close

मानव शरीरका कोशिकाको अध्ययन गर्न गुगलले ल्यायो नयाँ एआई टुल, औषधी निर्माण गर्न सजिलो हुने

टेकपाना टेकपाना

बैशाख २७, २०८१ १७:३२

मानव शरीरका कोशिकाको अध्ययन गर्न गुगलले ल्यायो नयाँ एआई टुल, औषधी निर्माण गर्न सजिलो हुने

काठमाडौं । केही समययता विकास गरिएका आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुलले कुराकानी गर्ने, फोटो/भिडिओ/अडिओ तयार पार्ने, कोड लेख्ने लगायतका काम गर्छन् । तर एआईको प्रयोग यतिमै सीमित छैन । विभिन्न कम्पनीहरूले फरक-फरक प्रयोजनार्थ एआईको अनुसन्धान तथा विकास गरिरहेका छन् । 

अहिले मानिसको स्वास्थ्यलाई लिएर पनि एआई टुल विकास गर्ने क्रम निकै अघि बढेको छ । यस्तैमा गुगलले हालै अल्फाफोल्ड नामक नयाँ एआई टुल सार्वजनिक गरेको छ । यस टुलले वैज्ञानिकहरूलाई मानव शरीरमा कोशिकाहरूलाई सञ्चालन गर्ने माइक्रोस्कोपिक मेकानिजमहरूको व्यवहार बुझ्न सहयोग गर्नेछ । अर्थात् मानव शरीरको प्रोटिनको व्यवहार बुझ्न सहयोग गर्नेछ ।  

गुगलको एआईको केन्द्रीय ल्याब गुगल डिपमाइन्ड र त्यसको सहायक कम्पनी आइसोमोर्फिक ल्याब्सले यो टुल विकास गरेको हो । यो टुल २०२० मा सार्वजनिक गरिएको अल्फाफोल्डको पछिल्लो भर्सन हो । 

त्यसबेला उक्त टुलले ५० वर्षदेखि वैज्ञानिकहरूले समाधान गर्न नसकेको प्रोटोनसम्बन्धीको पजल हल गरेको थियो । त्यसपछि वैज्ञानिकले यस टुललाई ‘द प्रोटिन फोल्डिङ प्रोब्लम' नाम दिएका थिए । अहिले सार्वजनिक भएको मोडलको नाम भने अल्फाफोल्ड थ्री रहेको छ । 

गुगलका वैज्ञानिकले यो टुलबारे नेचर नामक जर्नलमा अनुसन्धानात्मक लेख समेत प्रकाशन गरेका छन् । वैज्ञानिकहरूका लागि अल्फाफोल्ड थ्री निःशुल्क छ । यसबाट उनीहरूले प्रोटिन र डीएनए जस्ता अणुहरूबारे थप अनुसन्धान गर्न सहयोग मिल्ने बताइएको छ । 

गुगलका अनुसार मलेरिया, क्यान्सर जस्ता रोगको उपचारका लागि अल्फाफोल्डको अघिल्लो भर्सनलाई प्रयोग गरिएको छ । अब अल्फाफोल्ड थ्रीलाई ‘जैविक अणुहरूको फराकिलो स्पेक्ट्रम’ माथि अनुसन्धान गर्न प्रयोग गरिने गुगलको भनाइ छ । यसले कृषि तथा औषधी विज्ञानमा नयाँ छलाङ मार्न अनुसन्धानकर्ताहरूलाई महत्त्वपूर्ण सहयोग हुने बताइएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २७, २०८१ १७:३२