close

शार्क ट्याङ्कका अमन गुप्ताका कारण विश्वकै दोस्रो ठूलो अडिओ ब्रान्ड बन्यो ‘बोट’

टेकपाना टेकपाना

फागुन २७, २०८० १५:४४

शार्क ट्याङ्कका अमन गुप्ताका कारण विश्वकै दोस्रो ठूलो अडिओ ब्रान्ड बन्यो ‘बोट’

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार भारतका विभिन्न कन्टेन्ट क्रियटरलाई विभिन्न विधामा अवार्ड प्रदान गरे । नेसनल क्रियटर्स अवार्डमा देशभरका कन्टेन्ट क्रियटर विभिन्न २३ क्याटेगरीमा सम्मानित भए ।

त्यही सम्मान पाउनेमध्ये एक हुन् अमन गुप्ता । उनलाई प्रधानमन्त्री मोदीले ‘सेलिब्रेटी क्रियटर अफ दि इयर’ अवार्डबाट सम्मान गरे ।

गुप्ता भारतको चर्चित बिजनेस शो ‘शार्क ट्याङ्क इन्डिया’का शार्क हुनुका साथै भारतीय वेयरेबल ब्रान्ड ‘बोट’का सहसंस्थापक हुन् । अवार्ड पाउँदा गुप्ताले भारतीय प्रडक्टलाई विश्व बजारमा बिक्री गर्ने योजना रहेको बताए ।

मेक इन इन्डिया कार्यक्रमले आफ्नो ब्रान्डलाई विश्वको सबैभन्दा दोस्रो ठूलो अडियो ब्रान्ड बनाउन सघाएको उनको भनाइ छ । “जब हामीले २०१६ मा स्टार्टअप सुरु गर्दा कसैले पनि हामीलाई गम्भीरतापूर्वक लिएन,” उनले भने, “त्यसको सात वर्षपछि हामी विश्वको दोस्रो ठूलो अडियो ब्रान्ड बनेका छौं ।

कोभिड सङ्क्रमण फैलिनुअघि बोटका प्रडक्ट भारतमा बन्दैनथे । अहिले भने बोटका ७० प्रतिशतभन्दा बढी प्रडक्ट भारतमै बनेको उनको भनाइ छ ।

भारतबाट निर्यात हुने वेयरेबल प्रडक्टको सङ्ख्या २०२३ मा ३५ प्रतिशतले बढेको थियो । यता बोटले भने वार्षिक ३९ प्रतिशत वृद्धि दरका साथ आफ्नो बजार विस्तार गरिरहेको छ ।

सस्तो र भरपर्दो स्थानीय ब्रान्ड भएकाले भारतमा यो ब्रान्ड बढी रुचाइएको छ । बोट अडियो ब्रान्ड मात्र नभई स्मार्ट वाचको क्षेत्रमा पनि अगाडि छ ।

पछिल्लो अध्यावधिक: फागुन २७, २०८० १५:४४