close

दुई महिनामा १ करोड रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी कारोबार गर्ने २ जना पक्राउ

टेकपाना टेकपाना

बैशाख ९, २०८१ १९:५०

दुई महिनामा १ करोड रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी कारोबार गर्ने २ जना पक्राउ

काठमाडौं । नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँकेका अमृतकुमार बर्मा र रियाल खाँ रहेका छन् । 

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई गत मङ्गलबार नेपालगञ्जबाट पक्राउ गरेको हो । कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नारायण डाँगीका अनुसार नेपालगञ्जमा केही मानिसहरूले गैरकानूनी रूपमा क्रिक्टोकरेन्सीको कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा अनुसन्धान गर्दा उनीहरू पक्राउ परेका हुन् ।  

“उनीहरूले विदेशबाट नेपालीलाई यूएसडीटीमा रकम पठाउन लगाउन रहेछन्,” घटनाको बेलिविस्तार लगाउँदै डाँगीले भने, “त्यसपछि उनीहरूले बाइनान्स र बिटगेट जस्ता एपबाट यता नेपालीलाई रकम पठाउन लगाउने रहेछन् ।” यसरी मध्यस्थकर्ता बनेकोमा उनीहरूले बीचमा केही रकम कमिसन पाउँथे ।

डाँगीका अनुसार पक्राउ परेका दुवै जना यसअघि रोजगारीको सिलसिलामा दुबईमा थिएँ । त्यहीँबाट यसरी हुन्डी गर्न सकिने तरिका थाहा पाएका थिए ।

दुई महिनाअघिदेखि उनीहरूले यस्तो कारोबार सुरु गरेको डाँगीले सुनाए । उनका अनुसार प्रारम्भिक अनुसन्धानमा उनीहरूले हालसम्म एक करोड रुपैयाँभन्दा माथिको कारोबार गरेको पाइएकाे छ ।

उनीहरूमाथि नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ९, २०८१ १९:५०