काठमाडौं । १५ अप्रिल १९१२ को रात ‘द अनसिङ्कएबल’ अर्थात् कहिल्यै पनि नडुब्ने नाम दिइएको विशाल जहाजबाट एउटा वायरलेस कोड पठाइयो । त्यो कोड थियो तीन ओटा डट (...), तीन ओटा ड्याश (---) र तीन ओटा डट (...) । यसको अर्थ हो, एसओएस अर्थात् आपतकालीन सहायताका लागि अनुरोध ।
त्यस जहाजको नाम हो ‘टाइटानिक’ । ठूलो बरफको टुक्रामा ठोक्किएपछि यो जहाज डुबेको थियो । यस घटनामा कैयौं मानिसहरू मारिए भने केही बाँच्न सफल भए । यी मानिसहरू बाँच्नुमा माथि उल्लेख गरिएको वायरलेस कोडको सबैभन्दा महत्त्वपूर्ण भूमिका थियो ।
सो जहाजबाट पठाइएको वायरलेस कोड त्यस आसपासका अन्य जहाजले प्राप्त गरे । र, सहायता दिन टाइटानिकतर्फ लागे । ती जहाजहरूको सहायताले केही मानिसहरू बाँच्न सफल भएका थिए । डट, ड्याश र स्पेसबाट बन्ने यस्तो कोडलाई मोर्स कोड भनिन्छ ।
आपतकालीन सहायताका लागि मोर्स कोड प्रयोग भएको यो पहिलो घटना भने होइन । त्यसअघि र पछि भएको विश्वयुद्धको घटनामा यसको व्यापक प्रयोग भएको थियो । आपतकालीन अवस्थामा सन्देश पठाउन काम लाग्ने यो कोड अर्थतन्त्रमा पनि काम लाग्न सक्छ भन्ने कल्पना कमैले गरेका थिए ।
समय बदलिंदै जाँदा अमेरिकामा सुपरमार्केटहरू खुल्न थाले । काउन्टरमा बिल भुक्तानी गर्न लाम लाग्ने मानिसहरूको भिड थामिनसक्नुको हुन थाल्यो । भिडमा लामो समय पर्खिनु पर्ने भएकाले ग्राहकहरू दिक्क थिए ।
सन् १९५२ मा नोर्म्यान जोसेफ उडल्यान्डले मोर्स कोडको प्रयोग गरेर बार कोडको आविष्कार गरे । यो १० ओटा मोटा पातला लाइनको संयोजनबाट तयार पारिने कोड हो । हरेक प्रडक्टलाई १० डिजिटको युनिक कोड दिइएको हुन्छ । त्यही कोडको सहायताले प्रडक्टको जानकारी पाउन सकिन्छ ।
त्यसपछिका दिनमा प्रविधिको विकास र अन्तर्राष्ट्रियकरण हुँदै गयो । ठूलो जनसङ्ख्या हुने देशहरूको बजारमा प्रडक्टहरूको सङ्ख्या लाखौंबाट बढेर करोडौं पुग्न थाल्यो । प्रडक्टको जानकारीका लागि बार कोड पर्याप्त भइरहेको थिएन । सन् १९९४ मा यो तरिकालाई झन् स्तरीय बनाइयो । आज हामी जुन रूपमा यो प्रविधि हाम्रो अगाडि छ, त्यही हो क्यूआर कोड ।
प्रडक्टको पहिचान र भुक्तानी प्रणालीमा क्यूआर कोडको व्यापक प्रयोग भइरहेको छ । वाई-फाई कनेक्ट गर्ने, कसैको सम्पर्क विवरण लिन, भुक्तानी गर्न, कुनै अफरमा सहभागी हुन तपाईंले हरेक दिन यसलाई कुनै न कुनै रूपमा प्रयोग गरिरहनु भएको हुन सक्छ । पछिल्लो समय अधिकांश सरकारी कार्यालयमा क्यूआर कोड स्क्यान गरेर सुझाव दिन सकिने व्यवस्थाको पनि सुरुवात भइरहेको छ । प्रहरी कार्यालयमा निवेदन दिन पनि त्यहाँको क्यूआर कोड स्क्यान गरे पुग्ने भएको छ ।
त्यसोभए क्यूआर कोडले कसरी काम गर्छ होला ? क्यूआर कोड र बारकोडमा फरक के छ ? क्यूआर कोडको प्रयोग कहाँ कहाँ कुन रूपमा भइरहेको छ ? क्यूआर कोड स्क्यान गर्दा के कस्ता जोखिम हुन्छन् ? आज हामी यही विषयमा चर्चा गर्दैछौं ।
क्यूआर कोडले कसरी गर्छ काम ?
