काठमाडौं । अहिले नजानिदो ढङ्गले बसाइँसराइको माध्यम वैदेशिक अध्ययन बनिरहेको छ । अध्ययनका लागि विदेश गएका धेरैजसो स्वदेश नफर्किने कुरा सामान्य बन्दै छ । कोही फर्किहाले भने पनि किन फर्केको होला भनेर अचम्म मान्न थालिएको छ । तर सबैको सोच एउटै हुँदैन । कोही साँच्चै आफूले सिकेको सीप लिएर स्थायी रूपमा स्वदेश फर्किनेहरू पनि छन् । त्यस्तै सीमित पात्रमध्येकी एक हुन्, तृप्ती गिरी ।
सन् २००९ देखि सुरु भएको उनको वैदेशिक अध्ययन यात्रा सन् २०१९ मा नेपाल आएसँगै टुंगियो । विदेशमै सिकेको सीप अनि ज्ञानको साथमा आज उनी नेपालकै ठूलो सिनेमा हलहरूको चेन क्यूएफएक्स सिनेमाजको मातृ कम्पनी, टिम क्वेस्ट हाँकिरहेकी छिन् ।
टिम क्वेस्ट अन्तर्गत हाल देशभर १७ वटा क्यूएफएक्स हल सञ्चालनमा छन् । बुबाआमाका तीन सन्तानमध्ये तृप्ती माइली छोरी हुन् । उनको परिवारबाट अध्ययनका लागि विदेश जानेमा पनि उनी पहिलो थिइनन् । तर उनको परिवारमा एउटा मान्यता छ-अध्ययन सकाएर नेपाल फर्कने । यो मान्यतालाई तृप्तीले पनि अंगीकार गरिन् र फर्किइन् नेपाल ।
“विदेश गएर पढे पनि नेपाल फर्कनु पर्छ भनेर बुबाले भन्नुहुन्थ्यो । परिवारसँगै हुनुपर्छ भन्ने सोचमा म हुर्केकी थिएँ । यसका लागि परिवारको ठूलो साथ र सहयोग छ,” उनी भन्छिन् ।
अङ्कहरू मनपराउने तृप्तीलाई प्राविधिक क्षेत्र नै प्यारो थियो । कसरी हुन्छ अङ्कहरू भएकै क्षेत्रमा काम गर्नु । यही विषय पढ्नु उनको सपना पनि थियो । त्यसैले गर्दा गणित उनको प्रिय विषय बन्न पुग्यो । कहिले पाइलट त कहिले एरोस्पेस इन्जिनियर बन्ने सपना बोकेकी तृप्तीलाई सानैदेखि आफू कुनै न कुनै प्राविधिक क्षेत्रमै हुने भन्ने कुरामा भने पूर्ण विश्वास थियो ।
तृप्तीले उच्च माध्यमिक शिक्षा हङकङको युनाइटेड वर्ल्ड कलेज, स्नातक अमेरिकाको वेस्टमिस्टर कलेज र स्नातकोत्तर सेन जोस स्टेट युनिभर्सिटीबाट गरेकी हुन् । उनले आफ्नो स्नातकोत्तर इन्जिनियरिङ म्यानेजमेन्ट विषयमा गरेकी छिन् । यो विषय लिनु पछाडिको उनको पहिलो कारण नै नेपाल फर्कने सोच थियो ।
सन् २०१८ को डिसेम्बरमा स्नातकोत्तर सकेर २०१९ को जनवरीमा उनी नेपाल आइपुगिन् । डर त उनलाई पनि थियो । अबको एक महिना पनि म यहाँ बसेँ भने म यही अड्किन्छु भनेर । त्यसैले समय खेर नफाली तृप्ती नेपाल फर्किइन् ।
