close

क्यूआरबाट हुने भुक्तानी एक वर्षमा ११२ प्रतिशतले बढ्यो

टेकपाना टेकपाना

फागुन २९, २०८० १५:३६

क्यूआरबाट हुने भुक्तानी एक वर्षमा ११२ प्रतिशतले बढ्यो

काठमाडौं । एक वर्षको अवधिमा क्यूआर माध्यमबाट हुने भुक्तानी ११२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत वर्ष माघको तुलनामा यस वर्ष क्यूआरमार्फत हुने भुक्तानी उल्लेखनीय रूपमा बढेकाे हाे । 

केन्द्रीय बैंकले निकालेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार २०७९ को माघ महिना (जनवरी-फेब्रुअरी २०२३) मा क्यूआरमार्फत १७ अर्ब ७६ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । माघ २०८० मा भने कारोबारको रकम बढेर ३७ अर्ब ७३ करोड ३४ लाख रुपैयाँ क्यूआर माध्यमबाट भुक्तानी भएको छ । अर्थात् एक वर्षको अवधिमा क्यूआर कोडमार्फत हुने भुक्तानी ११२.४०६ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै २०७९ को माघमा वालेटबाट १७ अर्ब ११ करोड ८० लाख रुपैयाँ बराबरको भुक्तानी भएको थियो । २०८० को माघ महिनामा भने वालेटबाट हुने कारोबार रकम बढेर २३ अर्ब ८७ करोड २० लाख रुपैयाँ पुगेको छ । अर्थात् एक वर्षको अवधिमा वालेटबाट हुने कारोबार ३९.४६ प्रतिशतले बढेको छ । 

तथ्याङ्कले ईकमर्सबाट हुने कारोबार पनि बढेको देखाएको छ । माघ २०७९ मा ईकमर्सबाट ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।माघ २०८० मा ईकमर्सबाट ६५ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

पछिल्लो समय इन्टरनेट बैंकिङमार्फत हुने कारोबार कहिले बढ्ने र कहिले घट्ने गरेको देखिएको छ । तर, एक वर्षको अवधिमा भने इन्टरनेट बैंकिङमार्फत हुने कारोबार तुलना गर्ने हो भने भुक्तानीको रकम बढेको देखिन्छ । माघ २०७९ मा इन्टरनेट बैंकिङमार्फत १२ अर्ब २९ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । माघ २०८० मा भने इन्टरनेट बैंकिङमार्फत १३ अर्ब ३७ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अर्थात् एक वर्षको अवधिमा इन्टरनेट बैंकिङमार्फत हुने कारोबार १२.१७ प्रतिशतले बढेको छ । 

त्यस्तै मोबाइल बैंकिङमार्फत हुने कारोबार एक वर्षको अवधिमा ६८.१३ प्रतिशतले बढेको छ । माघ २०७९ मा उक्त माध्यमबाट एक खर्ब ७२ अर्ब ११ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । माघ २०८० मा भने दुई खर्ब ८९ अर्ब ३८ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, राष्ट्र बैंकको तथ्याङ्कले कनेक्ट आईपीएसमार्फत हुने कारोबारको सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि भएको देखाएको छ । माघ २०७९ मा कनेक्ट आईपीएसबाट तीन खर्ब २८ अर्ब तीन करोड ४० लाख रुपैयाँको कारोबार भएको थियो । माघ २०८० मा यस माध्यमबाट हुने कारोबार रकम चार खर्ब ५२ अर्ब ७१ करोड ८० लाख रुपैयाँ पुगेको छ । यसरी एक वर्षको अवधिमा कनेक्ट आईपीएस मार्फत हुने भुक्तानी ३८ प्रतिशतले बढेको हाे ।

 

पछिल्लो अध्यावधिक: फागुन २९, २०८० १९:३९