काठमाडौं । सायद तपाईंले देख्नु भएको होला केही स्मार्टफोनमा एक सानो सेन्सर हुन्छ, जसलाई आईआर ब्लास्टर भन्ने गरिन्छ । यो एउटा यस्तो उपकरण हो, जसले तपाईंको फोनलाई रिमोट कन्ट्रोलको रूपमा काम गर्ने शक्ति दिन्छ ।
साधारण शब्दमा भन्नु पर्दा आईआर ब्लास्टरको सहयोगमा फोनलाई रिमोट कन्ट्रोलको रूपमा कन्ट्रोल गर्न सकिन्छ । यसका कयौँ उपयोगिताहरू रहेका छन् । त्यतातर्फ अगाडि बढ्नु भन्दा पहिला आईआर ब्लास्टर के हो भन्ने विषयमा कुरा गरौं ।
आईआरको पूरा नाम इन्फ्रारेड हो । यो एक प्रकारको आँखाले नदेखिने प्रकाश हो, जुन टाढाबाट गरिने सञ्चारमा उपयोग हुन्छ । तपाईंको फोनमा रहेको आईआर ब्लास्टरले यस्तै इन्फ्रारेड लाइट सिर्जना गर्छ ।
जब तपाईं आफ्नो फोनमा एउटा रिमोट कन्ट्रोल एप खोल्नु हुन्छ, तब यो एप उक्त डिभाइसको कोड सिर्जना गर्छ, जसलाई तपाईं कन्ट्रोल गर्न चाहनु हुन्छ, जस्तै टिभी, एसी वा सेट टप बक्स । त्यसपछि यस्तो कोडलाई आईआर ब्लास्टरबाट इन्फ्रारेड लाइटको रूपमा पठाइन्छ ।
तपाईंको सामुन्ने रहेका टिभी जस्ता डिभाइसले यस्तो इन्फ्रारेड सिग्नललाई आफ्नो रिसिभरको माध्यमबाट समात्छ । त्यसपछि डिभाइसले प्राप्त गरेको कोडको आधारमा काम गर्छ, जस्तै च्यानल बदल्ने, भोलुम बढाउने अथवा पावर अन अफ गर्ने ।
आईआर ब्लास्टरको फाइदा यही हो कि तपाईं आफ्नो फोनलाई रिमोर्टको रूपमा प्रयोग गर्न सक्नु हुन्छ । यस्तोमा तपाईंलाई छुट्टै रिमोट हातमा लिइरहने जरुरी पर्दैन । यसका लागि बनाइएका केही एपमा तपाईंले टाइमर, म्याक्रो जस्ता अन्य स्मार्ट फिचर समेत पाउन सक्नु हुन्छ ।
तर आईआर सिग्नलको सीमा अर्थात् त्यसले भेट्ने दुरी कम हुन्छ । त्यसैले फोनलाई तपाईंले चलाउन चाहेको उपकरणबाट नजिकै रहेर रिमोटको रूपमा प्रयोग गर्नु पर्ने हुन सक्छ । आईआर सिग्नललाई डिभाइसको रिसिभरसम्म पुग्नका लागि दृश्यको सिधा रेखा आवश्यक पर्छ ।
तपाईंको मोबाइलमा आईआर ब्लास्टर छ कि छैन भन्ने कुरा थाहा पाउनका लागि त्यसको बक्सको बाहिरी भागमा हेर्नुहोस् । त्यसमा सामान्यतया फोनका सबैजसो फिचरको विवरण हुने गर्छ । आईआर ब्लास्टर प्रायः एउटा सानो कालो थोप्लोको रूपमा फोनको माथिल्लो भागमा अथवा क्यामेराको नजिकै राखिएको हुन्छ ।