“श्रीमानसँग ‘म नेपाल फर्कन्छु, तपाईं के गर्नुहुन्छ’ भनेर सोधेकी थिएँ । हाम्रो कुरा मिल्यो । म पनि फर्किएँ । उहाँ पनि फर्कनु भयो,” उनी सुनाउँछिन्, “बरु विदेश घुम्न जाने तर देश त फर्केर आउने नै सोच थियो । त्यहाँ बसे भने मैले कति सीप विकास गर्छु र ! जति देख्नु थियो देखिहालेँ । काम पनि गरिहालेँ भन्ने लाग्थ्यो । अनि पढाइ सकेपछि भने सिकेको कुरा नेपालमा गर्न सकियो भने राम्रो हुन्छ होला भन्ने लागेर आएकी हुँ ।”
तर नेपाल फर्केपछि कतिपय कुराहरू आफूले सोचे जस्तो नभएको उनले सुनाउँछिन् । विशेषगरी सरकारी कार्यालयहरूमा जाँदा । “सरकारी कार्यालयहरूमा जाँदा सोचे जस्तो कहिल्यै हुँदैन । जाँदा अर्कै सोचेर जानिन्छ, तर त्यहाँ भइदिन्छ अर्कै । तर नेपालमा केही हुन्छ कि भनेर गर्दै जाँदा यहाँसम्म आइपुगेकी हुँ,” उनी अनुभव सुनाउँछिन् ।
क्यूएफएक्ससँगको आफ्नो यात्रा उनी आफैलाई पनि अपत्यारिलो लाग्छ । उनी आफूलाई पनि यहाँ र यस्तो नेतृत्व तहमा बसेर काम गर्छु होला भन्ने लागेकै थिएन । अमेरिकाबाट फर्किएपछि ७२ सालको भूकम्पले भत्काएका संरचनाहरूको पुनर्निर्माण गर्ने एक संस्थासँग आबद्ध भएकी तृप्तीले क्यूएफएक्समा खुलेको कर्मचारी भर्नामा आवेदन दिइन् ।
उनको आवेदन स्वीकृत भयो । त्यसपछि सुरु भयो उनको चलचित्र क्षेत्र अन्तर्गतको प्राविधिक यात्रा । उनको काँधमा ठूलो जिम्मेवारी थियो । कोरोनाले थलिएको व्यवसाय उकास्नुका साथै जय नेपाल हलदेखि क्यूएफएक्ससम्म आइपुगेको टिम क्वेस्टको यात्रालाई कुशलतापूर्वक अगाडि बढाउनु ।
उनी यस कम्पनीमा मार्केटिङ र बिजनेस हेर्न नियुक्ति भएकी थिइन् । सुरुमा उनले विभिन्न डेटा विश्लेषण गर्ने, रिपोर्टहरू बनाउने जस्ता काम गरिन् । क्यूएफएक्स खुलिसकेपछि बढी जसो उनले मार्केटिङको काम गरिन् । अनि कम्पनीमा हेड अफ मार्केटिङ र हेड अफ बिजनेस डेभलपमेन्ट भनेर पद छुटाइएपछि उनी बिजनेस डेभलपमेन्ट तिर लागिन् । त्यसबेला अन्य कम्पनी/व्यक्ति सहकार्य गर्ने, उनीहरूसँग कसरी काम गर्ने भन्ने जिम्मेवारी थियो ।
त्यही बीचमा कम्पनीमा जेनेरल म्यानेजरको पद खाली भयो । त्यस पदमा उनी आन्तरिक रूपमा बढुवा भएर पुगेकी हुन् ।
सानो इभेन्टदेखि ठूलो संस्था व्यवस्थापनमा रुची भएकै कारण आफू यो स्थानसम्म आइपुगेको उनको विश्वास छ । झट्ट हेर्दा चलचित्र मात्र देखाउने जस्तो भएपनि यसको पछाडि धेरै नदेखिएका कामहरू हुने गरेको उनी बताउँछिन् ।
“तपाईंले हलमा अगाडि देखे जस्तो सजिलो हुँदैन । पछाडि धेरै कामहरू भएका हुन्छन् । सफ्टवेयरदेखि लिएर कस्टमर सर्भिससम्म । यी सबै कुरा मिलेपछि मात्र तपाईं अगाडि चलचित्र देख्नुहुन्छ,” उनी सुनाउँछिन् ।
