काठमाडौं । सामाजिक सञ्जाल पोस्टमा आउने 'लाइक' अथवा रियाक्सनले हाम्रो दिमागमा डोपामिनको उत्पादन बढाउँछ भन्ने अध्ययनहरूले पुष्टि गरेका छन् । डोपामिन खुशी महसुस गराउनका लागि आवश्यक रसायन हो, जसले हामीलाई उत्तेजित र आनन्दित बनाउँछ ।
यसैले धेरै मानिसहरू सामाजिक सञ्जालमा 'लाइक'को खोजीमा रहन्छन्, जुन लतको रूपमा विकास हुनसक्छ । यसबाट जोगिन इन्स्टाग्राममा लाइक काउन्ट लुकाउने एउटा उपाय छ ।
इन्स्टाग्रामले तपाईंलाई आफ्ना फलोअरहरूले पोस्टमा गरेका लाइकहरू लुकाउन अनुमति दिन्छ । यसबाट तपाईंको पोस्टमा कति लाइक आएको छ भनेर अन्य व्यक्तिले थाहा पाउँदैनन् । यद्यपि तपाईंले लाइक पाउनुमा भने कुनै बाधा हुँदैन । यो सुविधा प्रयोग गरेर तपाईं आफ्नो ध्यान लाइकहरूमा केन्द्रित हुनबाट जोगाउन सक्नुहुन्छ ।
इन्स्टाग्राम पोस्ट वा रिलमा लाइक काउन्ट लुकाउन दुई तरिका छन्:
१. पहिले पोस्ट गरिसकेकोमा लाइक काउन्ट कसरी लुकाउने ?
इन्स्टाग्राम खोल्नुहोस् र लाइक लुकाउन चाहेको पोस्ट वा रिलमा जानुहोस् ।
तीन ओटा डटमा क्लिक गर्नुहोस्, अनि 'हाइड लाइक काउन्ट टु अदर्स'मा ट्याप गर्नुहोस् ।
२. नयाँ पोस्टमा लाइक काउन्ट कसरी लुकाउने ?
नयाँ पोस्ट गर्ने क्रममा 'शेयर' बटनमा क्लिक गर्नुअघि 'मोर अप्सन्स'मा जानुहोस् ।
त्यहाँ 'हाइड लाइक काउन्ट अन दिस पोस्ट' विकल्पलाई इनेबल गर्नुहोस् ।