्नु हुँदैन । अवसर सबैलाई बराबर छ । महिलाले  प्रविधिको पहिलो पङ्क्तिमा बसेर समेत काम गर्न सक्छन् । यसमा कुनै सीमा छैन । तर आफ्नो सोचाइलाई अलि रणनीतिक बनाउनु पर्छ । मात्र आफ्नो पहिलो पाइला चाल्नुपर्छ,” उनी सुनाउँछिन् ।

उनले यसो भन्दै गर्दा नयाँ पुस्ताका महिलालाई आफ्नो क्षेत्रमा आउन हौस्याउन छुटाउने कुरै भएन । प्रविधिको क्षेत्र चुनौतीपूर्ण भएपनि काम गर्न रमाइलो हुने उनको अनुभव छ । चुनौती मात्र हेरेर तर्कि‍न‍ नहुने भन्दै उनी चुनौती भनेकै समाधान गर्न सकिने कठिन परिस्थिति मात्र भएको बताउँछिन् । चुनौती समाधान पछिको आनन्द बेग्लै हुने र त्यस्तो खुसी अन्त कतै नपाइने भन्दै कंसाकार महिलाहरूलाई प्रविधि क्षेत्रमा आउन सल्लाह दिन्छिन् । “फेरि चुनौती नआएसम्म सामना गर्ने ज्ञान पनि त हुँदैन,” उनी भन्छिन् ।

चुनौतीलाई अवसरका रूपमा हेर्नु पर्ने र यसले नष्ट वा कमजोर नभई उल्टै मजबुत बनाउने उनको भोगाइको निष्कर्ष हो । सबै महिलालाई उनको सरल सुझाव छ, ‘काम गर्न सक्दिनँ भन्नु भन्दा एक पटक कोसिस गरौं ।’

पछिल्लो अध्यावधिक: फागुन २८, २०८० २१:५२