काठमाडौं । नेपालमा हालै सम्पन्न ‘पब्जी मोबाइल सुपर लिग (पीएमएसएल) सेन्ट्रल एन्ड साउथ एसिया स्प्रिङ २०२४’ मा मङ्गोलियन टिम फोर मेरिकल भाइब्स (4Merical Vibes) अर्थात् फोरएमभीले उपाधि जित्यो । टिम मङ्गोलियन भएपनि यसका मालिक नेपाली हुन्, कुनाल तिमल्सिना उर्फ ‘कुन्यो’ ।
उनको टिम फोरएमभीले प्राप्त गरेको यो पहिलो सफलता भने होइन । फोरएमजीले पीएमएसएल सेन्ट्रल एन्ड साउथ एसिया स्प्रिङ २०२४ लगायत विभिन्न पब्जी प्रतियोगिता जितिसकेको छ । अर्थात् दक्षिण एसिया तथा विश्वस्तरका मञ्चमा समेत राम्रो गरिरहेको टिम हो, फोरएमभी ।
डोटा टू, सीएस गो जस्ता पीसी गेम खेल्दै गेमिङ करियरमा जमेका कुनालले यो टिममा प्रायोजन गर्न थालेको दुई वर्ष भइसकेको छ । उनले आफ्नै उपनाम ‘कुन्यो’ बाट गेमिङ एक्सेसरिजहरू समेत बेच्ने गरेका छन्, जुन अहिले ठूलै ब्रान्ड बनिसकेको छ । छोटोमा बुझ्दा विभिन्न ई-स्पोर्ट्स टिमलाई प्रायोजन गर्नु तथा गेमिङ एक्सेसरिज बेच्नु उनको परिचय हो ।
ई-स्पोर्ट्समा कुनाल सन् २०१३ देखि नै आबद्ध छन् । फोरएमभीलाई प्रायोजन गर्नुअघि उनी नेपाली पब्जी टिम हाई भोल्टेज (एचभी)मा थिए । तर हाई भोल्टेजको प्रदर्शन खस्किन थालेपछि उनी मंगोलियन टिम गए ।
सन् २०२२ सम्ममा नेपाली र मंगोलियन टिमबीच सन्तुलन कायम भएपनि त्यसपछि नेपाली टिमको खराब प्रदर्शन सुरु भएको उनकाे बुझाइ छ । यसको कारण पब्जीले आफ्नो खेल प्रणाली दुई/दुई वर्षमा परिवर्तन गर्नु भएको उनी बताउँछन् । “पहिले सर्भाइबल मेटा (बचेर खेल्ने) हुँदा नेपाली टिमले राम्रो गरेको थियो । तर किल्ड मेटा (आक्रमण खेल्ने) आएपछि मङ्गोलियन टिमले राम्रो गरिरहेको छ,” उनी भन्छन् ।
उनका अनुसार सर्भाइबल मेटामा बचेर खेल्दा पोइन्ट आउँछ भने किल्ड मेटामा जति आक्रामक खेल्यो, त्यति धेरै पोइन्ट आउँछ । पब्जीमा सर्भाइबल मेटा हुँदा आफ्नो साविक टोली हाई भोल्टेजले समेत राम्रै गरेको उनी बताउँछन् ।
हाई भोल्टेजले २०२२ को पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) समेत जितेको थियो । तर त्यसपछि भएको साउथ एसियन पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) मा भने हाई भोल्टेजले राम्रो गर्न सकेन । त्यहाँ सो टिम छैठौं मात्र भयो ।
त्यसबेला फोरएमभी टिमका खेलाडी डीडब्लू वारियर्स (DW Warriors) अर्थात् डीडब्लू नामले खेल्थे । उनीहरूको गेम हेर्दा कुन्योलाई आफ्नो टिम हाई भोल्टेज साउथ एसिया साउथ च्याम्पियन वर्ल्ड स्टेजमा १०/१५ औं स्थानमा र डीडब्ल टिमले वर्ल्ड स्टेज च्याम्पियनशिप नै जित्छ जस्तो लाग्थ्यो । त्यसपछि क्रमशः डीडब्लूलाई त जसरी पनि आफ्नो बनाउनु पर्छ भन्ने उनलाई लाग्न थालेको थियो ।
