close

राति अबेरसम्म टिकटक चलाउनुहुन्छ ? अब एपले नै भन्नेछ- ‘ध्यान गर्नुहोस् र सुत्नुहोस्’

टेकपाना टेकपाना

जेठ ३, २०८२ १७:२०

सांकेतिक तस्बिर सांकेतिक तस्बिर

काठमाडौं । शर्ट भिडिओ स्ट्रिमिङ प्लेटफर्म टिकटकले ध्यान गर्न सघाउने फिचर ल्याउने भएको छ । बिहीबार एक ब्लग सार्वजनिक गर्दै कम्पनीले प्रयोगकर्तालाई ध्यान गर्न सघाउने फिचर उपलब्ध गराउन थालेको जानकारी दिएको हो । 

परीक्षणकै चरणमा रहेको यो फिचर केही सीमित किशोरकिशोरीका लागि उपलब्ध भइसकेको छ । कम्पनीका अनुसार यस फिचरको प्रयोगपछि राति अबेरसम्म टिकटक स्क्रोल गर्ने बानीबाट प्रयोगकर्ता विस्तारै टाढिन्छन् । 

१८ वर्षभन्दा कम उमेरका लागि यो फिचर डिफल्ट रूपमा इनेबल हुनेछ । यदि त्यो उमेर समूहका प्रयोगकर्ताले राति १० बजेपछि एप प्रयोग गर्न खोज्दा स्क्रिनमा ‘मेडिटेसन अभ्यास’ गर्न प्रेरित गर्ने नोटिस देखिन्छ ।

उक्त नोटिसमा ट्याप गरेपछि प्रयोगकर्ताले ध्यान गर्ने तरिका सिक्न पाउनेछन् । मेडिटेसन फिचर अन गरेपछि आँखालाई आनन्द दिने किसिमको स्क्रिन र मस्तिष्कलाई आनन्द दिने सङ्गीत बज्नेछ । त्यससँगै ब्रिदिङ एक्सरसाइजका लागि के गर्ने भन्ने अप्सन देखिन्छ । 

यदि १८ वर्षभन्दा कम उमेर समूहका प्रयोगकर्ताले यो नोटिस अस्वीकार गरे र एपमा भिडिओ स्क्रोल गर्न थाले भने दोस्रो पटक पूरै स्क्रिन ढाकिने प्रम्ट देखिनेछ । र, त्यसमा प्रयोगकर्ताका लागि सुत्न प्रेरित गर्ने शब्द हुनेछन् । 

विगत केही वर्षदेखि नै टिकटकले किशोरकिशोरीका लागि विभिन्न फिचरहरू ल्याउँदै आएको छ । खासगरी युवापुस्तामा यस प्लेटफर्मको प्रभाव व्यापक भएकाले त्यसैलाई मध्यनजर गर्दै कम्पनीले स्वास्थ्यका हिसाबले उपयोगी फिचर ल्याइरहेको छ । 

१८ वर्षभन्दा माथिका प्रयोगकर्ताले यो फिचर प्रयोग गर्न एपको स्क्रिन टाइम सेटिङ पेजमा जानुपर्ने हुन्छ । त्यहाँबाट आफ्नो सुत्ने समय सेट गर्नुपर्ने हुन्छ । त्यसपछि यो फिचर एक्टिभेट हुन्छ ।

यससँगै टिकटकले विश्वका १९ देशका ३१ मानसिक स्वास्थ्य संस्थालाई २३ लाख डलर बराबरको एड क्रेडिट दान गर्ने घोषणा गरेको छ ।

पछिल्लो अध्यावधिक: जेठ ३, २०८२ १८:१२