close

बाइकमा लिफ्ट माग्ने, कल गर्ने बहानामा मोबाइल चोरेर अनलाइन बेच्ने धन्दामा संलग्न युवक पक्राउ

टेकपाना टेकपाना

बैशाख ६, २०८१ १८:१७

सांकेतिक तस्वीर सांकेतिक तस्वीर

काठमाडौं । मोबाइल चोरी गरेर त्यसमा भएको बैंकिङ एपबाट लाखौं रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा डोटी घर भई हाल काठमाडौं सिनामङ्गल बस्दै आएका २७ वर्षीय निश्चल लामा रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले लामालाई मङ्गलबार सिनामङ्गलबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार आरोपित लामा काठमाडौंका विभिन्न स्थानमा पुगेर मोटरसाइकल चालकसँग लिफ्ट माग्थे । त्यसपछि आफ्नो फोन स्वीच अफ रहेको र आफन्तको फ्लाइट भएको भन्दै सम्पर्क गर्नका लागि उनीहरूको मोबाइल माग्थे । त्यसपछि फोन गर्दै पर पर गएजस्तो गरेर फरार हुन्थे ।

यसरी फरार भइसकेपछि उनी त्यस मोबाइलमा भएको मोबाइल बैंकिङ एपबाट रकम आफ्नोमा पठाउँथे । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट लामाले विभिन्न व्यक्तिको साढे तीन लाख रुपैयाँभन्दा बढी रकम चोरी गरेको खुलेको छ । र, त्यो फोन हाम्रो बजार डटकममा सस्तोमा राखेर बिक्री गर्थे ।

यसरी ठगी भइरहेको भन्ने सूचना पाएपछि कार्यालयबाट खटिएको प्रहरी टोलीले अनुसन्धान अगाडि बढाएको थियो । त्यही क्रममा लामा पक्राउ परेका हुन् । थप अनुसन्धान गर्न उनलाई  जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ६, २०८१ १९:९