close

रोबोट हात ल्याउँदै मेटा, मानिसले जस्तै स्पर्श र अनुभूति गर्न सक्ने दाबी

टेकपाना टेकपाना

कात्तिक १७, २०८१ १५:३२

रोबोट हात ल्याउँदै मेटा, मानिसले जस्तै स्पर्श र अनुभूति गर्न सक्ने दाबी

काठमाडौं । फेसबुकको माउ कम्पनी मेटाले स्पर्श गर्ने क्षमता सहितको रोबोट हात ल्याउने तयारी गरेको छ । रोबोटलाई मानिसहरूसँगको अन्तर्क्रियामा थप संवेदनशील र प्रतिक्रियाशील बनाउने मुख्य उद्देश्य सहित कम्पनीले यस्तो प्रविधि तयार पार्न लागेको हो । ​

मेटाले जेलसाइट (GelSight) र वनिक रोबोटिक्स (Wonik Robotics) सँग साझेदारी गर्दै यो रोबोट हात विकास गरिरहेको टेकक्रन्चले उल्लेख गरेको छ । यो प्रविधिले रोबोटलाई सजिलैसँग वस्तुहरूको अवस्था र आकारको जानकारी प्राप्त गर्न सघाउने बताइएको छ ।

यसमा एक विशेष संवेदनशीलता हुने टेक्टाइल सेन्सर छ, जसले छुन र अनुभव गर्नका लागि आवश्यक जानकारी संकलन गर्दछ । यसका लागि मेटाले ‘डिजिट ३६०’ (Digit 360) नामक एक फिङ्गरटिप सेन्सर विकास गरेको छ, जसले वरपरको वातावरणको स-साना परिवर्तन महसुस गर्नसक्ने मेटाको दाबी छ । 

मेटाले यो प्रविधिको कोड र डिजाइन पनि सार्वजनिक गरेको छ । यसका साथै ‘डिजिट प्लेक्सस’ नामक एउटा अर्को समाधान पनि ल्याइएको छ, जुन विभिन्न सेन्सरहरूलाई एकीकृत गरेर रोबोटिक हातमा प्रयोग गर्न सकिन्छ ।

मेटाका अनुसार डिजिट ३६० उपकरणको उत्पादन र वितरण जेलसाइटले गर्नेछ । त्यस्तै दक्षिण कोरियाली कम्पनी वनिक रोबोटिक्स कम्पनीले ‘अलेग्रो ह्यान्ड’ नामक रोबोटिक हातको निर्माण र वितरणको जिम्मा लिएको छ ।

यस नयाँ प्रविधिले एआई र रोबोटिक्स क्षेत्रमा थप अनुसन्धान र प्रयोगमा मद्दत पुर्‍याउने मेटाको अपेक्षा छ । साथै स्वास्थ्य, उत्पादन, रोजगारी, भर्चुअल रियालिटी लगायतका क्षेत्रमा पनि ठूलो परिवर्तन ल्याउने विश्लेषण गरिएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १७, २०८१ १५:५३