काठमाडौं । 'छोरी मान्छेले पनि अनलाइन डेलिभरीको काम गर्छन् र ? अहो ! आज त केटी मान्छे हाम्रो खाना डेलिभर गर्न आएको ?'
कल्पना थापा । माइती दोलखा, घर ललितपुर । आफ्नो छ महिने फुडमाण्डु डेलिभरीको यात्रामा उनले आफ्ना ग्राहकहरूबाट धेरैजसो सुन्ने कुरा यिनै हुन् । खाना डेलिभरी गर्ने प्लेटफर्म फुडमाण्डुमा विगत छ महिनादेखि उनी काम गरिरहेकी छिन् ।
कुनै पनि कामका लागि महिला वा पुरुष होइन, काम गर्ने व्यक्तिमा आवश्यक क्षमता भए पुग्छ भन्ने मान्यता राख्ने थापाको आफ्नै सानो व्यवसाय आर्थिक मन्दीका कारण बन्द भयो ।
फुडमाण्डुसँग आबद्ध भएपछिका उनका धेरै अनुभवहरू छन् । अर्डर अनलाइन भए पनि डेलिभरी गर्न घरघरमै पुग्नुपर्ने हुन्छ । घाम-झरी नभनी हिँड्नुपर्ने हुन्छ । यी सबै चुनौतीहरू पार गर्दै कल्पना आजको दिनमा ग्राहकहरूको घरमा मिठो र तातो खाना पुर्याइरहेकी छिन् ।
"हामी सबैलाई पैसा चाहिन्छ । पैसा कमाउन जुन काम आफूलाई सहज लाग्छ, त्यही गरिन्छ । मलाई फुडमाण्डु सहज लाग्छ," उनी भन्छिन्, "तर सुरुमा छोरी मान्छेले के गर्नु भन्ने लागेको थियो । दुई-चार दिनमै छाड्छु भनेर गर्दा-गर्दा यहाँसम्म पुगेँ ।"
काममा विश्वास गर्ने कल्पनाको लागि फुडमाण्डु एउटा राम्रो प्लेटफर्म बनेको छ । डेलिभरी गर्ने काम यस्तो प्लेटफर्म हो, जहाँ तपाईँले जति काम गर्नुभयो, त्यति नै आम्दानी हुन्छ ।
पहिलो पटक डेलिभरीमा जाँदा म्याप हेर्न नजानेर समस्यामा परेकी उनी अहिले दैनिक १४ ओटासम्म डेलिभरी गर्न सक्षम भएकी छिन् ।
यो समय अवधिभर विशेषगरी महिला राइडरहरूलाई आफ्नो काम गर्ने समय छनोट गर्ने सुविधा हुन्छ । कल्पना भने कहिलेकाहीँ बिहान १० बजे निस्किएर राति १० बजेसम्म पनि काम गर्छिन् ।
"हामीले कति कमायौं भनेर मोबाइल एपबाटै हेर्न मिल्छ । फुडमाण्डुले महिनाको ७ गते तलब भुक्तानी गर्छ । इमान्दारीपूर्वक काम गरेपछि १५ प्रतिशत बोनस पनि दिन्छ," उनी भन्छिन् ।
काममा हिँडिसकेपछि राम्रा/नराम्रा मान्छे भेटिनुलाई स्वाभाविक मान्ने कल्पनाले आफ्नो डेलिभरी यात्रामा भोग्नुपरेका अनुभवलाई सहज रूपमा लिन्छिन् ।
उनका लागि समय व्यवस्थापन नै सबैभन्दा महत्त्वपूर्ण रहेको छ । समय व्यवस्थापन गरेपछि सबै काम सजिलो हुने उनको विश्वास छ ।
आफूले कमाएको पैसाले घर र माइती दुवै धान्न पाउँदा कल्पना गर्व महसुस गर्छिन् । भन्छिन्, "मैले माइती र घरमा खुसी दिन पाएको छु ।"
आफ्ना दुःखलाई सजिलै पार्दै कल्पना निरन्तर आफ्नो यात्रामा अघि बढिरहेकी छिन् ।
“मान्छेको सोचाइ दुईतर्फी हुन्छ । राम्रो पनि हुन्छ । नराम्रो पनि हुन्छ । कमसेकम यही काम गरेर मैले माइत र घरमा त खुसी दिएकी छु । मेरो सासुआमाका छोरीहरू छैनन् । उहाँले मलाई बुहारी नभएर छोरी भन्नुहुन्छ । त्यो सुन्दा आफैंभित्र खुसी पाउँछु,” उनी भन्छिन् ।
“जुन आमाले जन्मायो, हुर्कायो उसलाई किन नहेर्ने ? के हेर्नलाई छोरा नै हुनु पर्छ र ? पाल्नलाई दिदी बहिनी छ । भाइ चैं बाहिर छ । घरमा हामी सबैले बराबर रकम खर्च गर्छौं,” उनी भन्छिन्, “घरको साथ सहयोग नपाएको भए छाडिसक्थेँ होला । तर, घरकाले अझैं राम्ररी काम गर्न प्रेरित गर्नुहुन्छ ।”
कल्पनाका दुई सन्तानमध्ये छोरी ७ कक्षामा र छोरो १ कक्षामा पढ्छन् । सन्तान हुर्काउने आमाको जिम्मेवारी निभाउने कुरामा पनि उनले कुनै कमी हुन दिएकी छैनन् । अहिले छोरीले पनि आफ्नो दु:ख बुझ्न थालेको उनी सुनाउँछिन् ।
भन्छिन्- “मैले गरेको कामले छोरी पनि दु:ख भन्ने कुरा बुझ्दै छे । पहिले म घर जाँदा खाना पकाउँथिन, भाँडा माझ्दिन थी । अहिले जाँदा भने खाना पकाइरहेकी हुन्छे । ‘भाँडा पनि म माझ्छु, तपाईं सुत्नुहोस् ।”
भविष्यमा फेरि आफ्नै व्यवसाय गर्ने कि अहिलेकै पेसालाई निरन्तरता दिने, तपाईंको इच्छा के छ भन्ने प्रश्नको जवाफमा उनी भन्छिन्, “यहाँको सबै अनुभव बटुल्न मन छ । अहिले पाइरहेको १५ प्रतिशत बोनस भोलि बढेर २२ प्रतिशत हुँदै २५ प्रतिशतसम्म पुगोस् । बाँकी भोगाइहरू थपिंदै जाऊन् ।”
हरेक दिन मुस्कुराउँदै खाना बोक्ने त्यो पहेँलो झोलामा उनी आफ्नो आत्मविश्वास, घरको जिम्मेवारी र सन्तानको भविष्य बोकेर हिडिँरहेकी छिन् ।