close

अन्तिम समयमा आएर रोकियो ५ वर्ष लागेर बनेको पहिलो नेपाली एनिमेटेड फिल्म ‘सलिना’ को प्रदर्शन

टेकपाना टेकपाना

चैत १५, २०८० १३:३८

अन्तिम समयमा आएर रोकियो ५ वर्ष लागेर बनेको पहिलो नेपाली एनिमेटेड फिल्म ‘सलिना’ को प्रदर्शन

 

काठमाडौं । पाँच वर्ष लगाएर तयार पारिएको एनिमेटेड फिल्म ‘सलिना’को प्रर्दशन रोकिएको छ । शुक्रबारदेखि प्रर्दशन हुने भनिएको उक्त फिल्मले पर्याप्त शो नपाएपछि स्थगित गरिएको हो । 

टेकपानासँग कुरा गर्दै फिल्मका निर्देशक तेजसराज जोशीले हलहरूले बिहानको मात्रै शो दिएकाले प्रदर्शन स्थगित गरिएको बताए । “हलहरूले बिहानको शो दिएछन्,” उनले भने, “बिहानको समय भनेको दर्शक कम जाने समय हो । हामीले लक्षित गरेका वर्गहरू कलेजका विद्यार्थी हुन् । उनीहरूको कलेज हुन्छ । अब त्यही समयमा फिल्म हलमा लागे हेर्न जाने हुँदैनन् ।”

यसरी बिहानको शोमा दर्शक कम हुने र लगानी नै उठ्न सकस हुने देखेपछि फिल्मको प्रदर्शन रोक्नुपरेको उनले सुनाए ।

अहिले हलहरूसँग कुरा भइरहेको र कुरा मिले लगत्तै नयाँ मिति सार्वजनिक गरिने निर्देशक जोशीले बताए । 

यो चलचित्र तेजस राज जोशी र श्रुति श्रेष्ठले निर्माण गरेका हुन् । त्यस्तै श्रुति र शिव पुरीले सम्पादन गरेका छन् । ग्राफिक आर्टमा भने सगिन महर्जन, अविनाश सिंह थारु र शिरभा मानन्धरकाे याेगदान छ । चलचित्रको सूचना प्रविधि र नेटवर्किङको प्राविधिक काम अचिनसुन्दर प्रधानले गरेका छन् ।

नेपालको पहिलो एनिमेटेड चलचित्र दाबी गरिएको ‘सलिना’ काल्पनिक राजकुमारीको कथामा आधारित छ । सानो टिम भएकाले चलचित्र निर्माण गर्न पाँच वर्ष लागेको जोशीको भनाइ छ ।

उनका अनुसार चलचित्र दन्त्य कथामा आधारित छ, जहाँ राजकुमारी सलिना मुख्य पात्र छिन् । उनी अरू पात्रहरूसँग मिलेर सबैभन्दा ठूलो राक्षसलाई हराउने अभियानमा यात्रा सुरु गर्छिन् र यसैको सेरोफेरोमा चलचित्रको कथा अगाडि बढ्छ ।

पछिल्लो अध्यावधिक: चैत १५, २०८० १३:३८