काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाललाई डिजिटल रूपान्तरणका लागि काम गर्ने घोषणा गरेका छन् । सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रमबिच पदभार ग्रहण गरेपछि मन्त्री गुरुङले एआईसम्बन्धी संरचनागत सुधारमा काम गर्ने पहिलो निर्णय गरेका हुन् ।
मन्त्रालयको वार्षिक नीति तथा कार्यक्रमको बुँदा नं १७ मा नेपाललाई डिजटिल रूपान्तरणमा लैजानका लागि एआईको प्रक्रिया अगाडि बढाउन संरचनागत सुधार गरिनुपर्ने उल्लेख छ । मन्त्री गुरुङले यसका लागि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तको संयोजकत्वमा कार्यदल गठन गरेका छन् ।
“सञ्चार तथा सूचना प्रविधि एवम् प्रणालीहरूको सुरक्षित र प्रभावकारी प्रयोगका लागि कानूनी व्यवस्थापन गरिनेछ,” उनले भने, “डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गरिनेछ । सूचना प्रविधि सम्बद्ध निकायहरूको पुनः संरचना गरिनेछ ।”
आफूले सञ्चार मन्त्रालय पहिलो पटक टेकेकाले केही थाहा नभएकाले नीतिगत, संस्थागत र संरचनागत अध्ययन गर्नुपर्ने उनको भनाई थियो । आजको आवश्यकता अनुसार कुन कानुनमा समस्या छ र त्यस्ता कानुन पहिचान गरी परिमार्जन गर्नुपर्ने भएकाले त्यसैमा जोड दिने उनले सुनाए ।
उनले भने, “यस विषयमा अहिले मेरो कुनै अध्ययन नभएकाले आज बोल्दा अप्ठ्यारो हुन्छ । पपुलर हुनका लागि ठुला ठुला कुरा गरेर पनि केही फाइदा छैन । आजको समस्या समाधान गर्ने कुरामा प्रतिबद्ध भएर लाग्ने प्रणका साथ म यहाँ आएको छु ।”