एकातिर आफ्नो टिभ हाई भोल्टेजले राम्रो नगर्नु, अर्कोतिर डीडब्लूले राम्रो गर्नु, कुन्योका लागि टिम परिवर्तन गर्ने मौका बनिदियो ।
त्यसपछि उनले आफ्नो टिम हाई भोल्टेजका खेलाडी कुशल खत्री ‘असासिन’लाई डीडब्लूसँग सम्पर्क गर्न लगाए । अन्ततः सो टिम किन्ने कुरामा कुनाल निश्चित भए । त्यसपछि नै डीडब्लूलाई उनले फोरएमभी बनाएका हुन् ।
पब्जी, फ्रिफायर लगायतका मोबाइल गेम नआउँदा समेत कुनाल (कुन्यो)ले सीएस गो, डोटा टू, फिफा जस्ता गेमका टिममा प्रायोजन गर्थे । मोबाइल गेम पब्जी आएपछि भने सुरुवाती समयतिर नै डीआरएस गेमिङमा प्रायोजन गर्ने उनलाई अवसर मिलेको थियो ।
त्यसमा उनका साथीहरूले प्रायोजन नगर्न सल्लाह दिए । सोही अनुरूप उनले लगानी गरेनन् । यता डीआरएसले भने लगातार विभिन्न प्रतियोगिता जितिरह्यो । डीआरएसको उपलब्धि देखेर त्यसबेला प्रायोजन गरेको भए हुन्थ्यो भन्ने कुन्योलाई नलागेको होइन ।
राम्रो अवसर गुमेकोमा उनलाई एक प्रकारको ग्लानि पनि थियो । यसकारण राम्रो पब्जी टिममा लगानी गर्ने मौकाको खोजीमा उनी थिए । ठीक सोही समयतिर हाई भोल्टेजमा कन्टेन्ट क्रियटरका रूपमा काम गरिरहेका रश्मचन्द्र महरा ‘रश्मे’ले उनलाई सूचना दिए, हाई भोल्टेजले लगानीकर्ता खोजिरहेको छ । अनि कुन्योले हाई भोल्टेजका मालिकसँग कुरा गरे । त्यसपछि उनी हाई भोल्टेजमा जोडिए ।
कुन्यो जोडिएको एक हप्तामा नै हाई भोल्टेजले एपीएमएपीएल जित्यो । हाई भोल्टेजले मंगोलियन समूहलाई पनि राम्ररी नै पछि पारेको थियो । तर त्यसको दश दिनपछि हुने साउथ एसिया लिगमा भने हाई भोल्टेजले राम्रो गर्न सकेन । त्यसबेला पीएमजीसीमा जान साउथ एसिया लिगमा उत्कृष्ट ६ मा पर्नै पर्थ्यो ।
यसरी पहिले हाई भोल्टेजमा जोडिएका कुन्योले ईस्पोर्ट्समा यस्ता अनेकन् उतारचढाव भोगेका छन् । उनीसँग नेपालीदेखि विदेशी खेलाडीलाई व्यवस्थापन गरेको गहिरो अनुभव छ । सो आधारमा नेपाली टोलीलाई व्यवस्थापन गर्न निकै गाह्रो हुने उनी बताउँछन् । तर मङ्गोलियन टोलीलाई भने व्यवस्थापन गर्न तुलनात्मक रूपमा सजिलो हुने उनको भनाइ छ ।
फोरएमभी मङ्गोलियामा आधारित पब्जी टोली हो । यसका सबै खेलाडी उतै हुन्छन् । तर कुन्यो प्राय: नेपालमा नै बस्छन् । यसअर्थमा फोरएमभी व्यवस्थापन गर्न उनी प्रत्यक्ष संलग्न छैनन् । उनी आफैं पनि मङ्गोलियामा रहेको टिमलाई पैसा पठाए मात्र पुग्ने बताउँछन् । तर सो रकम नेपाली क्रिकेट तथा फुटबल टिमभन्दा महँगो भएको उनको दाबी छ ।
“फोएमभीको सञ्चालन खर्च करोडमा हुन्छ । नेपालमा प्रति खेलाडी तलब दिने चलन छ । तर फोरएमभीका लागि भने म एकैपटक ठूलो रकम पठाइदिन्छु,” उनी भन्छन्, “त्यसपछि सो रकमलाई उनीहरूले विभिन्न शीर्षकमा बाँड्छन् ।”
