close

जेमिनाईले अब चुनाव सम्बन्धी प्रश्नको उत्तर नदिने

टेकपाना टेकपाना

फागुन ३०, २०८० १६:१२

जेमिनाईले अब चुनाव सम्बन्धी प्रश्नको उत्तर नदिने

काठमाडौं । अब जेमिनाईले चुनाव सम्बन्धी प्रश्नहरूको जवाफ नदिने भएको छ । यस वर्ष विश्वभर अधिकांश देशमा हुने चुनाव जेमिनाईबाट प्रभावित नहोस् भन्ने उद्देश्यसहित मूल कम्पनी गुगलले  चुनाव सम्बन्धी प्रश्नहरूको जवाफ नदिने भएको हो ।

जेनेरेटिभ एआईले गलत सूचना र मिथ्या समाचार दिने चिन्ता बढाएको समयमा र विभिन्न राष्ट्रले नियमन गर्ने चर्चा चलिरहँदा गुगलले यस्तो निर्णय लिएको रोयटर्सले जनाएकाे छ ।

हाल जेमिनाईमा २०२४ मा हुने चुनावबारे कुनै पनि प्रश्न गर्दा ‘म अझै यो प्रश्नको जवाफ कसरी दिने भनेर सिक्दै छु । यस बीचमा गुगल सर्च प्रयोग गर्नुहोस्,’ भन्ने जवाफ आउँछ ।

यस वर्ष अमेरिका, भारत, रुस, दक्षिण अफ्रिकासहित विश्वका धेरै देशमा चुनाव हुन लागेको छ । ती चुनावबारे एआई टुलले गलत सन्देश प्रवाह नगरोस् भनेर जेमिनाईको क्षमता सीमित गरिएको गुगलको भनाइ छ ।

"सन् २०२४ मा विश्वभर धेरै देशमा चुनाव हुँदैछ । हामी जेमिनाईमा चुनाव सम्बन्धी प्रश्नहरूको जवाफ दिने क्षमता सीमित गर्दैछौं," गुगलले भनेको छ ।

पछिल्लो अध्यावधिक: फागुन ३०, २०८० १६:२५