क्विक रेस्पोन्स कोडको छोटो रूप हो, क्यूआर कोड । नेपालीमा भन्नुपर्दा तुरुन्तै प्रतिक्रिया जनाउने कोड । क्यूआर प्रविधिमा मुख्यतः दुई ओटा हिस्सा हुन्छन् । त्यसमा पहिलो हो यसको संरचना ।
एउटा चेस बोर्डको कल्पना गर्नुहोस् जसमा ६४ ओटा बक्स हुन्छन् । ती हरेक बक्सको नाम ‘१’ देखि ‘६४’ सम्म राख्न सक्नुहुन्छ । वा, हरेक ठाडो लाइनलाई अंक र तेर्सो लाइनलाई अक्षरले चिनाउन सक्नुहुन्छ । यस्तो गर्दा हरेक बोर्डको युनिक नाम तयार हुन्छ, जस्तो ‘a1’, ‘a2’ … आदि । व्यवहारिक रूपमा बढी प्रयोग a1, a2 नाम शैली हुन्छ ।
उदाहरणका लागि मान्नुस् तपाईं आफ्नो साथीसँग चेस खेल्दै हुनुहुन्छ । खेल एकदम रोमाञ्चक मोडमा गइरहेको छ, तर तपाईंलाई तत्कालै केही समयका लागि बाहिर जानुपर्ने भयो । हुन त अहिले स्मार्टफोनको जमानामा बोर्डको कुन कुन बक्समा कुन गोटी छ भन्ने पछि थाहा पाउन फोटो खिचे पुग्छ ।
तर, मान्नुस् तपाईंसँग स्मार्टफोन वा क्यामेरा पनि छैन । यस्तोमा तपाईंले राजा b2 बक्समा, रानी f3 मा यसरी लेख्नुहुन्छ । यो कम्बिनेसन यति पृथक हुन्छ कि यस ब्रह्माण्डमा एटम पनि छैनन् ।
त्यसैले यो कम्बिनेसन एक अर्कासँग मिल्ने सम्भावना लगभग शून्य जस्तै हुन्छ । यस्तै क्यूआर कोडमा पनि लाइनको स्थान र आकार एकअर्काभन्दा भिन्नै हुन्छ । क्यूआर कोड भिन्नाभिन्नै हुने भएकाले यसमा भण्डारण हुने डेटा पनि भिन्नाभिन्नै हुन्छ ।
डेटा कोडिङ र स्क्यान गर्ने डिकोडिङ
अब अगाडिकै कथामा फर्किऔं जहाँ तपाईं आफ्नो साथीसँग चेस खेल्दा खेल्दै बाहिर जानुभएको थियो । फेरि खेल सुरु गर्न तपाईंले कापीमा कुन गोटीको जुन युनिक पोजिसन नोट गर्नुभएको थियो, त्यही अनुसार गोटी मिलाएर राख्नुहुन्छ ।
हो, क्यूआर कोडले पनि यसरी नै काम गर्छ । हरेक क्यूआर कोडको संरचना र लाइनको स्थान निर्धारण गरिएको हुन्छ । त्यसैमा डेटा इनकोड हुन्छ । यही प्याटर्नलाई स्क्यान गर्दा डेटा डिकोड हुन्छ ।
क्यूआर कोड दुई तरिकाले स्क्यान गरिन्छ । पहिलो तरिका हो ‘लेजर’, जुन बिलिङ काउन्टरमा बढी प्रयोग गरिन्छ । लेजरबाट निस्किने रातो लाइट क्यूआर कोडमा पार्ने हो भने आवाज आउँछ । त्यस्तै अर्को तरिका हो, क्यामेरा एप ।
