काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले न्युरोड क्षेत्रमा भूमिगत तारबाट विद्युत् वितरण थालेसँगै काठमाडौं महानगरपालिकाले अनावश्यक पोल र तार हटाउन थालेको छ । सामाजिक सञ्जालदेखि सञ्चार माध्यमहरूमा प्राधिकरणको उक्त कामको तीव्र प्रशंसा भइरहेपनि न्युरोड क्षेत्र भने इन्टरनेटविहीन अवस्थामा छ ।
ओभरहेड संरचना हटेसँगै हाल न्युरोड क्षेत्रमा निजी इन्टरनेट सेवाप्रदायक कम्पनीबाट सेवा लिइरहेका उपोभक्ता मारमा परेका हुन् । “यो पोलमुक्त योजनाले न्युरोडलाई बाहिरी रूपमा त आकर्षक बनायो । तर यहाँका व्यापारी तथा बासिन्दालाई ठूलो समस्या दिइरहेको छ । १० दिनदेखि यहाँ इन्टरनेट छैन,” न्युरोड क्षेत्रका व्यापारी रामहरि रेग्मीले भने ।
“कम्पनीमा फोन गर्यो, हामी प्रयास गर्दैछौँ, हुँदैछ भन्ने जवाफ मात्र आउँछ । इन्टरनेट नहुँदा व्यापारमा समेत असर गरिरहेको छ । जमाना डिजिटल छ । भुक्तानीदेखि बिलिङसम्मका कामका लागि इन्टरनेटमै भर पर्नुपर्ने अवस्था छ । नेट छैन भने यो सब कसरी हुन्छ ?” उनले प्रश्न गरे ।
यस्तै किसिमका गुनासो अर्का व्यापारी भूषण शाक्यको पनि छ । “इन्टरनेट नचलेको त एक हप्ता बढी भइसक्यो, फोन गर्यो महानगरले काम होल्ड गर्न लगाएकाले इन्टरनेट सुचारु गर्न समय लाग्छ भन्छ । जहिले हामी न्युरोडका बासिन्दाले समस्या भोग्नुपर्ने ?” उनले गुनासो पोखे ।
उनले अगाडि भने, “तार भूमिगत योजनाका लागि निर्माण हुँदै गर्दा धुलो, हिलोले बसिनसक्नु थियो । त्यतिबेला नै व्यापार चौपट भयो । राम्रो काम हो भनेर सहेर नै बस्यौँ । अब त लयमा फर्किन्छ भन्ने आशा थियो, फेरि इन्टरनेटको समस्या देखा पर्यो ।”
शुक्रबार दिउँसो टेकपाना प्रतिनिधि पोलमुक्त न्युरोड क्षेत्र पुग्दा सो क्षेत्रमा सेवा प्रदान गर्दै आएका प्राय: सबै निजी इन्टरनेट सेवा प्रदायकको सेवा अवरुद्ध अवस्थामा थियो भने विभिन्न कम्पनीका प्रतिनिधिहरू ओभरहेड संरचना मार्फत नै इन्टरनेट सेवा सुचारु गर्न प्रयासरत देखिन्थे ।
यसो त विद्युत प्राधिकरणले गत जेठ ३ मा एक सूचना निकालेर ओभरहेड वितरण लाइन र विद्युत् पोल हटाउने भन्दै इन्टरनेट केबल, अप्टिकल फाइबर, सीसीटीभी क्यामरा, सडक बत्ति लगायतका संरचना र उपकरण ६ महिनाभित्र अनिवार्य हटाउन निर्देशन दिएको थियो ।
प्राधिकरणको दाबी अनुसार हाल निर्माण सम्पन्न भएका भूमिगत प्रणालीको पूर्वाधार नै प्रयोग गरेर इन्टरनेट, दूरसञ्चार, केबल टिभी लगायतका सेवालाई पनि भूमिगत गर्न सकिन्छ । तर इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले प्राधिकरणको अहिलेको संरचनाले इन्टरनेटको तार भूमिगत गर्न सम्भव नरहेको बताएका छन् ।
“प्राधिकरणले निर्माण गरेको संरचनामा इन्टरनेट सेवा प्रदायकहरूका लागि चाहिने भनेर मुख्य- मुख्य ठाउँमा दुईवटा ‘डक्ट’ राखिएको छ । तर त्यो ‘डक्ट’ डिस्ट्रिब्युसनका लागि प्रयोग गर्न सकिँदैन । प्राधिकरणले आफ्नो बुझाई अनुसार संरचना निर्माण गर्यो, तर फाइबर टु होम नेटवर्कको डिजाइन एकदम फरक हुन्छ । यो कुरामा इन्टरनेट सेवाप्रदायक र विद्युत प्राधिकरणबीच समन्वय नभएकै हो । प्राधिकरणले एकलौटी काम गरेको छ,” एक इन्टरनेट सेवा प्रदायकका उच्च अधिकारीले भने ।
उनका अनुसार यदि इन्टरनेट सेवा पनि पूर्ण रूपमा भूमिगत गराउने हो भने हालको संरचना पुनर्निर्माण हुनुपर्छ । सहज भाषामा भन्नुपर्दा अब फेरि खन्नै पर्छ । हाल न्युरोड क्षेत्रमा मात्र यस किसिमको समस्या देखिए पनि आगामी दिनमा जुन ठाउँमा पोलमुक्त गर्ने कार्य सुरु गरिन्छ, ती सबै ठाउँमा इन्टरनेट सेवा अवरुद्ध हुने प्रबल सम्भावना रहेको उनले दाबी गरे ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषले भने सरोकारवाला निकायहरूसँग छलफल गरेर नै हालको संरचना निर्माण गरेको बताए । “हामीले सरोकारवाला निकायहरूसँगको समन्वयमा नै संरचना निर्माण गरेका हौँ । इन्टरनेटको लागि चाहिने डक्ट वायर बिच्छ्याइएको छ । यसमा आईएसपीबाट कुनै आपत्ति आएको मेरो जानकारीमा छैन । इन्टरनेट प्रणालीलाई भूमिगत गराउन संरचनालाई पुनर्निर्माण गरिनुपर्छ भन्ने मलाई लाग्दैन,” उनले भने ।
यता प्राधिकरण र इन्टरनेट सेवा प्रदायकको कुरा बाझिँदा प्रत्यक्ष मारमा उपोभक्ताहरू परेका छन् । हाल इन्टरनेट सेवा प्रदायकले पोलमा रहेका आफ्ना पूर्वाधारलाई घरका रेलिङहरूमा सार्दै पुरानो ओभरहेड प्रणाली मार्फत इन्टरनेट सेवा सुचारुको प्रयास गरिरहेका छन् भने उक्त कार्यलाई स्थगित गर्न महानगरपालिकाले सेवा प्रदायकलाई निर्देशन दिएको छ ।
यसका कारण पोलमुक्त न्युरोडमा पूर्ण रूपमा कहिलेदेखि इन्टरनेट सेवा चल्छ भन्ने प्रश्न अनुत्तरित भएको छ । साथै सेवा अवरुद्ध भएको समयको क्षतिपूर्ति उपभोक्ताले कसरी प्राप्त गर्नेछन् भन्ने विषय पनि अन्यौल छ ।