उनका अनुसार फोरएमभीको एक जना खेलाडीलाई बस्न/खान औसतमा मासिक १५०० डलर र तलब २००० डलर रकम दिनु पर्छ । हाल फोरएमभीमा पाँच खेलाडी र एक जना प्रशिक्षक छन् । तर स्थानीय प्रतियोगितामा जितेको पुरस्कार रकम आफूले नलिने भएकाले फोरएमभीका खेलाडीले अझ बढी आम्दानी गर्ने कुन्यो बताउँछन् ।
फोरएमभीमा प्रायोजन गरेर फाइदा मात्र नभइ इज्जत पनि कमाएको कुन्यो सुनाउँछन् । विश्वको चर्चित पब्जी मोबाइल टिमको मालिक हुनु आफैंमा गर्विलो विषय भएको उनको भनाइ छ ।
अहिले यो टिमलाई संसारका विभिन्न ठूला कम्पनीहरूले किन्न खोजिरहेको उनी सुनाउँछन् । जसमा चीनको 'एलजीटी' नामक कम्पनीदेखि फुटबलर रोनाल्डो र बेन्जामेले खेल्ने साउदी अरेबियन क्लबका लगानीकर्ता कम्पनीहरू रहेको उनी सुनाउँछन् ।
खेलाडीलाई खुसी पार्न नतिजामा आधारित पुरस्कार पनि राखेको उनको भनाइ छ । अर्थात् निश्चित रकम राशि भएको प्रतियोगिता जिते त्यसको निश्चित प्रतिशत रकम खेलाडी नै पाउँछन् । यी सबैका आधारमा कुनै पनि पब्जी टिमलाई दक्षिण तथा मध्य एसियामा कसैले पनि सेवा/सुविधा दिन नसक्ने उनको दाबी छ । यदि नामकै लागि कसैले अत्यधिक पैसा हालेर टिम किन्न तयार भए सोच्नुपर्ने उनी बताउँछन् ।
अहिले उनको यस मङ्गोलियन टिममा दुई/तीन जना खेलाडी पढिरहेका समेत छन् । ठूला ठूला प्रतिस्पर्धा हुने समयमा भने आफूहरूलाई निवेदन लेख्न लगाएर ती खेलाडीहरूले छुट्टी लिने गरेको उनको भनाइ छ ।
कन्योका अनुसार फोरएमभीका खेलाडीले अभ्यासका लागि पुरस्कार रकम थोरै हुने विभिन्न प्रतियोगिता दैनिक रूपमा खेल्छन् । जुन दिउँसो १२ बजेदेखि सुरु भएर राति अबेर सम्म चल्ने गर्छ । यसरी सामान्य दिनमा पनि फोरएमभीका खेलाडीले १०/१२ घण्टा गेम खेल्ने कुन्यो सुनाउँछन्।
यता नेपाली टिमका खेलाडी भने अभ्यास खेल खेल्न नमान्ने, प्रशिक्षकले भनेको नमान्ने गरेको उनको अनुभव छ । अझ कतिपय टिममा त प्रशिक्षक राख्ने प्रवृत्ति नै नभएको उनी बताउँछन् ।
प्रशिक्षकले खेलाडीलाई मानसिक रूपमा बलियो बनाउने, स्थिर राख्ने, प्रेरणा दिने, हौसला बढाउने कामका महत्त्वपूर्ण भूमिका खेल्छन् । यसकारण पनि नेपाली टिमको खेल खस्किरहेको उनको विश्लेषण छ । उता मंगोलियन खेलाडी भने आफ्नो आमाबाबुभन्दा प्रशिक्षकसँग बढी डराउने कुन्यो सुनाउँछन् ।
अब खस्किएको नेपाली टिमको खेल उकास्न प्रशिक्षक अनिवार्य गर्नुपर्ने, प्रतियोगिताहरू निरन्तर आयोजना हुनुपर्नेमा उनकाे जोड छ । तर खेलाडीको स्थायित्व नहुनु अर्को समस्या भएको उनको बुझाइ छ ।
नेपालका मुख्य मुख्य टिममा यस्तो समस्या नभए पनि साना टिममा नयाँ खेलाडी आउने तथा पुरानाले छाड्ने प्रक्रिया चलिरहेको छ । यसलाई केही हदसम्म पीएमएसलले दिने वृत्तिले तथा अब खेलाडी सार्दा स्थानान्तरण शुल्क लाग्ने भएकाले रोकिने उनको विश्वास छ ।