पछिल्लो समय बजार आएका अधिकांश फोनको क्यामेरामा क्यूआर रिडर समावेश गरिएको हुन्छ । क्यामेराले स्क्यान गर्नासाथ सो कोडमा जे डेटा छ, त्यो देखिन्छ । भुक्तानीका सन्दर्भमा जसलाई भुक्तानी गर्नुपर्ने हो, उसको क्यूआर कोडमा विभिन्न विवरण इनकोड भएको हुन्छ । त्यसलाई स्क्यान गर्नासाथ क्यूआर कोडले जे काम गर्नुपर्ने हो, त्यो काम गर्छ ।
क्यूआर कोड र बारकोडबीचको भिन्नता
क्यूआर कोड र बारकोडमा सबैभन्दा ठूलो भिन्नता यिनीहरूको संरचनामा हुन्छ । क्यूआर कोड वर्गाकारमा हुन्छ भने बारकोडमा लाइन मात्र हुन्छन् । यो संरचनाको फरक यिनीहरूले गर्ने काम तरिका र कार्यक्षमतामा देखिन्छ ।
सबैभन्दा पहिले यी दुवै कोडलाई डिकोड गर्ने तरिका भिन्नाभिन्नै छ । बारकोडलाई बाँयाबाट दायाँ मात्र पढ्न सकिन्छ । तर, क्यूआर कोडलाई भने जुनसुकै दिशाबाट पढ्न सकिन्छ । अर्थात दायाँ, बाँयाँ, तल, माथि जहाँबाट स्क्यान गर्दा पनि डिकोड गर्न सकिन्छ । जहाँसुकैबाट स्क्यान गर्दा त्यसमा भएको डेटा वा जानकारी सजिलै पाउन सकिन्छ ।
क्यूआर कोडमा चेसले जस्तै डेटा भण्डारण हुन्छ, तर बारकोड ठाडो लाइनको क्रमले डेटा भण्डारण गर्छ । बारकोडले २० नम्बरसम्मको डेटा भण्डारण गर्न सकिन्छ भने क्यूआर कोडमा ७०८९ नम्बर भण्डारण गर्न सकिन्छ । तुलनात्मक रूपमा क्यूआर कोड ३०० गुणा बढी जानकारी भण्डारण गर्न सक्षम छ, जसमा नम्बर मात्र नभई अल्फाबेट पनि भण्डारण गर्न सकिन्छ ।
क्यूआर कोडबाट हुने सुरक्षाको समस्या
क्यूआर कोडबाट हुन सक्ने पहिलो समस्या हो, फिशिङ । यो साइबर आक्रमणको एउटा प्रकार हो, जसमा व्यक्तिलाई कुनै झुटो आश्वासन दिइन्छ र उसलाई ठगिन्छ । नक्कली विज्ञापन वा वेबसाइटमार्फत क्यूआर कोड स्क्यान गर्न लगाएर व्यक्तिलाई नक्कली वेबसाइटमा पुर्याइन्छ वा हानिकारक एप डाउनलोड गरिन्छ ।
क्यूआर कोडको प्रयोग गरी डेटा चोरी गर्ने घटना पनि बढ्दै गइरहेका छन् । त्यसैले कुनै पनि क्यूआर कोड देख्नासाथ नबुझेर स्क्यान नगरिहाल्न साइबर सुरक्षा विज्ञहरूको सुझाव छ ।