काठमाडौं । फोन परिवर्तन गर्नुपर्यो वा फोन फ्याक्ट्री रिसेट गर्नुपर्यो भने सबैभन्दा बढी सताउने पक्ष भनेकै लगइन क्रेडेन्सियल हो । नयाँ फोन तथा फ्याक्ट्री रिसेट गरिएको फोनमा सुरुवातदेखि नै सबै अकाउन्ट साइनअप गर्नुपर्ने बाध्यता हुन्छ । यसैले पनि नयाँ फोन लिन वा फोन फ्याक्ट्री रिसेट गर्नुअघि प्रयोगकर्ता कसरी सबै साइनअप गर्ने भन्नेमा सोच्न बाध्य हुन्छन् ।
यसैलाई मध्यनजर गर्दै गुगलले ‘रिस्टोर क्रेडेन्सियल’ नामको फिचर ल्याउने भएको छ । कम्पनीले हालै एन्ड्रोइड डेभलपर ब्लगमा पोस्ट राख्दै नयाँ फिचर ल्याउने घोषणा गरेको हो ।
यो फिचर उपलब्ध भएपछि प्रयोगकर्ताले नयाँ वा रिस्टोर गरिएको एन्ड्रोइड फोनमा छुट्टाछुट्टै अकाउन्ट साइनअप गरिरहन पर्दैन । यसले कसरी काम गर्छ त ? सबैभन्दा पहिले जब प्रयोगकर्ताले एन्ड्रोइड फोनका एप अकाउन्टमा साइनअप गर्छन्, त्यतिबेला उक्त एपको डेभलपरले एउटा ‘रिस्टोर की’ तयार पारिदिन्छन् । त्यसपछि उक्त ‘रिस्टोर की’ डिभाइसमा भण्डारण हुन्छ ।
यदि प्रयोगकर्ताले एपको डेटा ब्याकअपका लागि क्लाउड अप्सन छानेका छन् भने ‘रिस्टोर की’ क्लाउडमा स्टोर हुन्छ । त्यसपछि जब प्रयोगकर्ताले नयाँ डिभाइसमा ब्याकअपबाट रिस्टोर गर्न थालेपछि एपको डेटा र रिस्टोर की त्यसमा ट्रान्सफर हुन्छ । अर्थात् प्रयोगकर्ताले डिभाइसमा रिस्टार्ट गरी हरेक एपमा साइनअप गरिरहन पर्दैन ।
अर्को अर्थमा भन्नुपर्दा तपाईंको पुरानो फोनमा जुन-जुन एपमा लगइन गर्नुभएको थियो, नयाँ अकाउन्टमा त्यही लगइन सुरक्षित हुन्छ । डिभाइस फ्याक्ट्री रिसेट गर्ने अवस्थामा पनि यो लागू हुन्छ ।
यो फिचर यसअघि नै आईओएसमा आइसकेको छ । तर, त्यसमा एन्ड्रोइडमा भनिएको ब्याकअपबाट डेटा रिस्टोर गर्दा सबै एपमा स्वतः साइन-इन डिटेल्ट उही अवस्थामा हुन्छ भन्ने हुँदैन ।
डेभलपरले आफ्नो एपको क्रेडेन्सियल मेनेजर एपीआईमा नयाँ फङ्सन थप्नुपर्ने हुन्छ । यो प्रक्रिया हुन केही समय लाग्छ । गुगलले डेभलपरले स्वतः साइन-अप डिटेल्स कसरी रिस्टोर गराउन सक्छन् भन्ने पोस्टमा उल्लेख गरेको छ ।
रिस्टोर प्रक्रिया पूरा गरिसकेपछि तपाईंले कुनै पनि एपमा छुट्टाछुट्टै साइनअप गरिरहन नपरोस् भन्ने उद्देश्यले गुगलले यस्तो फिचर ल्याएको हो । गुगलका अनुसार ‘रिस्टोर क्रेडेन्सियल’ फिचरले प्रयोगकर्तालाई नयाँ एन्ड्रोइड डिभाइसमा स्वीच गर्न र रिस्टोर गरिएको डिभाइसमा पनि साइन-इन डिटेल्स सुरक्षित राख्न मद्दत गर्नेछ ।
अमेरिकाका ४० प्रतिशत प्रयोगकर्ता हरेक वर्ष फोन नयाँ परिवर्तन गर्ने वा रिस्टोर गर्ने गरेको गुगलको दाबी छ । यसले लाखौं प्रयोगकर्तालाई सबै लगइन डिटेल्स सम्झिरहनु पर्ने बाध्यतालाई कम गर्ने बताइएको छ । यो फिचर पहिले डेभलपरले एपमा मिलाउनुपर्ने हुन्छ । जुन जुन एपका डेभलपरले ‘रिस्टोर क्रेडेन्सियल’को फिचर समावेश गर्छन्, उक्त एपका प्रयोगकर्ताले यो फिचर सजिलै प्रयोग गर्न सक्नेछन् ।