close

राष्ट्रिय आविष्कार केन्द्रले बनायो दुधबाट खुवा बनाउने मसिन, मूल्य ९० हजार

टेकपाना टेकपाना

बैशाख २०, २०८१ १३:५३

राष्ट्रिय आविष्कार केन्द्रले बनायो दुधबाट खुवा बनाउने मसिन, मूल्य ९० हजार

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले दुधबाट खुवा बनाउने मसिन तयार पारेको छ । दुग्ध व्यवसायी, मिठाइ पसले लगायतलाई लक्षित गर्दै केन्द्रले यस्तो मसिन तयार पारेको हो ।  यसअघि फलामको पाता प्रयोग गरी बनाइएकोमा अहिले फुड ग्रेड स्टेनलेस स्टीलबाट खुवा बनाउने मसिन बनाइएको आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले जानकारी दिए ।

पुनका अनुसार दुध उमाल्न ग्यासको प्रयोग गर्नुपर्ने र भाडा घुमाउन बिजुली चाहिन्छ । यसमा ६० लिटर दुधको खुवा बनाउन सकिन्छ ।  यसअघि आविष्कार केन्द्रले बनाएका १४ ओटा यस्तै मसिन बिक्री भइसकेका छन् ।

यो मसिनमा एक वर्षको पूरा ग्यारेन्टी दिइएको छ । ‘‘भारत, चीनबाट भित्रिने खुवा बनाउने मसिनमा कुनै वारेन्टी हुँदैन । बिग्रिए ग्राहक आफैंले मिस्त्री खोजेर बनाउनुपर्छ,’’ पुनले टेकपानासँग भने, ‘‘हामीले बनाएको मसिनमा एक वर्षको पूर्ण ग्यारेन्टी छ । बिग्रिए हामी आफैं बनाइदिन्छौं, नत्र नयाँ मसिन दिन्छौं ।’’

यो मसिनले साढे २ घण्टामै खुवा बनाउने पुनको भनाइ छ । ग्राहकको अर्डर बमोजिम तयार पारेर उपलब्ध गराइने यो मसिनको मूल्य ९० हजार रुपैयाँ राखिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २०, २०८१ १५:११