close

नेपालमै पहिलो पटक फोनपेले ल्यायो भर्चुअल क्रेडिट कार्ड, क्यूआरबाटै खर्च गर्न सकिने

टेकपाना टेकपाना

भदौ २७, २०८१ १४:३

नेपालमै पहिलो पटक फोनपेले ल्यायो भर्चुअल क्रेडिट कार्ड, क्यूआरबाटै खर्च गर्न सकिने

काठमाडौं । फोनपे र सिटिजन्स बैंक इन्टरनेसनलले नेपालकै पहिलो भर्चुअल क्रेडिट कार्डको सुरुवात गरेका छन् । बिहीवार ललितपुरमा एक कार्यक्रम गर्दै ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’को औपचारिक घोषणा गरिएको हो । 

सिटिजन्स बैंक इन्टरनेसनलले आफ्ना ग्राहकलाई फोनपे कार्ड स्किम (Fonepay Card Scheme) अन्तर्गत रही पूर्ण रूपको ‘फोनपे भर्चुअल क्रेडिट कार्ड’ आफ्नो मोबाइल बैकिङ एपमार्फत उपलब्ध गराउने छ । 

नेपाल राष्ट्र बैंकले परिकल्पना गरेको नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम परियोजना अन्तर्गत फोनपेले भर्चुअल क्रेडिट कार्ड ल्याएको हो । उक्त क्रेडिट कार्ड पूर्ण रुपमा डिजिटल अनबोर्डिङ (Onboarding) र जारी (Issuance) हुने कम्पनीको भनाइ छ ।

सिटिजन्स बैंक इन्टरनेसनलका सीईओ गणेशराज पोखरेलले फोनपेसँगको साझेदारीमा नेपालकै पहिलो भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गर्न पाउँदा उत्साहित भएको बताए । “यो कदमले हाम्रा ग्राहकको भुक्तानी प्रक्रियालाई सरल, सुरक्षित र पूर्ण रूपमा डिजिटल बनाउने छ,” उनले भने ।

फोनपेका सीईओ दिवस सापकोटाले भर्चुअल क्रेडिट कार्डको सुरुवातसँगै डिजिटल भुक्तानीको क्षेत्रमा नयाँ युगको सुरुवात भएको बताए । “नेपालमा क्रेडिट कार्डको प्रयोग अझै सीमित छ र यस भर्चुअल क्रेडिट कार्डले त्यस्तो खाडललाई पूर्ति गर्दै डिजिटल भुक्तानीमा नयाँ युगको सुरुवात गर्नेछ,” उनले भने, “यसले उपभोक्ता र व्यवसाय दुवैलाई डिजिटल युगमा सशक्त बनाउन सहयोग पुर्‍याउने छ ।”

ग्राहकले सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपबाट केही सेकेन्डमै आफ्नो भर्चुअल कार्ड प्राप्त गर्न सक्नेछन् । त्यसपछि फोनपे क्यूआरमा आबद्ध करिब १४ लाख व्यावसायीको स्थानमा सजिलै स्क्यान गरेर भुक्तानी गर्न सकिने बताइएको छ ।

त्यस्तै ग्राहकले आफ्नो मासिक बजेट अनुसार वास्तविक समयमा आफ्ना खर्चहरू ट्र्याक गर्न सक्नेछन् । यो कार्डले प्रयोगकर्तालाई ४५ दिनसम्म ब्याजमुक्त क्रेडिटको सुविधा उपलब्ध गराउने छ । 

सिटिजन्स बैंक इन्टरनेसनलले नयाँ क्रेडिट कार्डको सुरुवातको अवसरमा क्यूआर भुक्तानीमा सीमित अवधिका लागि ५० प्रतिशतको क्यासब्याक अफरसमेत घोषणा गरेको छ ।

पछिल्लो अध्यावधिक: भदौ २७, २०८१ १४:२३