close

नेपालले दुई ओटा स्याटलाइट प्रक्षेपण गरे पनि नाम अरू देशकै !

टेकपाना टेकपाना

चैत १६, २०८० १५:४८

नेपालले दुई ओटा स्याटलाइट प्रक्षेपण गरे पनि नाम अरू देशकै !

काठमाडौं । अन्तरिक्ष विज्ञानमा नेपालले हालसम्म दुई ओटा भू-उपग्रह (स्याटलाइट) प्रक्षेपण गरेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र केही निजी संस्था/कम्पनीको अग्रसरतामा यी भू-उपग्रह प्रक्षेपण गरिएको हाे । 

ओरियन स्पेसले बनाएको सानोस्याट - १ र नास्ट तथा वैज्ञानिक आभाष मास्के (अन्तरिक्ष प्रतिष्ठान नेपाल) सहितको पहलमा बनेको नेपाली स्याट - १ ले अन्तरिक्ष विज्ञानमा नेपालले उपस्थिति जनाएकाे छ । 

अब चाँडै नेपालले भारतको सहयोगमा मुनाल भू-उपग्रह पनि सार्वजनिक गर्दैछ । त्यसपछि डाँफे, नेपाली स्याट- २ लगायतका केही भू-उपग्रह पनि प्रक्षेपणको तयारीमा छन् । 

तर प्रक्षेपण भइसकेका यी दुवै भू-उपग्रह ( सानोस्याट - १/नेपाली स्याट - २) औपचारिक रुपमा नेपालको नाममा दर्ता भएका छैनन् । अरु देशकै नाममा दर्ता गरेर यी भू-उपग्रह प्रक्षेपण गरिएको हो । अन्तरिक्षमा प्रक्षेपण गरिएका सबै वस्तुहरूको दर्ता गर्ने काम युनाइटेड नेसन्स अफिस फर आउटर स्पेस अफेयर्स (यूएनओओएसए) ले गर्दै आएको छ । जसमा उपग्रह, प्रोब, ल्यान्डर, चालक दल लगायत आदि पर्छन् । 

वैज्ञानिक आभाष मास्केका अनुसार नेपाली स्याट- १ जापान र सानोस्याट - १ स्पेनको नाममा दर्ता भएको छ । नेपालले यस क्षेत्रमा अग्रसरता नलिँदा अन्य देशको नाममा दर्ता गर्न विवश भएको उनको भनाइ छ । 

ओरियन स्पेसका इन्जिनियर जितेन थापा यसले देशको गौरवमा प्रभाव पार्ने बताउँछन् । “हामीलाई त थाहा छ, ती भू-उपग्रह नेपालले नै बनाएका हुन् । तर इजाजत अरु देशकै नाममा छ । सम्बन्धित निकायले ध्यान नदिँदा अरु देशकै नामबाट इजाजत लिनुपर्ने बाध्यता छ,” उनी भन्छन् । 

आफूहरूले सानोस्याट- १ नेपालको नाममै दर्ता गर्न प्रयास गरेपनि कोभिडका कारण नेपाल सरकारको तर्फबाट ढिलाइ हुँदा अरुको भर पर्नु परेको थापा सुनाउँछन् । तर यसले स्वामित्वमा भने फरक नपार्ने उनी बताउँछन् ।

“हामीले बनाएको भू-उपग्रह अरुकै नाममा भए पनि स्वामित्वमा असर पर्दैन । किनकी जसको नाममा इजाजत लिएको हुन्छ, उनीहरू र हाम्रो सम्झौता भएको हुन्छ । हाम्रो भू-उपग्रहको इजाजत हाम्रै नाममा हुन पर्छ भन्ने मात्र हो ।”

पछिल्लो अध्यावधिक: चैत १६, २०८० १५:४८