close

साइबर अपराधबाट जोगिन यस्ता छन् प्रहरीले सुझाएका ५ टिप्स

टेकपाना टेकपाना

बैशाख २६, २०८१ २१:१२

साइबर अपराधबाट जोगिन यस्ता छन् प्रहरीले सुझाएका ५ टिप्स

काठमाडौं । प्रहरी तथ्याङ्क हेर्ने हो भने केही समययता नेपालमा साइबर अपराध उल्लेखनीय बढेको छ । साइबर अपराध अरुकै कारण मात्र घट्छन् भन्ने छैन । कतिपय अवस्थामा केही सावधानी नअपनाउँदा तपाईंले पनि झुक्किएर साइबर अपराध गर्न सक्नुहुन्छ । अथवा साइबर अपराधमा फस्न सक्नुहुन्छ । आफूबाट त्यस्ता घटना हुन नदिन तपाईंले साइबर सुरक्षा सम्बन्धी जानकारी लिएको हुन आवश्यक छ । 

नेपालमा साइबर अपराध सम्बन्धी अनुसन्धान गर्ने काम नेपाल प्रहरी अन्तर्गतको साइबर ब्युरोले गर्दै आएको छ । समयसमयमा ब्युरोले साइबर सुरक्षा सम्बन्धी जानकारी दिने गरेको छ । आज हामी ब्युरोले सुझाएको पाँच साइबर सुरक्षा टिप्सबारे चर्चा गर्दै छौं: 

१. सुरक्षित पासवर्ड प्रयोग गर्नुहाेस्

-प्रत्येक अकाउन्टमा फरक पासवर्ड प्रयोग गर्नुहोस् । समय-समयमा परिवर्तन पनि गरिरहनुहोस् । बलियो र भिन्न खालको पासवर्ड राख्नहाेस् । अङ्क, अक्षर, सङ्केत मिसाएर पासवर्ड राख्नुहोस् ।

-पासवर्डसँगै थप सुरक्षाको लागि टु फ्याक्टर अथेन्टिकेसन (टुएफए) वा मल्टिफ्याक्टर अथेन्टिकेसन (एमएफए) प्रयोग गर्नुहोस् । 

२. अप्रत्याशित लिङ्क क्लिक नगर्नुहाेस्

-एसएमएस/मेसेन्जर/ह्वाट्सएप वा अन्य माध्यममा जुनसुकै लिङ्क आएमा विश्वासिलो यकिन नभइ जथाभावी क्लिक नगर्नुहोस् । 

-विदेशबाट पार्सल/गिफ्ट आएको छ, भन्सार कटाउनुपर्‍यो भनी रकम माग गरेमा हतारिएर रकम नबुझाउनुहोस् ।

-भर्दै नभरेको चिट्ठा पर्याे भनी मेसेज आएमा प्रलोभनमा नपर्नुहोस् ।

-आफ्नो पासवर्ड तथा वन टाइम पासवर्ड (ओटीपी) कसैसँग पनि शेयर नगर्नुहोस् ।

३. गोप्य विवरण 'गोप्य नै राख्नुहाेस्

-सामाजिक सञ्जालमा अनावश्यक व्यक्तिगत विवरण तथा आपत्तिजनक तस्वीर, भिडियोहरु नराख्नुहोस् । 

-विभिन्न माध्यमबाट आउने लिङ्क, एप्स, वेबसाइट, अनलाइन फाराम आदिबारे सचेत हुनुहोस् । ती क्लिक गर्नुअघि सोच्नुहोस् । 

४. आर्थिक कारोबारबारे सचेत हुनुहाेस्

-ईमेल तथा मोबाइलमा आउन सक्ने आकर्षक उपहार वा चि‌ट्ठाको भर नपर्नुहोस् ।

-'आपत पर्यो' भनी चिनेकै व्यक्तिले रकम माग गरेमा फोन कल गरी यकिन समेत गर्नुहोस् ।

५. प्रविधि प्रयोगबारे जानकार हुनुहाेस्

-आवश्यकता अनुसार कम्प्युटरमा एन्टिभाइरस सफ्टवेयर अथवा एड ब्लकर प्रयोग गर्नुहोस् । 

-कुनै पनि प्रोग्राम/सफ्टवेयरको सक्कलै प्रति वा संस्करण (Genuine Version) प्रयोग गर्ने गर्नुहोस् ।

- अत्यावश्यक डेटालाई फरक-फरक माध्यममा नियमित ब्याकअपमा राख्ने गर्नुहोस् । 

ब्युरोलाई साइबर अपराधसम्बन्धी कसरी जानकारी दिने ?

कुनै पनि साइबर सम्बन्धी अपराधबारे जानकारी दिन ब्युरोले विभिन्न माध्यम उपलब्ध गराएको छ । ब्युरोमा उजुरी दिँदा तपाईंले नागरिकता/राहदानी नम्बर (बालबालिकाको हकमा जन्ममिति), आवश्यक स्पष्ट स्क्रिनशट, पीडित र पीडकसँग सम्बन्धित यूआरएल, सम्पर्क नम्बर भने छुटाउनु हुँदैन ।

ईमेलमार्फत उजुरी दिन यहाँ क्लिक गरी निवेदन फारम डाउनलोड गर्न सक्नुहुन्छ ।

ब्युरोको मेल ठेगाना: [email protected]

फेसबुक पेज: https://www.facebook.com/CyberBureauNepal

सम्पर्क नम्बर: 9851286770/01-5319044

वेबसाइट: https://www.nepalpolice.gov.np/

पछिल्लो अध्यावधिक: बैशाख २९, २०८१ १४:३४