चलचित्रको क्षेत्रमा एउटा क्रान्ति ल्याएको कम्पनीले प्रविधिलाई सकेसम्म अंगालेको तृप्तीको बुझाइ छ । र यो क्रान्ति अझै पनि अगाडि बढिरहेको छ । कम्पनीलाई विश्वको प्रविधि सँगसँगै लाने प्रयासमा कम्पनीले काम गरिरहेको उनी बताउँछिन् ।
विशेषगरी नेपालको हलको डिजिटलाइजेसनमा आफ्नो कम्पनीको ठूलो हात भएको उनको भनाइ छ । विशेषगरी टिकट बिक्री र लोयल्टी प्रोग्राममा आफूहरू अगाडि नै रहेको उनी सुनाउँछिन् ।
“तपाईंले अनलाइन टिकट काट्दै गर्दा खानेकुरा पनि सँगै खरिद गर्ने विकल्प पाउनुहुन्छ । अनि चलचित्र हेर्न जति धेरै खर्च गर्नुहुन्छ, त्यसबाट पाउने रिवार्डलाई तपाईंले पछि चलचित्र नै हेर्न खर्च गर्न सक्नुहुन्छ । यो काम हामीले नै थालेका थियौं,” उनी सुनाउँछिन् ।
महिलालाई हेर्ने बजारको प्रवृत्तिबाट उनी पनि अछुतो रहन सकेकी छैनन् । आफूले लिएका कुनै निर्णय होस वा आफूले गरेको कुनै काम, चलचित्र विकास बोर्ड लगायतका विभिन्न संस्थाहरूसँग मिलेर काम गर्दा एक पुरुषले यही काम गरेको भए फरक दृष्टिकोण हुन्थ्यो कि भन्ने उनलाई लाग्छ ।
आफूले सहकार्य गर्नुपर्ने संस्थाहरू अहिले पनि पुरुषप्रधान भएको उनको अनुभव छ । तर यो उनको लागि ठूलो चुनौती होइन । उनको चुनौती त कम्पनीलाई कसरी अगाडि बढाउने भन्ने मात्र छ ।
अहिले उनी कम्पनीलाई निकै पारदर्शी संस्था भएको दाबी गर्छिन् । आफ्नो कम्पनीको डेटा चलचित्र विकास बोर्ड र आन्तरिक राजस्व विभाग दुवैमा सिन्क गरेको उनी सुनाउँछिन् । तर पनि सरकारले लिने कर र चलचित्र निर्माताहरूसँगको शेयर चुनौतीहरू रहेको उनको बुझाइ छ ।
यति धेरै गर्दैगर्दा पनि उनलाई आफूले चाहे जति काम अझै पनि गर्न नसकेको जस्तो अनुभूति हुन्छ । अझै पनि आफूले गर्नुपर्ने धेरै छ भन्ने बोध उनमा छ । विशेषगरी महिलालाई सशक्तीकरण गर्ने कुरामा पनि आफूले गर्नुपर्ने थुप्रै काम बाँकी रहेको उनलाई महसुस हुन्छ ।
परिवारबाट तृप्तीले पाए जस्तै अरू महिलाले पनि साथ पाउने हो भने प्रविधिको क्षेत्रमा प्रगति गर्न सक्ने पर्याप्त सम्भावना छ ।
“मलाई एकदम काम गर्न बाँकी छ जस्तो लाग्छ । मैले पढ्दा पनि महिलाहरू कम थिए । जसले गर्दा काममा त स्वतः कम हुने नै भइहाल्यो । यहाँ आईटी टिममा पनि महिलाहरू हुनुहुन्छ । उहाँहरूले राम्रो काम गरिरहनु भएको छ । आईटी काम पनि महिलाले गर्न सक्दैन भनेर सोच्ने जमात समाजमा छ,” उनी भन्छिन्, “पुरुषहरूले गरिरहनु भएको काम महिलालाई दिए उहाँहरूले गर्न सक्नुहुने रहेछ । तर नेपालको सन्दर्भमा उहाँहरूलाई साथ सहयोग भने चाहिन्छ । तर धेरैलाई सुरुमा जागिर खान नै समस्या छ । अनि जागिर खाएपछि बल्ल प्रविधिको कुरा आउँछ।”